आउनुस्,नेपालमा नयाँ इतिहास कोरौ ! - गोपाल सिवा

आजको एक्काइसौं शताब्दीको बदलिदो संसार र सामाजिक संजालको चरम बिकास संगै भित्रिएको 'फेसबुक' र 'टुइटर' बाट टाढा परे समाज बाटै टाडा हुने जस्तो बनिने डरले पछिला केहि बर्ष देखि सामाजिक संजालमा म पनि आबद्ध छु । पछिल्लो समय सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गरिसकेको अवस्था छ।यसलाई अब कसरी सफल बनाउने भनेर राजनीति दल र सरकारको संवैधानिक निकायहरू तथा प्रशासनिक निकाय पनि सुझबुझका साथ अगाडि बढिरहेका छन।नागरिकहरूमा पनि बडो उत्साह थपिएको छ। म आबद्ध भएका सामाजिक संजाल होस् वा चिया गफमा होस जता सुकै चुनावको आवाजहरु यसरी गुन्जिन थालेका छन् कि सामाजिक संजाल अहिले राजनीतिका दर्शन बोकेका भरिया मात्र हैन बटुवाहरुको पनि राजनीतिक बिचारको धकाई मार्ने साझा चौतारी बनेको छ ।
आज यहि साझा चौतारीमा सन्दर्भ चलेको मैले देखेको स्थानीय निर्वाचन र स्थानीयस्तरका प्रतिनिधिहरुको बारेमा लेख्दै छु । नेपालमा प्रजातन्त्र पुनःबहालीपछि पहिलोपटक २०४९ साल जेठ १५ र १८ गते पहिलो तथा २०५४ जेठ ४ र १३ गते दोस्रोपटक स्थानीय निकायको निर्वाचन भएको छ । हालको वेलका नगरपालिका अन्तर्गतको एक गाउमा जन्मिएको मैले बाल्यकाल भरि तिनै चौधरी थरका प्रधानपन्चलाइ स्थानीयस्तरका सर्वेसर्वका रुपमा देखे । पंचायतकालमा अर्थात २०३९ साल देखि चुनाब यिनैले मात्र जिते, गाउका सवै थोक यिनै हुन् भन्दै आएका प्रधानपन्चले जसका भात खाइ उसका गीत गाइ' भनेझैँ धेरैको घरमा घिउ खाएर पिडितलाइ कचहरी गरेर उल्टै अन्यायको खाल्डामा हाले । पीडकलाई सर्वेसर्वो बनाए । यिनको फैसलाको बिरोध गर्नेले सार्वजनिक रुपमा धेरैले कुटाई खाए । धेरै पटक यिनी मात्र बिजयी हुने गरेकाले तत्कालिन अवस्थामा प्रधानपन्चले सबै अधिकार आफ्नो हातमा लिइ हाम्रो गाउमा एकलौटी शाशन गरे । हाम्रो गाउ ठाउ र समाजलाइ दबाएर सवै बिकासका योजनाहरु स्रोत साधनहरुलाई प्रधानपन्चले मस्त लुटिरहे । स्कुलमा यिनका छोरी जुवाई , आफन्त , बन विभागमा यिनकै मान्छे हुदा हुदा जिल्ला अदालतमा समेत यिनकै मान्छे वकिल थिए । राजा महेन्द्रले दशैमा टिका लगाई दिएको फोटो देखाएर यिनले गाउमा तत्कालिन अवस्थामा राजाको नजिक भएको बोध गराए । यिनका बिरुद्ध हाम्रो समाजका चौधरी, लेखि , थारु सहित अहिलेका मधेशी समुदाय भनिएका कसैले कहिले चुनाबमा उठ्ने हिम्मत त के कुरा काट्ने सम्म आट गरेनन । तर जब कोहि पहाडी समुदायको उमेदवार यिनको बिरुद उमेदवार बन्ने कुरा हल्ला चल्थियो यिनका भरौटे रात्ति लाठि र भाला बोकेर उसकै घरमा पुगेका हुन्थे । यसरि नातावाद, कृपावाद, साम, दाम, दण्ड, भेदको नीति अप्नानाउदै यिनले  २०४९ साल सम्म हाम्रो गाउमा राज गरे ।
