नेपाली महिलालाई रोक लगाउने सुचनाको वाक्कलाग्दो खेल - गोपाल सिवा
नेपाली समाजमा महिलाका लागि सबैभन्दा ठूलो समस्या र कठिनाइ भनेको नेपालमा राजनीतिक अस्थिरता विद्यमान रहेको अवस्था, अपराधलाई संरक्षण गर्ने राजनीतिक प्रवृत्ति , युगौंदेखि पितृसत्तात्मकवादी सोचमा समाजको वर्चस्व , लोकतन्त्रको प्राप्तिपछि समाजको धरातलीय चेतनामा आमूल परिवर्तन नआउनु, नेपालमा महिलाको नाममा सम्पत्ति राख्ने प्रचलन धेरै कम देखिनु, समान समाज निर्माणको चाहना महिलाले मात्र राख्नु, दाइँजो प्रथा कायम रहनुका साथै धार्मिक संस्कार, परम्परा, रीतिथितिले गर्दा पनि महिलाहरु घरेलु हिंसाको मारमा परेका देखिन्छन् । अर्को तिर सदियौँदेखि परम्परागत धर्म संस्कृतिले देवीको रूपमा पूजा गर्ने परम्परा रहेको नेपाली समाजले, पुरुष र महिलामाथि गर्ने गहिरो भेदभाव, महिलालाई हेर्ने फितलो दृष्टिकोण, त्यति मात्रै होइन महिलालाई कमजोर साबित गर्न बनाइएका पुराना भनाइहरु जस्तै– ‘छोरीको जन्म हारेको कर्म’ आदि कारणले पनि समाजमा महिलाहरु घरेलु हिंसाको मारमा छन् । त्यस्तै पुरातन सोच, गरिबी र अशिक्षाले पनि महिला हिंसा बढ्नुमा उत्तिकै सहयोग पुर्याएको छ । फलस्वरूप कतिपय युवती विदेशी मुलुकमा जे जस्तो काममा भए पनि गइरहेका छन् । घरेलु कामदार बनेर खाडी मुलुकहरूमा जाने महिलामा अधिकांश स्वेच्छाभन्दा बढी विभिन्न बाध्यताका सिकार बनेका छन् । केही महिला हिंसाका सिकार बनेर घर, समाज र देशबाट भागेका छन् भने कोही बहुविवाह, विभेद र एकल जीवनको सिकार बन्दै बाहिरिएका नेपाली महिलाहरु छन् । यथार्थ र स्थिति नबुझीकन खाडीमा घरेलु कामदार बनेर जाने लाखौको संख्या जति होला, त्यति नै बाध्यता र परिबन्दको सिकार बनेर अबैधानिक तरिकाले खाडीमा होमिनेहरू पनि छन् ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहको नेतृत्वमा संसाद बिनोद श्रेष्ठ, प्रेमकिशोर शाह, राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, राधादेवि तिमिल्सीना, अशोककुमार शाह, ललितकुमारी रेग्मी र संसद सचिवालयका उपसचिव झलक शर्मा सापकोटाको टोली गत महिना बैदेशिक रोजगारमा नेपालीको समस्या समाधानको बाटो खोज्न खाडी देश भ्रमणमा आए । व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कतार, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली कामदारको अवस्था अध्ययनपछि वैदेशिक रोजगारीका नाममा खाडीमा जाने नेपाली महिलाहरु घरेलु कामदारका रुपमा बेचिएका , बलात्कार, कुटपिट र यौन शोषणको शिकार हुँदै आएका र घर मालिकको यातना सहन नसकेर एजेन्टसमक्ष पुग्ने महिलालाई पुनः अर्को मालिकलाई बेच्ने गरिएको पाइएको तथ्य सार्वजनिक गर्दै वैदेशिक रोजगारीका नाममा नेपाली महिलाहरु घरेलु कामदारका रुपमा जान श्रम स्वीकृति र पुन स्वीकृति बन्द गर्ने निर्णय गर्यो। तर घरेलु कामदार मगाउने साहुले लागत खर्च बेहोर्ने भएपछि म्यानपावर एजेन्सीले बिभिन्न चयानल बाट ल्याउन अभिसप्त भएका लाइ यसरि श्रम स्वीकृति र पुन स्वीकृति रोकेर बैधानिक बाटो सम्म बन्द गरि मानव तस्करीविरुद्धको अभियान यत्तिकैमा सीमित राखिनु के ठीक होला त ? के नेपाली महिलाको बेरोजगारीको समश्याको नजर अन्दाज नगरी दुख पाए भनेर सोझो गणितचाहिँ बैदेशिक रोजगारीमा यसरि रोक लाउनु मात्र नै हो ?
