के माया पनि यस्तो हुन्छ र ? - गोपाल शिवा

बैदेशिक रोजगारले सामाजिक संरचनामा पारेको बिचलन , तनावमय र पीडित हुँदै आएको नेपाली समाजको साक्षी तपाई हामी छौ ।त्यस्तै अर्को तिर मातृभूमिको न्यानो काख छोडेर सपनाको पोको बोकेर खाडी छिरेका नेपाली समाजका युवा हुन् कि युवती आफ्नो भावाना अटाउने र मन मिल्ने साथीको खोजी र फेरफारमा धेरै जना बरालिंएको देखेका छौ । आज यस्तै प्रकृतिको एक जना नेपाली भाइ र फिलिपिनी चेलीको प्रेम जीवन र भोगाइको साक्षि बक्दैछु । केहि बर्ष अघि बिदेशमा आए संगै यी जोडीले प्रवासमा एक्लो हुनुको पीडालाई तिलाञ्जलि दिन एकाअर्काको लागि नै यो संसारमा बनेको भनेर हिमचिम बढाए , सवै कुराको मोह त्यागेर कम्पनीले बस्न दिएको सुबिधा सम्म लत्याएर आफै डेरा गरि बाहिर बस्दै रमाए ।दुवैको बिगत के थियो कुन्नि तर देख्ने ले समेत यिनका मायाका पूर्ण दिन ,सुखद अनुभूति ,स्वर्गीय आनन्द भएको ठहर गरे । 
मौसम जस्तै फेरी रहने डिउटीले गर्दा धेरै दिन भएको थियो यी जोडीलाई मैले नदेखेको ।पछिला केहि दिन देखि बहिनिलाई मात्र सकी नसकी  बोझिलो मन लिएर बडेमाको पेट लिएर डिउटी गर्न गएको देख्छु । नेपाली भाइ संगै सिटमा बसेर हासो पोखिरहने बहिनि अहिले आँसुले पोतेका आफ्ना कथा र व्यथाको आलो पेन्टिङ टाँगेंर मौन भएर बस्छिन ।चोइटा मन लिएर बाध्यताको गह्रुङ्गो पाइला चाल्दै काममा जाने आउने गर्छिन । मनभरि ति संगै हुदाका मित्रवत् रगत सिञ्चित गरिरहे पनि आखिर धोकाको झोक्का खेप्न बाध्य छिन ऊनि । आफ्नो पेटमा हुर्किँदै गरेको सन्तानको मायामा यिनी सर्जाम जुटाउन सकि नसकी काम गर्दैछिन । मनभरिको जिज्ञाशा यताउति सुनेपछि पो थाहा भो काँचो धागोजस्तै यिनीहरुको नाता त उहिले नै पो टुटीसकेको रहेछ ।  बहिनिको पेटमा बच्चा बस्यो भने पछी सुरु भएको गम्भीर खटपटले सधै केटीको झोला बोकेर आउने भाइ त आफ्नो कर्तुतुको झोला बाधेर थाहै नदिई रातारात नेपाल पो पुगी सकेछन । नेपाली युवा बाट प्रताडित बनेकी यी फिलिपिनी बहिनिले आफु संगै काम गर्ने अरु नेपालीलाइ आफ्ना वरीपरी देख्दा भित्रभित्रै  कति रिस उठ्दो हो ?
