रिसलाई त्यागौं, शान्त होऔं र जीवनको मज्जा लुटौं

कसैको साना साना कुरामा पनि झनक्क रिसाउने बानी हुन्छ । यदि तपाई धेरै रिसालु स्वभावको हुनुहुन्छ भने तपाईलाई त्यसको असर प्रत्यक्ष रुपमा पर्ने देखएको छ । रिस भनेको मानिसमा सामान्य रूपमा हुने उद्वेग हो । यदि यसलाई नियन्त्रण गरिएन भने यसले अरूलाई होइन, आफैंलाई हानि पुर्‍याउन सक्छ। रिसाइहाल्नुअघि एकछिन सोच्ने बानी गर्नुपर्छ। यसो गरेको खण्डमा केटाकेटीलाई पिट्ने, घरेलु झगडा तथा अरू सामाजिक समस्या कम गर्न सकिनेमात्र होइन, आफ्नै स्वास्थ्यलाई पनि असल हुन्छ। रिसले उद्वेलित हुने वा एकदम झडंग रिसाउने जस्तो जुनसुकै व्यवहार पनि हाम्रो हृदयरोग र रक्तसञ्चार प्रणालीका निम्ति खतरनाक हुन्छ भन्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। यी अनुसन्धानहरूले रिसको हृदयाघात र पक्षाघातसँग परस्पर सम्बन्ध रहेको जानकारी दिएका छन्।
आफूलाई एकदमै रिस उठेको बेला सम्झनुहोस् त ! रिसाएको बेला तपाईंको मुटुको चाल एकदम छिटो हुन्छ, मुख रातो हुन्छ । भनाइको तात्पर्य के हो भने रिसाएको बेला तपाईंमा हुने शारीरिक परिवर्तन यहीँ नै हो । तपाईंको मुटुको चाल बढ्नाले र दाह्रा किट्ने गर्नाले रक्तचाप बढ्छ ।
यी सबै प्रसंगहरू तपाईंलाई रक्तचाप बढाउने कारक तत्त्व बन्छन् र उच्च रक्तचाप पक्षाघात गराउने मूल कारण पनि हो । रिसाएको बेला मानिसको मुटुमा अक्सिजन परिपूर्ण भएको रगत आपूर्ति गर्ने धमनी साँघुरिन्छ र त्यसले गर्दा रगत बाक्लिएर लेसाइलो हुन जान्छ। अनि खतरनाक रूपमा जम्ने सम्भावना हुन्छ, जसले गर्दा हृदयाघात वा पक्षाघात हुन सक्छ। त्यसैले यदि तपाईं कसैसित रिसाउनुहुन्छ भने त्यसले तपाईंलाई नै बढी हानि पुर्‍याउँछ भन्ने कुरा सम्झनामा राखिरहनुहोस्।
रिसाइरहने बानी अथवा झडंग गर्ने स्वभाव अँगाल्नाले तपाईंलाई नराम्रो खाना खाने, चुरोट तान्ने वा रक्सी सेवन गर्ने नराम्रा लततर्फ लैजाने धेरै सम्भावना हुन्छ, जसले केवल मुटुको रोग वृद्धि गर्नलाई मद्दत गर्छ। आफ्नो रिसलाई नियन्त्रण गर्ने तरिका सिक्नु वा जान्नुभयो भने यसले तपाईंमा पर्ने दबाबलाई कम गर्न मद्दत गर्छ। भन्ने नै हो भने यसले ज्यानसमेत बचाउँछ ।
रिस र हृदयाघात
झडंग रिसाउनु या रिसलाई लुकाउन खोज्नुभन्दा यसलाई बिस्तारै शान्त भएर प्रकट गर्नु अत्यन्त स्वस्थकर हुन्छ। ससाना कुरामा पनि झडंग रिसाउने या सधैंजस्तो रिसाइरहने व्यक्तिलाई मुटुको रोग लाग्ने वा हृदयाघात हुने खतरा बढी हुन्छ । रिस र स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ भन्ने कुरा अनुसन्धानहरूले देखाएका छन् । सन् २००४ मा गरिएको एक अध्ययनमा रिस तथा कुण्ठाले मुटुको चाल असामान्य तुल्याउँछ र आकस्मिक मृत्यु निम्त्याउन सक्छ भन्ने पाइएको छ ।
