अब मलाई एउटै चिन्ता छ— मैले असमयमै मर्नु पर्नेछ
जो बिझ्ने सन्देश छाडेर गए
प्रिय छोरीहरू धेरै-धेरै माया तथा सम्झना ।
म बिरामीको बेडबाट यो पत्र लेख्दैछु ।
हेर छोरीहरू, माया तौलेर गर्न सकिँदो रहेनछ ।
तिमीहरूलाई म त्यति धेरै माया गर्छु । एउटै कुरा तिमीहरूलाई राम्रो
गार्जेनसिप दिएर यो देशको सुशील र सभ्य नागरिक बनाउने इच्छा यो मनमा थियो ।
अब तिमीहरू आफैंले पूरा गर्छौ होला भन्ने विश्वास लिएको छु । भविष्यमा
डाक्टर, इन्जिनियर जे बने पनि तिमीहरू राम्रो मान्छे बन । मेरो इच्छा
सुन्छौ भने तिमीहरू शिक्षक बनेर गाउँमा गैदिए हुन्थ्यो । म आज मेरो आफ्नो
वा तिमीहरूकी आमाको भन्दा बढी तिमीहरूको भविष्यमा चिन्तित छु । जीवनका हरेक
मोडमा सहृदयी बन्नु, सहयोगी बन्नु । दम्भ, घमन्ड, अहम्ले कहीं पुग्न
सकिन्न । सकेसम्म गाउँमा बस्न सिक्यौ भने तिमीहरूले जीवनको अर्थ पनि
सिक्नेछौ । यो मेरो अन्तरइच्छा हो ।...'
'पि्ररोहिणीस्थित राजीव गान्धी क्यान्सर
अस्पतालको सेक्टर-५ मा रहेको एउटा साँगुरो कोठामा भदौको पहिलो साता भेटिएका
बेला डा. चित्रप्रसाद शर्मा वाग्ले निकै थाकिसकेका थिए । क्यान्सर रोगले
सताइएका आफन्तहरूको पछिल्लो स्थिति अवगत गराउन आसपासका सेक्टरबाट आएका
आगन्तुकहरू डा. वाग्लेका अघिपछि थिए । ८ महिनाकी बच्चीदेखि ८० वर्षका
आमाबाहरूको कथा-व्यथा डा.वाग्ले सुनिरहेका हुन्थे । आफूलाई एपेन्डिक्सको
क्यान्सर लागेर 'असम्भव उपचार' को आत्मज्ञान पाइसकेका चित्रप्रसाद १४
महिनादेखि यो थातथलोमा बिरामीभन्दा बढी अरुका लागि मनोचिकित्सक बनेका थिए ।
'म अब के गरौं ? अब किमो दिनु कि नदिनु ? घर र्फकनु कि यतै बस्नु ?'
लगायतका दर्जनौं प्रश्नको चित्तबुझ्दो जवाफ दिइरहनुपर्ने दैनिकीमाझ आफ्नो
चर्को ब्यथाबारे भने उनी 'मौनप्रायः' रहन्थे । अथवा आत्मज्ञानी बनेर
भनिरहेका हुन्थे— जे होला, ठीकै होला ।
'अरुका लागि भगवान् भरोसा छ, मेरानिम्ति
त्यही भगवान पनि छैन । किनभने मलाई थाहा छ, मेरो रोगमा भगवान भरोसाको पनि
अर्थ छैन भाइ,' एकान्त मिलेका बेला उनी भन्थे, 'परदेशमा भेटिएको आफन्त
सम्झेर ।'
गाउँको कुनै स्वास्थ्यचौकीझैं लाग्थ्यो,
डा.चित्रको सेक्टर-५ को कोठा । प्रेस्किप्सन पढिदिनेदेखि मन दिगो बनाएर
बस्ने आश्वासनसम्म उनी अरुलाई बाँडिरहेका हुन्थे । अनि छोटो फुर्सत मिलेका
बेला उनी आफ्ना डायरीका पाना, पत्रका थाक र सन्देशले भरिएका दस्तावेज
पल्टाउन थाल्थे । नाबालक दुई छोरी र एक अपाङ्ग छोराका निम्ति भविष्यको अनेक
