समय सधैं एकनाश नरहने रैछ- गोपाल शिवा

बैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय , बिबिद्य अावश्यकता र बाध्यताका पर्खालहरूलाई पार गर्नका लागी जागीरका सिलसिलामा ४० लाख भन्दा बढी नेपाली युवाहरू बिदेशी भुमिमा श्रम गर्न बाध्य भइ बिदेसिएको तथ्य हामी माझ छर्लङ्ग छ। हो तिनै लाखौं बिदेसिएका युवाहरू मध्यको एक म पनि एक पात्र हुँ । घाम झुल्कने र डुब्ने नित्य कर्मको दुई फेरोभित्र कम्पनिमा कार्यरत केहि सय हामी नेपाली युवायुवती कम्पनीले दिएको फरक फरक जिम्मेवारी बहन गर्न दैनिक दौडधुपमा लागि रहेका हुन्छौ । हातगोडा सद्दे हुदा सम्म प्रवासी जीवनको रथ सायद यसैगरी सहज र स्वाभाविक चलिरहन्छ जस्तो लाग्दो रहेछ ।तर, समय सधैं एकनाश नरहने रैछ । पञ्चतत्वले बनेको मानव शरीर कुन मोडमा अशक्त हुन्छ , बिरामी हुन्छ भनेर हेका कहिल्यै नहुने रहेछ ।
नियमित डिउटी गरिरहेका रुममेट भाई दुई दिनको पेट दुखाइ पछि कार्यस्थल नजिक किल्निक्मा गएछन । पेन किलर ठिक हुन्छ भनेर आश्वाशन दिएर पठाएको किल्निक्को औषधिले दुई दिन खादा पनि छेउटुप्पा नै छोएन । भाईलाई झन दुख्न थालेको भने पछी इलाकाको ठुलो भनिएको आदान अस्पतालमा गइयो । किल्निकको सिफारिसको आधारमा मात्र बिरामी लिने नियम बनेको आदान अस्पतालमा पाएको जानकारी अनुसार सिफारिस लिन भनेर फर्वानिया किल्निक त कहिले एयरपोर्ट किल्निक्मा धाइयो ।दुइ दिन सम्म धाउदा पनि उही पेन किलर दिएर ठिक हुन्छ भनेर आश्वाशन पाउने मात्र काम भयो तर बिसको उन्नाइस भएन र सिफारिस पनि पाइएन । झन्डै ५ दिन देखि दुखाइ सहदै आएका भाइका अनुसार लगातार पेटको दाँया र बाँया दुख्ने, कहिले नाइटो दुख्ने र पेटको तल या माथि दुख्ने गर्दथ्यो। त्यस पछी महबुला स्थित अलिया अस्पताल गएर जचाउने कुरा भयो र त्यतै लागियो । त्यहा पेट दुखेर आएको आफूलाई चेक जाच गरेर आदान अस्पताल जान रिफर पेपर चाहिएको कुरा सुनेर रिसिप्सनले बिरामी फाइल खोल्न र चेकजाच गर्न मिनिमम ३०/४० केडी लाग्ने र औषधि, इन्जेक्सन , एक्सरेको छुट्टै गरि ८० /९० केडी लाग्ने बरु मुवारक अल्कबिर तिर जान सुझाब दिए । उपाचार होला कि भन्ने आशा बोकेर फर्वानिया किल्निक,एयरपोर्ट किल्निक,अलिया अस्पताल,आदान अस्पतालको चककर भाइ संगै ट्याक्सीमा काटियो। चक्कर काट्ने क्रममा उपचार नपाइएला कि, यसरि नै सवै तिर बाट यहा होइन भन्दै फ़र्काइएला कि भन्ने आशंकाले भाइ संगै पछिला दिन देखि अस्पताल धाएको मेरो मनलाई गाजी रहयो ।अनन्त भाइलाइ दुखाई यथावत भए पछि आज झन्डै एक हप्ता पछी मेट्रो मेडिकल कियर फर्वानियामा गएर चेक जाच गरियो । गुणस्तरीय, भरपर्दो र सस्तो एवं सुलभ शुल्कमा उपचार सेवा दिने मेट्रो मेडिकल कियर पुगेर सवै जाच गरे पछी बल्ल थाहा भो भाइलाई अल्सर भएको रहेछ ।
