कुबेतमा घरेलु हिँसा भोगेकी एक नेपाली चेलीलाई न्यायको पहल गर्न भनेर पुगेकी कुवेतस्थित नेपाली दूतावासमा कार्यरत श्रम सहचारी गोमादेवी ढकाल (पौडेल)ले साक्षि बनेर आएको पीडादायी घटनाको बारेमा अनलाइन खवरमा लेखेको लेख पढ्न पाउँदा ज्यादै दुःख लाग्यो । नेपाल सरकारको जिम्मेवारी पदमा बसेको व्यक्तिले भोगेको देखेको यो बस्तुस्थितिले घरेलु कामदारका रुपमा रहेका नेपाली महिला कामदारको बर्तमान अवस्थाबारे चित्रण गरेको मात्र होइन यो यथास्थितिमा महिला कामदारलाई घरेलु कामदारका रुपमा सरकारले वैदेशिक रोजगारीमा पठाउन फुकुवा गरेको निर्णयलाइ समेत सोच्न बाध्य बनाएको छ ।
त्यसो त दूतावासमा कार्यरत कर्मचारीले नै मिडियामा यसरि घरेलु महिला कामदारमाथि हुने शोषणका सत्य तथ्य घटनाहरुका बारेमा बोलेको लेखेको पनि अनुमान गरेभन्दा ज्यादै कम मैले सुनेको छु । सत्य तथ्य बुझेर पनि अत्यन्तै नीरिह र लाचार बनेको चित्रण गर्दै जसरि “मलाई यो पनि थाहा छ, यस्ता कुराले दुई देशवीचको सम्बन्धमा खलल पुग्न सक्ने भनी चारैतिरबाट यसको नकारात्मक व्याख्या गरिनेछ । र मलाई यो पनि थाहा छ, हुन सक्छ, यही बाहनामा मलाई नेपाल फिर्ता बोलाइनेछ “भन्दै गोमाले लेखेका कुराहरु गैर जिम्मेवारी हुन् कि हैन ? कुटनितिक नियोगमा बसेर कुटनितिक मर्यादा बिपरीत कार्य गरेको हो होइन त्यो अनुसन्धानको बिषय होला ।
अनुसन्धानको बिषय लाइ धाती राख्दै म अर्को पाटोको बारेमा कुरा गर्न चाहन्छु। अहिले सम्म घरेलु महिला कामदारको रुपमा बिदेसिनु पर्ने नेपाली महिलाहरुको समिक्क्षा गरेर भने हो भने एकातिर मुलुकमा जनसंख्याको आधाभन्दा बढी महिला भएको यो देशमा महिला रोजगारीलाई देशमा बढावा दिएको देखिदैन भने विदेशमा घरेलु महिला कामदारलाइ आप्रवासी कामदारको रुपमा समेत मान्यता दिएको छैन । यधपी घर मालिकले महिला कामदारको राहदानी राख्ने ,महिलाले घरमा आराम बिना लामो अवधि बाध्यात्मक श्रमिकको रुपमा काम गर्नु पर्ने ,घुमफिरमा रोक लगाइने ,सम्झौतामा तोकिएअनुसार तलब नदिने ,घरभित्रै पनि पर्याप्त मात्रामा खाना खान नदिने, समयमा उपचार नगराउने, करार अवधि सकिए पनि घर जान नदिएर जबर्जस्त काम गराइरहने ,शारीरिक एवं मानसिक शोषण हुने र अत्याचार सहन नसकी भाग्दा चोरी लगायत अन्य मुद्दा लगाएर झनै पीडित गराउने समस्या पनि यदाकदा नेपाल फर्किएका नेपाली महिला कामदार बाट पनि सुनिदै आएको छ ।