मैले देखे अनुसार एकातिर बेरोजगारी, बाध्यता र,परिबन्दको सिकार बनेर अभाव र द्वन्द्वले खाडीमा होमिने धेरै महिलाहरुले २-४ वर्ष घरेलु कामदार बाट गरेको आय आर्जनले परिवारको जिविकोपार्जन गर्दै आएका छन् जुन सकारात्मक पनि छ । अर्को तिर यसरी दु:ख भोगेर बैधानिक र बैधानिक बन्दै खाडी सम्म त आइपुग्छन तर भाषा दक्षताको कमी, कामसम्बन्धी सीपको अभावका कारण स्थापित हुन गर्नुपर्ने अन्तर संघर्षको नयाँ नमिठो अध्याय सुरु हुन्छ। घरेलु कामदारलाई श्रम कानुनले नसमेटेको , कानुनी हक नपाएको ,तलबमान, उमेर, सुरक्षा ग्यारेन्टी र सेवाशुल्कमा एकरूपता नभएको खाडी मुलुकमा के भोग्नुपर्छ,गर्नुपर्छ र सहनु पर्छ भन्ने तितो अनुभब खाडीमा घरेलु कामदारको रुपमा काम गर्ने गर्ने प्राय नेपाली महिलाहरुको मुटुमा रगत जस्तै बगेकै छ।अपवाद छाडेर धन कमाउने सपनामा अन्धकार भविष्य बोकेर खाडी मुलुकमा आइ पुगेका नेपाली महिलाहरु तथा युवतीहरू खाडी मुलुकमा दर्दनाक पीडा सहेर बाँच्न बाध्य पनि त्यतिकै छन् । गल्फ कोअपरेसन काउन्सिलअन्तर्गत खाडीमा यहाँका नागरिकलाई सरकारहरूले एक अर्को देशमा आवतजावत र कामदार ल्याउन लैजान सुविधा दिएको छ । उनीहरूले घरेलु कामदारलाई जहाँ लगेर पनि काममा लगाउन सक्छन् । त्यति मात्र होइन, उनीहरू आफन्तकहाँ समेत कामदार पठाइदिने गर्छन् । यसरि घरेलु कामदारको रुपमा एक या एक घर ठाउँ भन्दा बढी ठाउमा जानु पर्दा जीवन शैली, हावापानी, रहनसहन, जीवनयापनका कारण यहाँ जे जस्तो दु:ख पिडा भोग्नु परे पनि आफ्नो दुखद जीवन बिताउन धेरै बिवश छन्। कुबेत भनेर आएका साउदीमा अलपत्र भेटिएका छन त् कोहि दुवई भनेर आएका कुबेतमा छन । धेरैले हृदय खोलेर दु:ख पोख्न न ठाउ पाउछन , न त् सक्छन । मानसिक तनाब बोकेर दुखको पोखरीमा डुबेर धेरै नेपाली महिलाहरु बसेका छन् ।
फल स्वरूप केहि अघि सरकारी मापदण्डअनुसार घरेलु कामदारहरू नेपाली दूतावास भएका साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र कुवेतमा कामका लागि जान सक्छन् भन्दै स्वीकृत दियो । तर राज्यले अहिले फेरी किन सरकारी मापदण्ड ले नै दुख निम्त्याएको निचोड निकाल्यो ? आफ्नो छोटो भ्रमणमा गरेको अन्तरक्रिया बाट महिला तथा युवतीहरूको भोगाइले राज्यको उपहास गरिरहेको भनेर यसप्रति राज्यको ध्यानखिचिएको बताउदै संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले किन यसरि कदम चाल्यो ? के अब रोक लगाउने सासदीय समितिले राज्यले छुट्टै नीति निर्माण गरी गाऊ गाऊमा गइ आभिमुखीकरण तालिम संचालन गरि स्वदेश मै महिलाहरुलाई आर्थोपर्जनको बाटो खै देखाउला ? के नेपाली महिला लाई देशमै काम प्रति आग्रसर गराउन राज्यको तत्काल नीति बन्ला ? के यसले द्रिघ्कालिन रुपमा समस्याको निराकरण गर्ला ? प्रशं तेर्सिएको छ ।