मानिसले जीवनमा भोगेका साझा रोगको सूची तयार गर्ने हो भने पेटसम्बन्धी रोग नै अग्रस्थानमा आउँछ । प्राय जसो बहुसंखय्क नेपालीहरुको एकै कामको प्रकृति भएको प्रवासमा राम्रोसँग निदान र उपचार नहुँदा वर्षौंदेखि पेटसम्बन्धी समस्या पालेर हिँड्ने नेपालीहरुको संख्या निकै ठूलो छ । चिकित्सकहरूका भनाइमा जीवनशैली, खानपान, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको पेटको रोगलाई सामान्य रूपमा लिने बानीले पछिल्ला दिनमा सुरुमा झाडापखालादेखि, ग्यास्ट्रिक, अल्सर हुँदै क्यान्सर सम्म हुने गरेको देखिदै आएको छ ।त्यसैले सधैं स्वास्थ हुनु अावश्यक छ। अझै बिदेशी भुमिमा स्वास्थ हुनु अति अावश्यक छ। बिदेशी भुमिमा अाफ्नो स्वास्थ्यको ख्याल अाफैं गर्नु पर्ने हुन्छ।
यहाँ बिरामी भएमा साह्रै कष्टकर हुदो रहेछ भन्ने कुरा माथि भाइले दुखेको पेट समाउदै काटेको एक हप्ताको चक्कर बाट थाहा हुन्छ । सामान्य बिरामी पर्दा घरमा भए एउटा आउथ्यो, अर्को आउथ्यो र “ए के भयो ? ए पेट दुखेको हो ? यसो गर उसो गर ठीक हुन्छ” भनेर सहानुभुती दिन्थे तर यहाँ त संगै भएका साथीहरु पनि नुनको सोझो गर्नमा नै व्यस्त छन । गुनासो पनि कसलाई गर्नु सवैको आआफ्नै समस्या छन , जिम्मेवारी छ , डिउटीको समय छ । अर्को तिर एक्लै अस्पताल जान पनि झन्झटिलो प्रक्रिया,थोरै तलब खाने हामी नेपालीको आर्थिक समस्या , बिरामी पर्दा त काममा जानु पर्ने बाध्यता र बिरामी अवस्थामा अाफ्ना घर परिवारको मायाँ एवं साथ अनि हेरचाह नपाइने यो प्रवासी दैनिक जीवन कति कष्टकर र पिडादायक हुन्छ म शब्दमा ब्याख्या गर्न सक्दिन त्यसैले सकभर आफ्नो जीवनशैलीमा सामान्य ध्यान दिऊ किनकि रोकथाम असहज छैन ।
संसारमा बहादुर नेपाली, इमानदार नेपाली, नुनको सोझो चिताउने नेपाली इत्यादि विश्लेषणको तक्मा छाती भरि लाएर श्रम गर्दै देशको अर्थतन्त्रमा रेमिटेन्स पठाएर उल्लेख्य भूमिका खेल्ने हामी नेपाली प्रवासमा बिरामी हुदा पनि प्रक्रिया नबुझेर , नजानेर र पहुच नपुगेर रोग पाल्दै प्रताडित धेरै हुनु परेको छ। यो र यस्ता पिडादायी कुरा सुनेर बिदेशमा रहने नेपालीको समस्या र भोगाई हो भनेर अध्ययन अनुसनधान गरि नेपाल सरकारको सरोकारवाला निकाय एव नेपाली राजदुताबासले नेपाली समुदाय संग बिरामी भएमा कहा कसरि उपाचार गर्न जाने भनेर समय समयमा चेतना मुलक तालिम र काम गर्ने देशमा भएको परिवर्तित नियम एव जानकारी गराउने सके बिरामी परेको आपतकालिन अवस्थामा धेरै नेपालीहरुलाइ मदत पुग्ने थियो कि !

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.