कम रक्तचाप र उच्च रक्तचाप किन हुन्छ ?

रक्तनलीमा रगत बग्दा रगतले रक्तनलीको भित्तामा दिएको दबाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ । जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ । क्रियात्मक रूपले स्वास्थ्थ व्यक्तिमा सिस्टोलक १००–१३० एमएमएचजी सम्म हुन्छ भने डाएस्टोलिक ६०–८५ एमएमएचजी सम्म रहन्छ ।  सामान्यतया सिस्टोलिक १२० र डाएस्टोलिक ८० लाई आदर्श रक्तचाप मानिन्छ । रक्तचापले यी मानविन्दु नाघेमा उच्च रक्तचाप र कम भएमा निम्न रक्तचाप भएकोे मानिन्छ ।उच्च रक्तचाप
उच्च रक्तचाप मुटु तथा रक्तनलीसँग सम्बन्धित रोग हो । संसारभर ३० वर्ष काटेका ३० प्रतिशत भन्दा बढी जनसङ्ख्या उच्च रक्तचापबाट पीडित छन् भने नेपालका ग्रामीण क्षेत्रमा बसोबास गर्ने १८ वर्ष काटेका २० प्रतिशत र सहरी क्षेत्रमा बसोबास गर्ने १८ वर्ष काटेका २५–३० प्रतिशत जनतालाई उच्च रक्तचाप छ । बदलिंदो जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो रोगको कारणले प्रत्येक वर्ष ९० लाख व्यक्ति मर्छन् । मुटु तथा कोरोनरी धमनी जस्ता रोगको मुख्य कारक, मस्तिष्कघात, मिर्गौला असफल हुने र दृष्टिनाश जस्ता समस्याको मूलजरो यस रोगलाई मानिएको छ ।
प्रकारः
उच्च रक्तचापलाई प्राथमिक (९४ प्रतिशतमा ) र द्वितीय (छ प्रतिशतमा) गरेर दुई समूहमा बाँडिएको छ । रोगको कारक तत्वको यकिन नभएका हुनाले प्राथमिक रक्तचापलाई कारणरहित(ईडीओपेथिक) उच्च रक्तचाप पनि भनिन्छ । रोगका खास कारण थाहा नभए पनि यो रोग आनुवंशिक, वातावरणीय अन्तरसम्बन्ध, जीवन शैली र व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको उपज हुन्छ ।  खासगरी ज्यादा तौल भएका, नुन ज्यादा खाने, श्रम तथा व्यायाम नगर्ने, सूर्तीजन्य तथा अन्य नशालु पदार्थको सेवन गर्ने, मादक पदार्थको सेवन गर्ने, क्लोरेस्टेरोलका समस्या भएका, खानामा रेसा र चोकर नलिने, टाइप ए व्यक्तित्व भएका, तनाव, चिन्ता, भय र उदासिनता भएकामा यस प्रकारको रक्तचाप ज्यादा देखिएको छ । द्वितीय उच्च रक्तचापको भने निश्चित कारण हुन्छन् । छ प्रतिशत मध्ये चार प्रतिशत मिर्गौला तथा रक्तनलीको खराबी, एक प्रतिशत अन्तस्रावी ग्रन्थी तथा हरमोनको गडबडी तथा र बाँकी एक प्रतिशतमा औषधिको दुष्प्रभाव कारक हुन्छ ।

लक्षणः
उच्च रक्तचाप भएकालाई लगातार टाउको दुख्ने (खास गरी पछाडिको भागमा), रिङ्गटा लाग्ने, चाँडै रिस उठ्ने, छाती दुख्ने, चक्कर लाग्ने, कान बज्ने, दृष्य धमिलिने, सास बढ्ने, निन्द्रा नलाग्ने, नाथ्री फुट्ने, सामान्य काम गर्दा पनि दम बढ्ने र विश्रामको अवस्थामा पनि मुटु ढुकढुक गरेको थाहा पाइने जस्ता लक्षण देखिन्छन् ।

जोखिमः
उच्च रक्तचाप आफैमा कुनै रोग होइन तर सयौँ रोगको कारक हो । यसका कारणले हृदयघात, मष्तिस्कघात, मिर्गौला असफल, नेत्रघात (दृष्टि गुम्नु), मुटु सुन्निने, रक्तनली तन्किने, फुल्ने तथा फुट्ने र मानसिक तथा भावनात्मक अस्वस्थता जस्ता समस्या आउन सक्छ । 
उपचारः
द्वितीय उच्च रक्तचाप नियन्त्रण गर्नको लागि यसका कारण पत्ता लगाएर आवश्यक उपचार विधि अपनाउनुपर्ने हुन्छ । प्राथमिक उच्च रक्तचाप भएकाले जीवनशैली परिर्वतन गर्ने तथा मुटुरोग विशेषज्ञको परामर्शमा रक्तचाप नियन्त्रक औषधि खानुपर्ने हुन्छ । जीवन शैली परिवर्तन नगरी औषधि मात्र लिँदा पनि रक्तचापलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिएको छैन ।

भोजन व्यावस्थापनः
उच्च रक्तचापबाट बच्नका लागि भोजन व्यवस्थापनको ठूलो महìव छ । भोजनको मात्रा भोज्य पदार्थको छनोट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधारमा हुन अति आवश्यक छ । 
१.    उच्च रक्तचाप भएकाले नुन तथा सोडियमयुक्त खाद्य पदार्थको पहरेज गर्नुपर्छ । दैनिक दुई ग्राम भन्दा ज्यादा नुन नखाने । 
२.    रक्सी तथा अन्य अल्कोहोलिक पेय पदार्थको सेवन गर्नुहँुदैन । 
३.    घिउ, नौनी, छाली, वटर र बोसो जस्ता जङ्गम स्रोतबाट पाइने चिल्लो पदार्थको सेवन गर्नु हुँदैन । सकेमा तेल रहित पाककला सिकेर तेल रहित खानेकुरा खाँदा राम्रो । 
४.    उच्च रक्तचाप भएकाले पूर्ण शाकाहारी हुन जरुरी छ । 
५.    नदेखिने चिल्लो पदार्थका स्रोतहरू बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलीय फल खानु हँुदैन । 
६.    तौल ज्यादा भएकाले कम क्यालोरी भएका खाना खानु पर्दछ । 
७.    पेटभरी ठुसी–ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणका लागि खाली छोडिदिनु पर्छ । 
८.    अजिनोमोटो, सोडियम वाइकार्बोनाइड र सोडियमबेन्जोएट जस्ता बेकिङ पाउडरको प्रयोग मुटु तथा रक्तचाप मैत्री होइन । 
९.    खानामा रेसा र चोकरयुक्त खाद्यान्नको समायोजन हुन जरुरी छ । 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.