एन्ड्रोइड के हो त ?

एन्ड्रोइड शब्द हामीमध्ये धेरैले सुनेका छौं। धेरैजसो स्मार्टफोन एन्ड्रोइड स्मार्टफोनको नामले समेत चिनिन्छन्। एन्ड्रोइड एक प्रकारको अपरेटिङ सिस्टम हो। यो स्मार्टफोन चलाउन प्रयोगमा ल्याइन्छ। सन् २००७ मा पहिलो पटक यो सिस्टम प्रयोगमा आएको थियो। बिजनेस इनसाइडरका अनुसार सन् २०१४ सम्म आइपुग्दा एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइल फोनले ८० प्रतिशत बजार कब्जा गरेका छन्।

यद्यपि धेरैले एन्ड्रोइडलाई एउटा अपरेटिङ सिस्टमका रूपमा मात्र लिन्छन्, तर वास्तवमा यो एउटा कम्पनीको नाम हो, जसलाई सन् २००५ मा गुगलले किनेको थियो। एन्डी रुबिनलाई एन्ड्रोइडको जन्मदाता मानिन्छ। उनले नै यसको नाम राखेका थिए। गुगलले किनेपछि नै एन्डी र उनको टिमले यसलाई अपरेटिङ सिस्टम बनाउने कार्य प्रारम्भ गरेका थिए।

सन् २००७ को नोभेम्बर १२ मा एन्ड्रोइड बिटा भर्सन पहिलो पटक सार्वजनिक गरिएको थियो। यसलाई गेम्स, सफ्टवेयर र अन्य एप्लिकेसन चलाउन सफ्टवेयर प्लेटर्फमका रूपमा लन्च गरिएको थियो। सन् २००८ मा गुगलले एचटिसी र टि-मोबाइलसित मिलेर पहिलो एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन बजारमा ल्याएको थियो। यसको नाम एचटिसी डि्रम जीटु थियो। यद्यपि सन् २००९ मा मोटोरोलाको स्मार्टफोनमा २.० भर्सनको एन्ड्रोइड प्रयोगपछि मात्र यसको लोकप्रियता बढेको हो।

एन्ड्रोइडका विभिन्न भर्सनलाई अंग्रेजी अल्फाबेटका आधारमा नाम दिइएको छ। पहिलो भर्सन बिटा थियो भने त्यसपछि क्रमशः कपकेक, डोनटत, इक्लेयर, फ्रोयो, जिन्जरब्रेड, हनिकम्ब, आइसक्रिम स्यान्डविच, जेली बीन र किटक्याट आए। किटक्याट यसको पछिल्लो भर्सन हो।

कुनै पनि फोनमा प्रयोग गर्न सकिने अर्थात् ओपन अपरेटिङ सिस्टम भएकाले पनि एन्ड्रोइडको लोकप्रियता बढेको हो। परिणाम स्वरुप सबै कम्पनीले यसको प्रयोग गरेका छन्। गुगल आफैले भने सन् २०१० मा यही अपरेटिङ सिस्टम प्रयोग भएको नेक्सस वानलाई बजारमा ल्याएको थियो तर यसले खासै लोकप्रियता पाउन सकेन। यद्यपि त्यही नै गुगलका लागि बरदान सावित भयो। त्यसपछि नै सामसुङले ग्यालेक्सी सिरिजमा विभिन्न मोडलका एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन बजारमा ल्यायो। त्यसपछि जताततै एन्ड्रोइडको चर्चा हुन थाल्यो। सामसुङसित मिलेर गुगलले नेक्सस एसलाई बजारमा ल्यायो। त्यसमा एन्ड्रोइड जिन्जरब्रेड अपरेटिङ सिस्टम प्रयोग गरिएको थियो। यो स्मार्टफोनले पनि लोकप्रियता पायो।

सन् २०१० सम्म एप्पलले कब्जा जमाइरहेको अमेरिकी बजारमा चिन्ता छाउन थाल्यो। सन् २०११ सम्म आइपुग्दा एन्ड्रोइडले ब्ल्याकबेरीलाई उछिन्यो। सन् २०११ को नोभेम्बरमा एन्ड्रोइडको आइसक्रिम स्यान्डविच भर्सनको अपरेटिङ सिस्टम आएपछि त्यसलाई ट्याब्लेटमा पनि प्रयोग गर्न थालियो। त्यसपछि यसको बजारमा धेरै परिवर्तन आयो। सन् २०१२ मा एन्ड्रोइडकै बलमा सामसुङ पनि नम्बर वान कम्पनी बन्न सफल भयो। अहिले धेरै कम्पनीले एन्ड्रोइड मोबाइल फोन निर्माण गरेका छन् तर पनि धेरैको दिमागमा एन्ड्रोइड भन्नासाथ सामसुङको नाम आउँछ। सन् २०१४  सम्म आइपुग्दा धेरै कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन निर्माण गर्न थालिसकेका छन्।                   

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.