पाठेघरको क्यान्सर
महिलाहरूको पाठेघरमा अस्वाभाविक तरिकाले जीवकोषहरू बढ्नुको मूल कारण एचपीभी नामक सूक्ष्म जीवाणु हो । एचपीभी सूक्ष्म जीवाणु सयौं किसिमका हुन्छन् । यी जीवाणुको उपचार अहिलेसम्म उपलब्ध छैन तर यसबाट हुन सक्ने संक्रमणको उपचार हुन सक्छ । सामान्यतः किशोरावस्थामा यी सूक्ष्म जीवाणुहरू उच्च दरमा रहन्छन् र यौन सम्पर्कबाट ती जीवाणुको संक्रमणमा वृद्धि हुन्छ । यौन सम्पर्कबाट महिला र पुरुषमा यी जीवाणुहरू एक-अर्कामा सर्छन् र यसलाई सामान्य रूपमा लिन सकिन्छ ।
संसारमा ७८ प्रतिशत महिलालाई कुनै पनि समयमा यी जीवाणुले संक्रमण गर्ने अनुमान गरिएको छ । एक-अर्काको छालाको सम्पर्कबाट सर्ने भएकाले कन्डमको प्रयोगबाट पनि यी सूक्ष्म जीवाणु सर्नबाट सुरक्षित रहँदैनन् । एचपीभीबाट पाठेघरमा हुने संक्रमणको कुनै खास लक्षण देखिँदैन र सामान्य महिलाहरूले आफूमा एचपीभी संक्रमण भएको थाहै पाउँदैनन् । कतिपय अवस्थामा अधिकांश महिलामा हुने यी जीवाणुहरूको संक्रमण १-२ वर्षभित्र आफै साम्य भएर जान्छ भने ३-१० प्रतिशत महिलामा यी जीवाणुले पाठेघरका जीवाणुहरूमा प्रभाव पार्न सक्छन् र संक्रमण आफै साम्य नभै संक्रमित रूपमा रहन सक्छ । यी जीवाणुहरूले पाठेघरका जीवकोषहरूमा प्रभाव जमाई अस्वाभाविक परिवर्तन ल्याउन सक्छन् । त्यसैले समयमै उपचार नगरे क्यान्सरमा परिणत हुन सक्छ ।
एचपीभी प्रभावबाट पाठेघरको जीवकोषमा अस्वाभाविक परिवर्तन (वृद्धि) को सुरुवात भएर क्यान्सरसम्मको यात्राका लागि १० वर्षभन्दा बढी लाग्न सक्छ । यसलाई क्यान्सरको पूर्वावस्थाको घाउ अर्थात् सीएन २-३ को नामबाट जानिन्छ र उक्त पूर्व क्यान्सरको अवस्थाको उपचार नभए क्यान्सरमा परिणत हुन सक्छ ।
खोपले के गर्छ ?
हालसम्म संसारका दुईवटा कम्पनीले क्यान्सरविरुद्ध लड्न सक्ने क्षमता भएका मर्कले, गर्दासिल तथा ग्यासोल सर्भारिक्स खोप उत्पादन गरेका छन् । अहिले धेरैजसो गर्दासिल खोप प्रयोग गरिन्छ ।
गर्दासिल खोपबाट ६-११-१६ तथा १८ का एचपीभी सूक्ष्म जीवाणुबाट उत्पन्न हुने संक्रमणबाट सुरक्षा हुन्छ । पाठेघरको ७० प्रतिशत क्यान्सर एचपीभी १६ र १८ को संक्रमणबाट भएको अनुमान गरिएको छ । एक शोधअनुसार यो संक्रमण ८० प्रतिशतभन्दा बढी छ । यसमा गर्दासिलको खोपबाट पूर्ण सुरक्षित रहने अध्ययनबाट प्रमाणित भएको छ । एचपीभी र १६ र १८ बाट हुने पाठेघरको क्यान्सरबाट पूर्ण सुरक्षित रहन र अन्य एचपीभी स्टेनबाट हुन सक्ने संक्रमणबाट पनि सुरक्षित रहन खोप लगाए पनि यौन जीवनपछि नियमित रूपमा पाठेघरको परीक्षण गर्नुपर्छ । नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण ३० वर्ष पुगेका महिलाहरूमा गर्ने गरिएको छ । ३० देखि ६० वर्षसम्म एचपीभीबाट हुने संक्रमण आफै साम्य हुन सक्ने सम्भावना छ तर ३० वर्षपछि उक्त सम्भावना कम हुने भएकाले प्रारम्भिक परीक्षण गर्दा राम्रो हुन्छ । इंग्ल्यान्डमा २५ वर्ष पुगेपछि अनिवार्यरूपमा परीक्षण गरी महिलाहरूलाई पाठेघरको क्यान्सरबाट सुरक्षित राखिन्छ । प्रारम्भिक परीक्षणबाट एचपीभी जीवाणुबाट संक्रमण भएको रहेछ भने पनि त्यसको समयमै उपचार हुन्छ र पाठेघरको क्यान्सरबाट पूर्ण सुरक्षा हुन्छ ।
खोपको मात्रा