नेपाली भाइ र फिलिपिनी बहिनिको जीवनमा के त्यस्तो भयो, दुवैले मूल्याङ्कन गरेका होलान् ।तर जब जब यी बहिनीलाइ देख्छु अनि किंकर्तव्यविमूढ बनेर प्रश्नको ठेलीहरु पल्टदै मेरो मनले मलाई सोध्छ -के माया , विश्‍वास यति चिसो ,निरस र पिध नभएको लोटा जस्तो हुन्छ  ? किन आज भोलि प्लास्टिकका सामान जस्ता हाम्रा मनहरुपनि प्लास्टिक-जस्तै भएका ? मनलाई, आत्मसम्मानलाई चटपटे खाने कागजमा गुटमुट्याएर फाले जस्तो यसरि दुइ जिउको भए पछी केहि बर्ष संगै संगै कुम जोडेर बसेकी प्रेमिकालाइ मानवीय समबेदना समेत बिर्सेर बहादुर भनेर परिचय बनाएको नेपालीले कसरि छाडेर कायर जस्तो भाग्न सकेको ? जवाफ त् मनले भेट्दैन तर यिनै फिलिपिनी बहिनिले जस्तै बेला बेलामा मायाको नियति भोग्न विवश हाम्रा नेपाली दिदीबहिनीहरू विदेश बाट अनुहार भरि लुकेको पिडा र आफ्ना माया प्रेमको निशानी बोकेर आफ्नै आँखाले नेपाल फर्किएको प्रत्य्क्ष र समाचारहरुको हेडलाइन बन्ने गरेका देख्दा चै टिट फर टाट भएको पो रहेछ भन्ने लागि रहेको छ   । 
मुनामदन जस्तो एक अर्काले जति कुरे पनि माया नमार्ने सस्कार बाट हुर्किएको नेपाली समाज पछिल्लो समय पश्चिम मुलुकको सस्कार बाट  प्रभावित बनेर मुनामदनको भन्दा गहिरो माया–पिरती भएका युवायुवतीहरु सम्बन्धमा केही समय रहेपछि,  नयाँपन पाउन छाडेपछि त्यसबाट अघाउने र बन्धनको रूपमा लिने र जीवन बर्बाद बनाउँने तिर उद्दत हुदैछन्  । जसको गतिलो उदाहरण यी नेपाली भाइ र फिलिपिनी बहिनि बनिन र यस्तो प्रकृतिको नियति प्रदेशमा लागेका र घर देशमा भएका हाम्रा धेरै नेपाली दाजुभाइ दिदीबहिनीको साझा नियति पनि बन्दै गएको छ । कुनै एक नेपाली चेली विदेश बाट पेट बोकेर घर फर्किन भने नेपाली समाजमा जिउन कति लाल्छना र चुनौतीको सामन गर्नुपर्छ ? सायद त्यो हेकका भाग्ने नेपाली भाइलाई नहोला तर यो संसार गोलो छ र सबैको कर्मको हिसाब किताब बुझाउने पालो आउछ । मलार्इ खाने बाघले तँलार्इ पनि खान्छ’ भनेझैँ यस्तो प्रकृतिको घटना भोलि कुनै पनि बेला यिनै भगुवा भाइका छोरीचेली आफन्त या नेपाली युवायुवती कोहीलार्इ पनि आइलाग्न सक्छ ।
असुरक्षित बन्दै गइरहेको यो विश्वमा कुनै पनि बेला जस्तै मै हु भन्नेको पनि दिन बिग्रन सक्छ । हुन् सक्ला माया गराई र्भोगाई र बुझाइकोआफ्नै तय तरिका होला तर गाँस, बास र कपासको लडाइँमा होमिएका आफु जस्तै अरु देशका युवायुवती बिचरा तीन लाइ मायाको अनुभूति गराएर सकभर पीडाको बोझ दिएर असह्य पिडा संगै बाच्न बाध्य बनाउने परिस्थिति सृजना गरेर कुनै पनि नेपालीले निष्‍ठुरीको उपमा नपाऊन  ।माया र सहृदयी भावलाइ कुनै पनि भूगोल र जात धर्म ले छेक्दैन । त्यसैले नेपाली र बिदेशी युवा युवतीको मायामा ट्राजेडीको शृङ्खलाको अन्तिम पात्र यिनै भगुवा नेपाली भाइ र पिडाको दलदलमा हेलिदै गरेकि यिनै फिलिपिनी बहिनि नै बनून् । इति 


0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.