नयाँ बर्ष संगै हाम्रो मृत्युको पनि मुल्य बढ्यो - गोपाल सिवा

यहि वैशाख १ गते देखि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारले बिमावापत १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गएको चैत १७ गते म्यादी जीवन बिमा रकम वृद्धि गरेर दोब्बर पार्ने गरेको निर्णय नयाँ वर्षदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । यसअघि विदेशमा मृत्यु भएकाको परिवारले बिमावापत पाँच लाख रुपैयाँ मात्रै पाउँथे । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको म्यादी जीवन बिमाको रकम ५ लाख रुपैयाँबाट सतिप्रतिशत वृद्धि गरेर १० लाख रुपैयाँ पुर्‍याइएको छ। मृतक कामदारको शव ल्याउने खर्च र काजकिरिया खर्चसहित वृद्धि गरिएको १० लाख रुपैयाँमा थपेर १४ लाख रुपैयाँ बिमा कम्पनीबाट आर्थिक सहायता पाउनेछन्। बोर्डको कल्याणकारी कोषबाट ३ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन भने सवै जोडेर अब विदेशमा मृत्यु भएका कामदारले झण्डै १७ लाख रुपैयाँ बराबर क्षतिपूर्ति रकम प्राप्त गर्नेछन् ।वैदेशिक रोजगारीमा न्यून आर्थिक स्थिति भएका व्यक्ति र परिवारलाई मुख्य योगदान गर्ने व्यक्ति जाने भएकाले निजको मृत्युपछि पनि परिवारमा कुनै आर्थिक समस्या नहोस् भनेर थोरै प्रिमियम बढाएर धेरै क्षतिपूर्ति दिने व्यवस्था गरिनु एक हिसाबले सकारात्मक नै हो ।तर बिड्म्बनाको साथ भन्नू पर्छ लगभग ५ खर्ब रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई सहज बनाइरहे पनि वैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक मूल्य भने निकै दर्दनाक र कहाली लाग्दो र भविस्य प्रति सोच्न बाध्य पार्ने छ ।
झन्डै एक दशक लगाएर बनेको सविधान एकातिर कार्यान्बयनको पक्षमा लम्किन प्रयासरत छ त् अर्को तिर विरोधाभाष कुराले त्यति कै उग्र रुप लिइरहेको छ । समग्रमा भन्नु पर्दा आज मुलुकको राजनीतिक अवस्था दयनिय बन्दै गएको हामी सबैमा विदितै छ । राज्यमा कुनै पनि राजनीतिक पार्टीले स्थायित्व कायम गर्न पनि सकिरहेका छैनन् । यहि स्थायित्व नभएर होला स्वदेशमा युवाहरुलाई रोजगार नदिएर विदेश जान बाध्य पार्ने निति अवलम्बन गरेर सरकार नेपाली नागरिक बेच्ने गल्लावाला बन्दै छ । सत्ताको फोहरी खेलमा लागेर लाखौं युवाहरूलाई विदेश जान बाध्य पार्ने नेता र दलहरू नै यसको निम्ति जिम्मेवार छन् । नया सविधानले बिकासको मूल फुट्नेछ अब नयाँ नेपाल बन्ने छ भन्दै उदघोष र प्रतिबध्ताहरु गर्ने सरकार सङ विदेशमा बसिरहेकाहरुलाई तत्काल स्वदेश झिकाउने प्रभावकारी उपाय अहिलेसम्म केही छैन ।न त वैदेशिक रोजगारीमा जाँदै गरेका युवालाई रोक्न स्वदशमै रोजगारीका अवसरहरु सृर्जना दिने कार्यतालिका नै छ । यति मात्र हैन सरकार संग ठुला उद्योग कलकारखाना सञ्चालन गर्ने वातावरण बनाउने योजना छैन। भएका उद्योग कलकारखाना देशमा अहिले दिनको १२ घन्टा नियमित विद्युत् कटौतीका कारण उद्योग आधा क्षमतामा मात्र चलेका छन्। स्वदेशमै लगानी गर्ने वातावरण बनाई वैदेशिक लगानी भित्राउने र बिदेशमा कार्यरत युवाहरुलाई पनि उचित सम्मानकासाथ स्वदेशमै काम गर्न प्रेरित गर्ने खालका नयाँ नयाँ कार्यक्रम ल्याउन सकेको छैन । मुलुकको भौगोलिक अवस्था अनुसार थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने सेवा मुलक व्यवसाय, पर्यटन उद्योगको प्रवद्र्धन र कृषि क्षेत्रको विकासमा युवाहरूलाई प्रोत्साहित गर्ने गरि सरकारले जोड दिन सकेको छैन ।
एकातिर कृषि प्रधान भनेर नामांकरण गरिएको मुलुकमा सबैभन्दा कमी बजेट कृषिमै लगानी भएको छ । कृषिप्रधान भनेर दशकौं नारा लगाइयो तर देशमा अहिलेसम्म एउटा पनि मल कारखाना छैन।ससारका धेरै देशहरु ४/ ५ प्रतिशतले कृषि गरेर सिंगो देशलाई खाद्यान्न पुर्याएर बाहिर निकासी गर्छन । हामी कहाँ ७० प्रतिशत नागरिक कृषिमा आधारित भएर पनि परनिर्भर बन्नुपरेको छ । कृषि क्षेत्रमा आधुनिकिकरण गरेर नयाँ प्रवृत्तिको बिकासबाट पनि फाईदा हुने कुनै बातावरण सरकारले ल्याउन सकेको छैन । कृषि क्षेत्र वृद्द, बालबालिका र महिलाको भरमा निर्वाहमुखी भै राखेको छ । यस्तो कृषिबाट हामी कहिल्यै उँभो लाग्न सक्दैनौं । अर्को तिर गाउ घरमै केहि गर्छु भन्दा ऋण पत्याउने साहु र बैंक धेरै कमै हुन्छन् तर विदेश जान्छु भन्दा घरमा खोजि खोजि दिन आउछन । यसरि बेरोजगारी भै बस्नु पर्दा र सरकारको स्पस्ट नीति नियम एव योजना नहुदा युवा जमातको कृषि क्षेत्रमा कुनै चासो देखिंदैन फलस्वरूप दिनानुदिन बिदेश जाने क्रम बढ्दो छ ।