विदेशमा घरेलु महिला कामदार जहा जहा छन् त्यहा दूतावासका कर्मचारी सम्म नपुगेर लुकेर रहेका वा मिडिया सामु नआएका नेपाली महिलाका यस्ता शोषणका कथा व्यथाहरु धेरै होलान । अझ घरबाट भाग्ने क्रममा विभिन्न एजेन्टको चंगुलमा फसेर देह व्यापार, लागु औषध को कारोवार गर्ने बाध्यतामा समेत नेपाली महिला कामदार परेका घटनाहरु बेला बेलामा सार्वजनिक भएका छन् । यसरि अहिले सम्म घरेलु कामदार दिन प्रतिदिन असुरक्षित हुने गरेको घटना सुनी रहेको बेला नेपाल सरकारको प्रतिनिधि गोमादेवी ले यहि प्रकृतिको आफु साक्क्षि बनेको भन्दै बेली बिस्तार गरेको हृदयविदारक घटनाहरु प्रस्तुत हुदा यो अवस्थामा नेपाली महिला कामदार लाइ घरेलु काममा श्रम स्वीकृति दिन हुने कि नहुने ? अब सवाल सवै तिर तेर्शिएको छ ।
रोजगारीको जड समस्या भएको हाम्रो मुलुकमा ओली सरकारले एक घर एक रोजगार दिने भनेर घोषणा गरे पनि अझै रोजगारीको अवसर छैन, बन्द हड्ताल नाकाबन्दीले २-४ लाख खर्च गरेर एउटा सानो व्यवसाय गर्नुको लागी पनि सुरक्षित वातावरण सम्म बन्न सकेको छैन। यस्तो अबस्थामा बेरोजगार पेटहरूले सजिलो गन्तव्यको खोजी गर्नु स्वाभाविक हो । अनि धेरै जसो नेपाली पुरुस र महिलाहरूको लागी बन्छ सजिलो गन्तव्य भनेको पनि खाडी राष्ट्र नै हो । बेरोजगारी र मुलुकको असुरक्षित वातावरणको सेन्टिमेन्ट लाइ क्याच गर्न बल्छी थापेर बसेकाहरु एकातिर वैदेशिक रोजगारमा घरेलु काममा जान पाउने महिलाको अधिकारलाई राज्यले कानुनी रुपले कुण्ठित गर्न नपाइने भन्दै महिलाहरु गैरकानुनी बाटोबाट घरेलु काममा जान उक्साउदै छन् भने अर्को तिर न्यूनतम मापदण्ड र पारिश्रमिक समेत नतोकी नेपाली महिलालाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा पठाउने निर्णय गराउन सफल भएका छन् । जस्ले गर्दा देश तथा कामदारअनुसार न्यूनतम तलब निर्धारण नहुँदा नेपाली महिला लाइ घरेलु कामदारको रुपमा ल्याउनेहरुको एउटा गतिलो मागी खाने भाडो मात्र हैन म्यानपावर कम्पनी तथा घरधनीहरुलाई कामदार शोषण गर्ने झन् मौका मिल्ने पक्का छ ।
अत वैदेशिक रोजगारमा घरेलु काममा नेपाली महिला कामदार जान अनुमति दिने हो भने भावना मा बगेर हैन बास्तबिकता र अहिले सम्मको बस्तु स्थितिको धरातलमा रहेर यी सत्य तथ्यहरुलाई हेरेर सरकारले स्पष्ट नीति बनाउनु पर्छ । दूतावाससँग प्रत्यक्ष भेटवार्ताको व्यवस्था,नियमित रूपमा दूतावासले निगरानी तथा जाँचबुझ गर्न, ड्युटी, तलब-सुविधा, अधिकार, स्वतन्त्रता, सुरक्षा, बिमालगायत सबै सुविधाको ग्यारेन्टी गर्न ,प्रत्याभूति गर्न र हाम्रो देशका महिला कामदारको सुरक्षाका लागि सम्बन्धित देशमा व्यवस्था मिलाउन सरकारले सक्नु पर्छ । नेपालको कुटनैतिक स्तर बलियो बनाउनु पर्छ अनि मात्र नेपाली माथि बिदेसमा हुने अत्याचारको प्रतिकार राजदुतावासले गर्न सक्छ । अन्यथा बिदेशमा नेपाली माथि अन्याय हुँदा पनि केहि गर्न नसक्ने श्रम सहचारी गोमा ढकालहरु न्याय दिलाउन नसकेकोमा मन भरि पीडा बोकेर फर्की रहन्छन ।
0 comments
Write Down Your Responses