पंचायतकाल देखि एक निरंकुस, बर्बर, अत्याचारी, घमण्डी, आडम्बरी,अबुझ, स्वाँठ शोषक र भ्रस्टचारी प्रधानपन्चको अधिनमा खुम्चेर गुपचुप बसेका हाम्रो समाजमा ०४६ को आन्दोलनपछि २०४९ साल जेठमा हुने स्थानीय निकायको चुनाबले हरेक व्यक्ति समुदायले आफ्नो स्वतन्त्र पहिचान चाहेको प्रतित गरायो । यहि चाहना लाइ मुर्त रुप दिन स्थानीय निकायको चुनाबमा कोहि स्वतन्त्र त कोहि अहिलेका ठुला दल बाट चुनाबमा भाग लिए । तर राजनीतिक दाउपेचमा माहिर भएका प्रधानपन्चले पंचायती कालखण्डको अन्त हुनु अगाबै पनि बैकल्पिक बाटोहरु बनाए । आफ्नो तत्कालिन शक्तिलाई दुरुपयोग गरेर भविस्यको सुन्दर सपना बुन्न थाले । फेरी आफुलाई सासक नै भएर चिनाउँन प्रधानपन्च पनि देशको परिवर्तनको साथ साथै हिडन नेपाली कांग्रेश भए र फेरी चुनाबमा उठे। प्रहरी , चुनाब अधिकृत सवैलाइ अघिल्लो रात भोज खुवाएको हल्ला चलिरहेको थियो अन्नत भोलि पल्टको निर्वाचनमा जित यिनकै भइदियो । प्रधानपन्चले नया बस्त्र लगाएर फेरी पनि जेनतेन गरेर ५ बर्ष चलाए । अति गरेर नथाकेका यिनी कुर्शीमा बसेर स्प्रिङ्गलाइ सके जति दबाएर अत्याचार गर्न थाले तर अनन्त २०५४ जेठमा यिनको उमेदवारिलाई जनताको अबिश्वाश्ले उछिट्याइ दियो । त्यस पछी बनेका प्रतिनिधिले पछिला केहि बर्ष सम्म गाउमा बाटो खनाए , बत्ति पुराए , बिकासका केहि अनुभूतिहरु गराए । विसं २०५९ साउन १ गतेदेखि हालसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन छन् । हुदा हुदा विगत १४ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेर स्थानीय निकाय कर्मचारीको भरमा चलिरहेका छन् ।मुलुकमा प्रजातान्त्रिक व्यवस्था भए पनि लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीयस्तरमा जनता त्यसको प्रयोग गर्नबाट वञ्चित भएका छन् ।
स्थानीय तहमा लामो समयदेखि जनप्रतिनिधि नभएका कारण जनताले सास्ती भोगेको टुलु टुलु हेर्दै बसेका सबै राजनीतिक दल, सरकार र निर्वाचन आयोगले सदैव स्थानीय निकायको निर्वाचन शीघ्र गर्नुपर्छ भन्दै आए । तर अनन्त नयाँ संविधानको धारा २९५ को उपधारा ४ अनुसार संविधान प्रारम्भ भएको मितिले ६ महिनाभित्र स्थानीय तहमा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित क्षेत्रको संख्या र सिमाना निर्धारणका लागि आयोग गठन गर्नुपर्ने व्यवस्था अनुसार १९ वर्ष पछि सरकार र राजनीतिक दलहरुको नाकमा स्थानीय निकायको निर्वाचन गराउने पर्ने नथी लागेको छ भने अर्को तिर हुन लागेको यो स्थानीय निकायको निर्वाचनले एकपटक कायापलट ल्याउनुको साथै सदाको लागि देशले विकासको मुहार फेर्ने छ भनेर अाशाहरू पलाएका छन् । चुनाबको माहोल र आम समुदायको उत्सुकताले