एक हिसाबले अहिले नेपालीहरुका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता बनेको छ । जतिसुकै दुःख र मेहनत गर्दा पनि स्वदेशमा काम र उचित पारिश्रमिक नपाएपछि केही पैसा ऋण गरेरै भएपनि वैदेशिक रोजगारीमा जानु अधिकाँश युवा–युवतीको नियति नै भइसकेको छ । जसको कारण अहिले नेपालका अधिकाँश गाउँ रित्ता भएका छन । हुर्के बढेका बलिया युवाहरु सबै विदेश गएपछि विकास निर्माणका कुरा त परै छाडौं । अहिले बेरोजगारीकै कारण गाउँ खाली भएका छन्। सामाजिक सम्बन्ध पनि खल्बलिएको छ। हरेक गाउँमा मान्छे मर्दा मलामी जाने र शब उठाउने मान्छेको समेत अभाव छ । यति मात्र होइन घरमा बिबाह गरेको श्रीमती एक्लै छाडेर लामो समय बस्नुपर्ने बाध्यताले वैदेशिक रोजगारीकै कारण अहिलेसम्म कयौंको घर परिवार विग्रिएको छ भने कयौं युवा–युवतीको बैबाहिक सम्बन्ध विच्छेद भएको छ ।यसैगरि धेरै बा–आमाहरुले वैदेशिक रोजगारीकै कारण आफ्ना छोराछोरीले विदेशबाट पठाएको कमाइबाट घर खर्च चलाउनु त के उल्टै छोराछोरीको शब बाक्स मा आउँदा थप पिडा भोग्न बाध्य पारेको छ ।युवा अवस्थामै ज्यान गुमाउँदा आर्थिक समस्याका कारण कैयौं परिवारको बिचल्ली भएको छ । 
 थप पिडा लाइ केहि मलम लगाउने काम सरकारले बढाएर दिएको क्षतिपूर्ति रकमले परिवारलाई केहि गर्ला र नेपाली जनशक्ति सस्तोमा श्रम बेचेर , नेपालीको सिर्जना एवं उर्जाशील उमेर अरुको देश निर्माणमा लगाउने निरन्तरता दिदै प्राप्त हुने रेमिटेन्सले राज्य पनि केहि बर्ष चल्छ होला तर  तर द्रिघकालिन हुदैन। बरु विदेश लाग्ने नेपालिलाई नै पुस्तान्तर गरी भावी पुस्तालाई पनि बिदेशनै लाग्नु पर्ने भुमरीमा फस्न बाध्य पार्ने निश्चित छ । अहिले बर्सेनि पाँच लाखभन्दा बढी युवा रोजगारी नपाएर विदेश जान बाध्य छन् भोलि झन् संख्या दोबर तेबर हुने छ । वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्या बढेर दैनिक तीनजनासम्म पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा पाँच लाख १२ हजार युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक हजार दुईजनाको बिदेशमै निधन भएको थियो। त्यसैले राहत बढाउने भन्दा पनि स्वदेशमै रोजगारी दीने र गर्ने बाताबरण मिलाएर वर्तमान पुस्तालाइ अभाव, गरिबी, भोकमरी, बेरोजगार र विदेश पलायनजस्ता अकर्मण्यताको सिकार हुन् बाट बचाउ । हाम्रो देशमा पुँजीको कमी हैन, ठूलो अभाव छ त व्यवस्थापनको छ। विदेशमा बगाएकेा पसिनाको कमाइ देशभित्र उत्पादनशील क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने नीति, विचार र कार्यक्रम राज्यले ल्याउन अब हामि सवैले दवाब दिउ । अनि मात्र मुलुकमा नेपालीका लागि रोजगारीको अवशरहरु खुल्छ ।जसले जहा बाट सकिन्छ राज्यलाइ स्पस्ट नीति नियम एव योजना बनाउन र बाताबरण मिलाउन पहल गरौ जसले गर्दा परदेशमा आएका निष्प्राण नेपालीका शरीरहरू काठको बाकसमा कैद भएर घर फर्केर राहत खोज्न नपरोश । नया बर्षमा हाम्रो मृत्युको मूल्य बढ्यो भनेर हैन नयाँ सोच बनाएर नयाँ जीवनको सुरुवात गरौं ।मृत्युको मुल्य बढे पनि कसैले लिन नपरोश सवैको आयु बढोस , सवैको जिन्दगि जोगियोस । सुभ बर्ष !!!

1 comments

यो लेख मलाई धेरै मन परो र मैले मेरो म्यागेजिनमा पनि राखेको छु । कृपया तपाईलाई म्यागेजिन दिन चाहन्छु । मलाई सम्पर्क ठेगाना दिनु होला ।
Sunchandibazar@gmail.com, hipatmasik2072@gmail.com, prakash Samir 9851044231

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.