अभिभारा निर्वाह गर्नुपर्ने बेला चित्रप्रसाद आफैं 'भार' बनिरहेका थिए ।
नजिकै बसेकी श्रीमती पूजा पराजुली र ससुरा ज्ञानप्रसाद शर्मालाई पनि सुनाउन
नसकेका (नमिलेका) भक्कानिँदा बहहरू उनी डायरीमा लेखिरहन्थे—...पि्रय
छोरीहरू...।
४८ वर्षअघि आसाम राज्यको गाईगोठमा जन्मेका
चित्रप्रसाद सानैमा टुहुरो बनेपछि कान्छी आमाको साथमा बस्न रूपन्देहीको
परुवा आएका थिए । त्यो गाउँबाट उठेर सरकारी शिक्षा र छात्रवृत्तिको पढाइ
भरथेग हुँदै चित्र योग्यतामा तिखारिएका थिए । रूसको उज्वेकिस्तानबाट
एमबीबीएस गरेर फिरेपछि २०५७ सालयता अर्घाखाँचीको सरकारी अस्पतालको सेवक
बनेका चित्रले आफू जन्मेको गाउँघरको परिदृश्यझैं गाउँले जीवन रुचाए—
मृत्युपर्यन्तै । जीवन-जगत बारेको आफ्नो चेत खुलेदेखि नै संघर्षका दिनरात
बेहोरेका उनका निम्ति मृत्युको पल पनि संघर्षमयी बन्यो ।
२० वटा चरणमा 'किमो' दिइसकेको र ७० लाख
रुपैयाँभन्दा बढी खर्च भइसकेको अवस्थामा अस्पतालले अगस्टको पहिलो साता
उनलाई एउटा 'प्रेस-नोट' थमाएको थियो । यो नोटमा उपचाररत डा. चित्रप्रसाद
शर्मा वाग्लेलाई थप उपचारका लागि अमेरिका वा क्यानाडा जान सिफारिस गरिएको
थियो । त्यो पनि ढुक्कसँग स्वास्थ्य उपचारका निम्ति होइन, अरु औषधि
'परीक्षण' का निम्ति । यसका लागि झन्डै डेढ करोड रुपैयाँ चाहिनेवाला थियो,
जुन चित्रप्रसादसँग बाँकी रहेको वा उनको खलककै सम्पत्तिले पनि धान्न सक्ने
हिसाब-किताब थिएन ।
हाम्रो समाजमा 'व्यावसायिक' भन्दा
'व्यापारिक' चिकित्सकको हालिमुहाली छाइरहेका बेला चित्रप्रसादले आफ्नो
जीवनको झन्डै १२ वर्षको कार्यकालमा केके गर्न भ्याएछन् त ? डा. वाग्लेले
अर्घाखाँची सरकारी अस्पताललाई १५ बाट ३२ बेडमा विस्तार गर्नेदेखि २४ घन्टै
उपचार सेवा, आपतकालीन रक्त व्यवस्था, प्रसूति तथा शल्यक्रिया सेवा आदिको
विस्तार गरेका थिए । तर आफूलाई पर्दा भने खर्च जुटाउनका लागि उनले आफूसँग
रहेका एक्सरे मेसिन, मेडिकल औजारसमेत बिक्री गर्नुपरेको थियो । यसरी देशले
सर्वोत्कृष्ट चिकित्सक भनेर पुरस्कृत गरेका र जीवनभर छात्रवृत्तिको बलमा
योग्यताको निखार पाएका चित्रप्रसादले 'जीवनबारेको भ्रम' कुनै रोग लागेर
होइन, त्योभन्दा धेरै अघि पत्तो पाइसकेका थिए ।
गाउँले चिकित्सक चित्रप्रसादलाई जीवनमा अरु
कुराको पछुतो थिएन । सदावहार जीवनबारेको पोहोर-परारसम्म रहेको अनाहकको भ्रम
पनि हटिसकेको थियो । 'एउटै कुरा भाइ, मलाई सधैंभर ढाँट्न सिकाइयो । मेरो