जातीबाद,क्षेत्रबादको सागुरो धेरा तानेर लुट्ने दाउ हेरेका लुटतन्त्रका ठेकदारहरुलाइ नराम्रो गरि झापट दिएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा मुलुक अगाडि बढिरहे पनि आमजनताको प्रत्यक्ष सरोकार रहने स्थानीय निकायलाई जनताको घरदैलोसम्म पु¥याउने प्रयासमा प्रमुख दलहरु चुकेका छन् । सामान्यतया स्थानीय निकायअन्तर्गत वडा समितिको कार्यालय, गाविसको कार्यालय, नगरपालिकाको कार्यालय, जिल्ला विकास समितिको कार्यालय तथा त्यसअन्तर्गत गठित निकाय हुन् । यी निकायको सम्बन्ध सोझो रुपमा जनतासँग हुने भएकाले पनि यसप्रति जनताको बढी लगाव हुने गर्छ । लोकतन्त्रको जगका रुपमा रहेको स्थानीय निकायलाई जनताकै सहभागितामा अगाडि बढाउँदा मात्र त्यसले जनतामा अपनत्वको भावना सिर्जना गर्दछ । स्थानीय स्तरमा उपलव्ध हुने स्रोतसाधन, सीप र प्रविधिको अधिकतम रूपमा परिचालन गरी स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै समुन्नत, दिगो विकासको अवधारणालाई व्यवस्थित रूपमा सञ्चालन र व्यवस्थापनको लागि स्थानीय निकायको भूमिका अपरिहार्य हुन्छ । यधपी नेपालको संविधान, २०७२ ले नेपालको राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्नेछन् भनी तीन तहको शासन प्रणाली व्यवस्था गरेको छ।विकास सँगसँगै समाज परिवर्तन र रूपान्तरणको लागि ,स्थानीय स्तरमा सञ्चालन गरिने योजनाहरूको छनोट, तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनको लागि पनि स्थानीय जनप्रतिनिधिहरू बढी जानकार हुनुका साथै यिनको योगदान र भूमिका उत्तिकै उल्लेखनीय हुन्छ । त्यसैले निष्पक्ष रूपमा जनप्रतिनिधिहरूको छनोट र जिम्मेवारीको बोध गराउनु स्थानीय निर्वाचन अपरिहार्य छ ।
स्थानीय निर्वाचन भनेको राजनीतिक विषयको कुरा पनि हैन । हाम्रो दैनिक आवश्यकता परिपूर्तिका लागि चाहिने निकाय हो । अत: तपाइ हामि सवैलाई चाहिएको बिकास , अधिकार दुइ हात फैलाएर माग्दैमा कसैले पनि ल खा भनेर हातमा हाली दिदैन । हरेक कुरा गर्ने एउटा समय हुन्छ र सही समयमा गरेको काम मात्र सफल हुन्छ । जसरि तातेको फलामलाई घन हानेर सही आकार दिन सकिन्छ । तर त्यही फलामलाई सेलाए पछि घन हान्नुको कुनै अर्थ हुदैन त्यसै गरि आउनुस्,स्थानीय निर्वाचनमा सबल ,सक्षम र जवाफदेहि निष्ठावान व्यक्ति लाइ रोजौ किनकि स्थानीय निकाय भनेको जनप्रतिनिधि बिना चल्ने संस्था नै हैन । तत्कालिन प्रधानपन्च ले हाम्रो गाउमा १५ बर्ष फैलाएको अराजकताहरु जस्ता अराजकताहरु अहिले पनि नेपाल भरिका धेरै गाउ ठाउमा यथाबत छन् त्यसैले यी सवै अन्त्यका लागि निर्वाचन जरुरी छ, सहि उमेद्ववारको छनौट हुन् जरुरि छ  ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.