बैदेशिक रोजगार ऐन २०६४ को दफा ८ मा लिंगको आधारमा कुनै पनि कामदारलाई बिभेद नगर्ने भन्ने कानुन छ ।श्रम स्वीकृति लिएर जानु भनेको धेरै हद सम्म बैधानिक तरिका अपनाउनु हो । तर खाडी मलुकमा महिला कामदारहरु प्रति रोक लगाउने सुचनाको वाक्कलाग्दो खेल पटकपटक दोहोरिदै आएको छ ।यसरी कहिले खुलाउने र कहिले बन्द गर्ने कुराले महिलाहरु थप जोखिममा पर्ने र तस्करको शोषण तथा बेचबिखनमा पर्ने पकका छ ।नेपालको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा २९.५ प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्समा यी आफुलाई समश्यामा जीवन्त राखने नेपाली महिला घरेलु कामदारले पठाएको रेमिट्यान्सको पनि छ । बेरोजगारीको भयावह सङ्कट, घर परिवार र सामाजिक विभेदले सपना भत्किँदै गर्दा बैधानिक अबैधानिक बनेर खाडी तिर घरेलु कामदार बनेर बढिरहेको नेपालीहरू महिलाहरुको बास्तबिक पिडा ,अवस्था र भोगाई प्रति राज्य उदासीन छ । राज्य हाक्नेहरुको सम्पूर्ण ध्यान केन्दि्रत भएको छ- विभिन्न बाध्यताका सिकार बनका नेपाली महिलाहरु लाइ बैदेशिक रोजगारमा जान नदिन र यसका लागि सुरु भएको छ बिदामा घर फर्केका महिला कामदारहरुलाई समेत फर्किन नदिने सिद्धान्तहीन रोक गर्ने सुचनाको वाक्कलाग्दो खेल । स्वीकृति बन्द गरिनु भनेको निकै जोखिमपूर्ण, अस्थिर र हानिकारक हुनेछ अर्थात् निर्णय दीर्घकालीन हिसाबले सहज देखिँदैन । त्यसैले आधा भन्दा बढी जनसंख्या रहेको र बेरोजगार महिलाहरुलाइ देशमै कि रोजगार दिनु पर्यो कि त् निश्चित मापदण्ड बनाएर सरकारले ‘वैदेशिक रोजगार सुरक्षित, मर्यादित र व्यवस्थित गर्नु पर्यो । नत्र समाज एव राज्य बाट बाध्यता र परिबन्दको सिकार बन्दै बिदेशिन बाध्य घरेलु नेपाली महिला कामदारहरु नै कारक बनेर देशमा अभुतपूर्व संकट थपिने निश्चित छ ।
----
प्रकासित :-http://hamrosanchar.com/2017/04/22/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B0%E0%A5%8B%E0%A4%95-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%89/
0 comments
Write Down Your Responses