पढाइ, मेरो योग्यता र मेरो सिकाइमा पनि ढाँट्नुलाई उत्तम कलाका रूपमा
सिकाइयो,' उनी हरेक भेटमा भनिरहेका हुन्थे— 'मैले सयौंलाई ढाँटेँ । नपढेका
बाआमाहरूलाई ढाँटेँ, पहिलोपटक अस्पताल आएका अशक्त र दुःखियाहरूलाई ढाँटेँ ।
उनीहरूलाई लागेका गम्भीर रोगबारे कहिल्यै थाहा दिइनँ । निको भइहाल्छ,
चिन्ता नलिनोस् भन्दै ढाँटिरहेंँ । हे भगवान्, यो कुराको मलाई पाप नलागोस्
।'
दिल्लीबाट काठमाडौं फिरेपछि बितेको २
महिनामा चित्रप्रसादले केही इच्छाएका कामहरू गर्न भ्याए । धर्ना दिएरै भए
पनि उनले राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न सके । मुख्य सचिव लीलामणि
पौड्याललाई भेटे । विश्वभरका हितैषी नेपालीले दिएको आर्थिक सहयोगका लागि
हरेकपटक कृतज्ञ बनिरहे । नेपालमा रोगको सही डाइग्नोसिस हुन नसक्ने पद्धतिका
कारण करोडौं र अबौर्ंै रुपैयाँ उपचारका नाममा देशबाहिर गइरहेको यथार्थ पनि
सक्दो सुनाइरहे । २५ करोड रुपैयाँ पर्ने एउटा 'पेट स्क्यान' -शरीर
परीक्षण) गर्ने मेसिन नेपालमा नभएका कारण सयौं र हजारौं नेपालीले
आर्थिक-मानसिक-सामाजिक सास्ती पाइरहेको बारे वाग्लेले राष्ट्रपति यादवसमक्ष
'सबैको हितको दुःखेसो' सुनाउन भ्याए । तर आफूमा क्यान्सरको आशंका मात्रै
देखिँदा जापान गएर पाउने एक करोड रुपैयाँजति खर्चंदै 'गम्भीर परीक्षण'
गराउन समय निकाल्ने 'चिकित्सक राष्ट्रपति' ले डा. वाग्लेको यो पुकारालाई
कति सुनेका थिए होलान्, वाग्ले यो दुनियाँमा नरहेपछिको अबका दिनहरूमा
मात्रै थाहा लाग्नेछ ।
अघिल्लो महिना धापासीस्थित 'ऋणको घर' मा
भेटिंदा चित्रप्रसाद सम्भिmरहेका थिए— ती दिनहरू । आफूसँग संगत रहेका
कांग्रेसी बालकृष्ण खाँड, रामशरण महत अथवा अरू थुप्रै माओवादी नेताहरू उनी
सम्भिmरहेका थिए । अर्घाखाँची छँदा जंगलमा रहेका कमरेडलाई उनले मानवीय
अर्थमा थुप्रैपटक औषधि पठाएका थिए, तिनै माओवादी आज 'मंगल' स्थानमा छन् ।
२०४५ सालको त्रिवि उपकुलपति काण्डमा परेर चित्रप्रसाद नख्खुमा थुनिएका थिए ।
सोभियत रूस टुत्रि“mदाको अन्योलमा उज्वेकिस्तानका विद्यार्थी
चित्रप्रसादले मस्कोमा राजदूत कुमार ज्ञवालीका सामु धर्ना कसेका थिए ।
यस्ता कतिपय सम्झनाहरू साथैमा थिए, जो विशृङ्खल बन्ने क्रममा थिए । तर यी
सम्झनाभन्दा तिख्खर बनेर उनका सामु डायरीका पानाहरू पल्टँदै थिए, जहाँ उनले
कसैलाई गाली नगरी मनमुटु झस्काउने यथार्थ लेखेका छन्— 'मेरो कोठाको पंखा
घुमिरहेको छ । पुरानो हुँदै गएजस्तो छ, यो अलिक सुस्त चलिरहेको छ । कुन दिन