खोप छ महिनाभित्र तीन पटक गरी पूरा गर्नुपर्छ । कोर्स पूरा नभए पूर्णरूपमा सुरक्षित हुन सकिँदैन । पहिलो खोप लगाएको दुई महिनापछि दोस्रो खोप लगाउनुपर्छ र दोस्रो खोपको चार महिनापछि तेस्रो खोप लगाएपछि कोर्स पूरा हुन्छ । खोप प्रत्येक पल्ट पाखुराको मांसपेशीमा सुईमार्फत दिइन्छ ।
खोप लगाउन नहुने अवस्था
गर्भवती महिलाहरूले खोप लगाउनु हुँदैन तर शिशु जन्मिएपछि लगाउन सकिन्छ । बाक्लो ढुसीका अतिरिक्त खोपको उत्पादनमा प्रयोग गरिएका अल्मुनियम, सोडियम आदि अन्य पदार्थहरूबाट एलर्जी हुनेहरूले पनि खोप लगाउनु हुँदैन । पहिलो खोप लगाउँदा एलर्जी भए पछिका खोप पनि लगाउनु हुँदैन ।
खोपबाट हुने सामान्य असर
खोप लगाएको ठाउँको छाला रातो हुने, दुख्ने, सामान्य ज्वरो आउने र सुन्निने हुन सक्छ । यसका लागि पारासिटामोल सेवन गर्ने तथा भिजेको चिसो सफा कपडाले खोप लगाएको ठाउँमा सेक्ने । त्यति गर्दा पनि ठीक नभए चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
यौन जीवनमा प्रवेश गरेका महिलाहरूले पनि यो खोप लगाउन हुन्छ ?
खोप लगाउनु पहिले यौन जीवनमा प्रवेश गरिसकेका महिलाहरूले पनि खोप लगाउन सक्छन् तर खोप लगाउनुपूर्व नै एचपीभी १६ र १८ का जीवाणुहरू सरेर संक्रमण भैसकेको भए खोपबाट सुरक्षा प्राप्त हुँदैन, त्यसकारण यौन क्रियामा लाग्नुपूर्व खोप लिन सिफारिस गरिएको छ ।
कसले खोप लगाउनु उपयुक्त हुन्छ ?
यौन क्रियामा लाग्नुअघिका किशोरीले खोप लगाए राम्रो हुन्छ । १२ देखि १४ वर्षसम्मका स्कुले छात्राहरू यसका लक्षित समूह हुन् । माथिका कुराहरूलाई ध्यानमा राखी केही वर्ष बढी र घटी उमेरका महिलाहरूले खोप लगाउन सक्छन् तर ८ वर्षभन्दा कम उमेरका र २६ वर्षभन्दा बढीका महिलाहरूले खोप लगाउन उपयुक्त हुँदैन ।
गर्भाशय परीक्षण किन ?पाठेघरको मुखको क्यान्सर के हो ?
पाठेघर गर्भाशयको मुखका कोषिकाहरू असामान्य परिवर्तन भै त्यस भागमा अनावश्यक रूपले कोषिकाहरू वृद्धि भएर बन्ने गिर्खा वा निको नहुने घाउलाई पाठेघरको क्यान्सर भनिन्छ ।
रोकथामका उपायहरू
क) क्यान्सर कारकतत्वहरू अलग रहने, सानै उमेरमा यौन सम्पर्क नराख्ने र धेरै शिशु नजन्माउने ।
ख) लामो समयसम्म परिवार नियोजनका साधनहरू प्रयोग नगर्ने ।
ग) समय-समयमा पाठेघरको परीक्षण गराउने ।
निदानका सरल उपायहरू
गर्भाशय स्राव परीक्षण (उबउ smभबच तभकत) गर्भाशयबाट स्रावहरू संकलन गरी परीक्षण गराई पाठेघरका कोषिकाहरू सामान्य रहेको वा नरहेको थाहा पाउने एउटा सरल परीक्षण हो ।
यो परीक्षण कस्ता महिलाहरूले गर्ने ?
३५ देखि ६० वर्षका विवाहित महिलाहरूले वर्षमा एकपटक परीक्षण गराउनुपर्छ ।
परीक्षण गराउनुअघि ध्यान दिनुपर्ने कुराहरू
क) महिनावारी भएको ५-७ दिन वा रगत देखापरेसम्म र यौन सम्पर्क गरिएको २४ घन्टासम्म यो परीक्षण गराउनु हुँदैन ।
ख) कुनै औषधि वा डुस प्रयोग गरिएको हुनु हुँदैन ।
ग) पानी तथा साबुनले योनिभित्र सफा गरिएको अवस्थामा परीक्षण गर्नु हुँदैन ।
नियमित पाठेघरको परीक्षणबाट हुने फाइदाहरू
क) पाठेघरमा क्यान्सर छ-छैन पत्ता लगाई समयमै निदान गर्ने ।
ख) पाठेघरमा कुनै संक्रमण हुन थालेको भए सामान्य उपचारबाट निको
पार्न सकिन्छ ।
प्रा.डा.अचला वैद्य
प्रसूति तथा स्त्रीरोग विभाग, नर्भिक अस्पताल
Source: eKantipur
0 comments
Write Down Your Responses