कमजोर मुटुलाई स्वचालनमा ल्याउने उपकरण शरीरभित्र प्रत्यारोपण गर्दा वैज्ञानिकहरूले शारीरिक तनाउले भन्दा मानसिक तनाउले व्यक्तिमा मुटुको गति असामान्य तवरले छिटो हुन जान्छ भनी पत्ता लगाएका छन् । मुटुको गति असामान्य गराउने एकमात्र कारण मानसिक तनाउ हो भनी बुझाउने यो पहिलो अध्ययन हो । अनुसन्धानकर्ताहरूले मुटुका गति असामान्य भएका व्यक्तित्वहरू पत्ता लगाउन भविष्यले मद्दत गर्नेछ भनी आशा राखेका छन् । मुटुको रोग बिस्तारै बढाउँदै लैजान रिसले महत्त्वपूर्ण भूमिका खेल्छ । आफ्नो रिस पोख्ने व्यक्तिलाई भन्दा भित्रभित्र रिस पाल्ने व्यक्तिलाई ७५ प्रतिशत बढी मुटुका धमनीको रोग हुने सम्भावना रहेको एक अध्ययनले देखाएको छ। रिस र उच्च रक्तचापको सम्बन्ध रहेकोबारे पनि अनुसन्धानहरूले देखाएका छन् ।
केही अरू अध्ययन अनुसार रिसको कम स्तर भएका व्यक्तिलाई भन्दा रिसको प्रचण्ड स्तर भएका व्यक्तिलाई तीन दोब्बर बढी हृदयाघात हुने वा छाती दुख्ने सम्भावना हुन्छ भन्ने छ । खासगरी रिस उठेको बेला केही कुरा फुटालौं वा कसैको टाउको फुटाऔँ भन्ने भावना उब्जने व्यक्तिहरूमा यो सम्भावना अझ बढी हुन्छ । समयको अन्तरालका साथै रिसका कारण नोक्सान पुर्‍याउने खालका असरहरू बढ्दै जान सक्छन् । सन् २००२ मा गरिएको अध्ययनले धेरै रिस चाहे त्यो लुकाइएको होस् वा प्रदर्शन गरिएको होस्, त्यसबाट बढेको तनाउ खपेका व्यक्तिमा हृदयाघात बढी भएको पाइएको छ । युवा मानिसमा सुरु गरी तिनीहरूको ४८ वर्षको उमेरसम्म जारी राखिएको हुनाले यो अध्ययन विशेष मानिएको छ।
रिस र रक्तचाप
रिससँगसँगै आउने शारीरिक परिवर्तन मुटुको गति छिटो हुनु र रक्तचाप बढ्नु हो । यो परिवर्तन क्षणिक हो तर लामो वा लगातार रिसाइरहने भयो भने यसले रक्तचापलाई उच्च बनाउन योगदान गर्छ । साधारणत: कम झगडालु व्यक्तिमा भन्दा बढी झगडालुमा रिसको तीव्रता हुने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। साथै यस्ता झगडालु मानिसमा रिस पनि लामो समयसम्म रहिरहन्छ। झगडा गर्न उद्यत् मानिसमा बढी र लामो समयसम्म रक्तचाप बढ्छ ।
रिस र पक्षाघात
रिस र पक्षाघातका बारेमा गरिएको अनुसन्धानले प्रकट नगरिएका रिस, विद्वेष तथा लामो समयदेखिको रिसभन्दा सोझो एवं शान्त तरिकाले व्यक्त वा प्रकट गरिएको रिस बढी स्वस्थकर हुन्छ भनेको छ । स-साना नकारात्मक व्यवहारले पनि हाम्रो मस्तिष्क तथा मुटुमा असर पार्छन् भनी अन्य अध्ययनले ध्यानाकर्षण गरेका छन् । उदाहरणका लागि एक अध्ययनले धेरै बिरामीहरूमा अध्ययन गर्दा धैर्य नभएका, करकरे तथा अरूलाई जित्न खोज्ने व्यक्तिलाई मुटु रोग र पक्षाघातको बढी जोखिम भएको पाइएको छ । त्यसैले रिसलाई त्यागौं, शान्त होऔं र जीवनको मज्जा लुटौं अनि स्वस्थ र दीर्घायु बनौं । यी सबै चिकित्सकका सुझाव हुन् ।
साभारः अन्नपूर्ण पोस्ट

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.