यो पंखा यति घुम्न पनि बन्द हुने होला, मेरो जीवन पनि यस्तै नै हो ।'
चित्रप्रसाद आफ्ना साना छोरीहरू र १२ वर्षको
अपाङ्ग छोरालाई खुबै माया गर्थे । अगस्ट अन्तिममा दिल्लीबाट काठमाडौं
पुगेको पहिलो रात छोराछोरीसँगै बिताएपछि उनले भोलिपल्ट बिहानै फोन गरेर
भनेका थिए—'भाइ, के भन्नु ? यो लाटो छोरो पनि मसँगै टाँसिएर सुत्यो । म
रातभर यसको भविष्य सम्झेर निदाउनै सकिनँ ।'
चित्रप्रसादलाई के थाहा थियो भने अब केही
महिना वा वर्षभित्रमा उनले यो नश्वर लीला त्याग्नेछन् । दिल्लीबाट फिरेपछि
देवघाट छेउको वृद्धाश्रममा गएर त्यहाँका बाआमाहरूलाई सेवासुश्रुषा गर्दै
'दिन पर्खने' अठोट उनले लिएका थिए । अर्घाखाँचीको आफ्नो जीवनभन्दा प्यारो
सरकारी अस्पताल एकपटक घुम्न जाने इच्छा पनि उनमा थियो । यसका लागि उनीसँग
आत्मबल थियो, आत्मविश्वास पनि । 'मेरो अहिलेसम्मको सहज जीवनको कारण पनि यही
हो,' अवरुद्ध बनिसकेको गलालाई थाम्दै चित्रप्रसाद हरेक भेटमा भनिरहेका
हुन्थे— 'अब मलाई एउटै चिन्ता छ— मैले असमयमै मर्नु पर्नेछ । 'म नरहेपछि'
मेरा ससाना छोराछोरी र श्रीमतीको जीवन कस्तो भयावह होला ? यो सम्झेर म
एकान्तमा अथवा अरूले नदेख्नेगरी खुबै रुन्छु भाइ ।'
आज रोहिणीस्थित राजीव गान्धी क्यान्सर
अस्पतालमा रहेका ३० भन्दा बढी नेपाली क्यान्सर पीडित आफन्तजनले
चित्रप्रसादको खुबै सम्झना गरिरहेका छन् । रोहिणी पर्तिरको सेक्टरका घरधनी
एवं नेपालीलाई खोजेरै भाडा दिने हितैषी जिनेश जैनले बिहीबार डा. वाग्लेको
निधन भएको खबर सुनेर शोकमा धूप सल्काएर आत्माको चिरशान्ति कामना गरिरहे ।
सेक्टर-५ को त्यो डेरा घरबाट गत अगस्ट २७ बाहिर निस्कनुअघिको बिहान
चित्रप्रसादका हातमा 'गौरी' शोककाव्य थियो । सामुमा बसेका ससुरा
ज्ञानप्रसाद र श्रीमती पूजाले आफ्नो गहिरिँदो व्यथा पत्तो पाउलान् कि भनेर
उनी होसियारीमा 'गौरी' का पाना पल्टाइरहेका थिए । कविवर माधव घिमिरेले
'जीवन भ्रम र मृत्यु यथार्थ' का बारे लेखेको पंक्तिमा चित्रप्रसाद शर्मा
वाग्लेको आँखा अडिएको थियो—'एउटा मानिस जो गयो— हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो— हृदयको रुन्चे कुना देखियो साँचो जीवन त्यो गुमाइ,
कसरी झुटो कथा यो भनुँ वैरीलाई समेत लेख्न नपरोस् यस्तो अरू के भनुँ !'
प्रिय चित्रप्रसाद— हार्दिक समवेदना !
1 comments
Write Down Your Responses
November 28, 2014 at 11:10 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन