यहाँ केवल झुठा कुराहरु मात्रै फैलाइन्छन् -वि पी कोईराला

म फेरि पनि भन्छु, यहाँ एउटा उचाल्ने कोशिश के हुन्छ भने मदेशमा पहाडी र मधेशीको झगडा गराइदिने । म पहाडिया रे । मेरो परिवार ७२ वर्ष भयो विराटनगरमा बसेको । विराटनगरको स्थापना मेरो पिताजीले गरेको हो । त्यहाँको मन्दिर मेरो पिताजीले बनाउनु भएको हो । म त्यहाँको, विराटनगरको प्रवक्ता हुन सक्दिन रे । दशवर्ष अघि पूर्णियाबाट आएको हिन्दुस्तानीले नागरिकता लियो, त्यो त्यहाँको प्रवक्ता हुन पाउँछ रे । म हुन पाउँदिन । त्यस्तो प्रचार यहाँ चलिरहेको छ पर्वते र मदिसे भनेर ।
अहिले तराईको उपेक्षा भयो भन्नेहरु यता दश बीस वर्षमा नागरिक भएर आएका छन्, तिनीहरुले उठाएको प्रश्न हो । तराईमा ट्याक्टर जीप र कहीं कहीं त हात्ती नभएको कुनै गाउँ छैन, तर पहाडमा त्यस क्षमताको लखपति भन्ने मानिस शायद विरलै होलान् । तराईमा भोकभोकै कुनै मानिसले बस्नुपरेको छैन, पहाडमा कुनै मान्छेले लाहुर गएनन् भने भोकभोकै बस्नुपर्छ ।
तर, तराईभित्र मैले एउटा अर्को कुरा देखें। त्यो म पर्वतेहरुलाई भन्न खोजिरहेको छु । त्यहाँ यत्रो ठुलो राष्ट्रियताको भावना छ मलाई व्यक्तिगत अनुभव पनि छ, र मैले आफ्नो अध्ययन् पनि गरेको छु । तपाई कुनै मदिसेलाई बाहिर गएर जागिर खाएर उतै घरजम गरेर बसेको देख्नुभएको छ ? म हजारवटा पर्वतेलाई देखाइदिन सक्दछु । त्यस्तो कोशिश गरिरहेको छ कि म ग्रीनकार्ड पाऊँ र अमेरिकामा गएर बसौं भनेर ।
एउटा तराईवासी मधेशीको मसंग भेट पर्यो न्युयोर्क हस्पीटलमा । मैले तपाईं को हो भन्दा वल्र्ड बैंक मा काम गर्छु भन्यो । त्यहाँ धेरै छन् नेपालका ऊ भन्दा धेरै कमाउने । डाक्टरहरु छन् । उनीहरुले मलाई मद्दत गरेका छन् । तर एकमुष्ट उसले दशहजारको चेक दियो, त्यति त के, हजारको चेक पनि कसैले दिएको छैन ।
मैले उसलाई भने, यो दशहजार डलरको चेक ? तिमीसंग कति रुपैयाँ छ ? उसले भन्यो दशहजार तीनसय डलर मसंग छ । उसले सातवर्षमा कमाएर बचाएको सबै रकम मलाई दियो । मैले यति चाहिदैन पछि लिउला भन्दा उसले भन्यो तपाईंको काममा मेरो रुपैया काम लागेन भने मेरो रुपैयाको के मूल्य ?
त्यो मान्छे वर्खामा यहाँ नेपाल आएको थियो । आएर मलाई के भन्यो भने मलाई जहिले पनि २४ घण्टा गाउँको सम्झना आउँछ । मलाई भैसीको सम्झना आउँछ, भैसीमा चढेको सम्झना आउँछ, गुल्ली डण्डा खेलेको सम्झना आउँछ, पोखरी मा नुहाएको सम्झना आउँछ । म राति सुत्दा सपना देख्छु । दिउँसोमा पनि त्यै सम्झन्छु ।
त्यसो हुनाले म गाउँ नगई भएन भनेर म ऐले गाउँ आएँ । वर्खा थियो । वर्खामा जान बाटो थिएन । म यै सुट लगाएर हेलेरै पुगें तिन माइल । मैले त्यहाँ केही गर्न सकेको छैन् । मैले मनमा सोचें, कति राष्ट्रियताको भावना छ यो मान्छेमा । तपाईहरु मध्ये कतिले भन्न सक्नुहुन्छ उसले भनेको जति ?
अब नेवारहरुको कुरा गरौं । तपाईले नेवार देखाउनुस्, जो दौडादौड गरेर बाहिर बस्न खोज्छ, काठमाण्डौ छोडेर । छन् कोई ? विदेशमा पैसा कमाए पनि यही बिहा गर्न आउँछन्, त्यै गलि फोहोर मैला भएको ठाउँमा नै घर किन्छन्, यहीं बस्छन् । एउटा यत्रो ममता छ आफ्नो देशका प्रति उनीहरुमा । उनीहरुको कला र इतिहासले नै बाहिरियालाई नेपाल चिनाउँछ ।
वास्तविकता के छ भने राष्ट्रियताको एउटा व्यापक आधार यस देशमा कायम छ । हामीहरुको कोशिश के हुनुपर्दछ भने यत्रो ठुलो राष्ट्रियताको संचिति छ, त्यो संचितिलाई हामी समातौं, त्यहासम्म हामी पुगौं । बाहिरबाट हामीहरुलाई धमिल्याउने जुन कोशिश भइरहेको छ, बिदेशी प्रभावबाट, त्यसबाट हामी बच्ने कोशिश गरौं । राष्ट्रियताको यत्रो धरातल छ, यत्रो ठुलो आधार छ राष्ट्रियताको त्यसबारे कसैले बोल्दैन् ।
यहाँ केवल झुठा कुराहरु मात्रै फैलाइन्छन् । त्यसो हुनाले, मैले भने नि, तपाई मलाई एउटा राष्ट्रवादी अखबार देखाउनुस्, म च्यालेन्ज गर्दछु तपाईंलाई र तपाई मलाई च्यालेन्ज गर्नुहुन्छ भने म प्रत्येक अखबारको पृष्ठभुमि बताउँछु र कुन विदेशीबाट सन्चालित कुन अखबार म भनिदिन्छु ।
(साभार राष्ट्रियताको आधार वि पी कोईराला सन् १९८१ (आशिंक संकलन्)

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.