पेले खेलेको टीमविरुद्ध गोल गरेका एक नेपालीको फुटवलकथा


ब्राजीलमा जारी विश्वकप फुटबलको २० औै संस्करणको बाछिटा नेपालसम्म नआईपुग्ने कुरै भएन । रातविरात नभनी टेलिभिजनमा फुटबलको प्रत्यक्ष प्रसारण हेर्ने नेपालीको जमात सानो छैन । कतिपयले त लाखौं रुपियाँको बाजी समेत राख्ने गरेको समाचार आईरहेका छन् । आफूले समर्थन गरेको टीमको जति ठूलै गल्ती पनि राम्रो भन्ने र अर्काको टीम र समर्थकलाई खिस्युटिरी गर्नेहरू पनि देखिन्छन् ।
सबैभन्दा धेरै पटक विश्वकप विजेता बनेकाले हुनसक्छ ब्राजीललाई समर्थन गर्नेहरु पनि ठूलै संख्यामा छन् । अहिले २२ वर्षीय नेयमार ब्राजील समर्थकका हिरो हुन । यसअघि रोनाल्डिन्हो, त्यसअघि रोनाल्डो त्यो भन्दा पहिलेका हिरो थिए, पेले । वास्तविक नाम एडसन अरानटेस डो नास्सीमेन्टो भएन पनि संसार भरी उनी पेले नामले प्रसिद्ध भए । तिनै पेले खेलेको टीमविरुद्ध गोल गरेका एक नेपालीको फुटवलकथा यस्तो छ ।
श्याम थापा, फुटबल प्रेमीका लागि नौलो नाम होइन । सन् १९७० देखि १९७४ सम्म भारतीय राष्ट्रिय टिमका स्ट्राइकर रहेका थापा दक्षिण एसियामै चर्चित छन् । लामो समय इष्ट बङ्गाल क्लब र मोहन बगान क्लबबाट खेलेका थापा नेपालमै जन्मेका हुन भन्ने कुरा भने सबैलाई थाहा नहुनसक्छ ।
पारिवारिक पृष्ठभूमि भारतीय सैनिक भएका थापा सन् १९४८ मा गुल्मीको भार्सेमा जन्मेका हुन । लाहुरे परिवारका उनी १३ वर्षमा देहरादुनको गोर्खा स्कूलबाट सुव्रतो मुखर्जी कप खेल्न कोलकाता गएका थिए । १९६७ मा भारतीय सेनामा भर्ती समेत भएका उनी साढे दुई वर्षमै जागिर छाडेर इष्ट बङ्गाल क्लबमा अनुबन्धित हुन पुगे । जागीरलाई भन्दा फुटबलमा महत्वपूर्ण मान्ने उनी इष्ट बङ्गालमा १९७० देखि ६ वर्षसम्म खेले ।नेपाली राष्ट्रिय टीमले पहिलो पटक अन्तराष्ट्रिय फुटबल खेल्नुभन्दा एक दशक अघिको त्यो बेला थापाले प्रति सिजन भारु ४५ हजार पारिश्रमिक पाउँथे । थापाको चर्चा यति व्यापक थियो कि १९७७ मा ७० हजार भारु पारिश्रमिक लिने गरी मोहन बगानमा अनुबन्धित भए । क्लबहरूको तानातान र समर्थकहरूको भीडका कारण देहरादुनमा मोहन बगानसँग अनुबन्धतका लागि जाादा थापालाई प्रहरीको भ्यानमा लगिएको थियो । “बढी पारिश्रमिक भन्दा पनि फूटबलका बादशाह पेलेसँग खेल्न पाउने लालसाले मोहन बगानमा गएको थिएँ”, थापाले ओपेडपोष्टलाई भने, “त्यतिबेला अमेरिकाको कसमस क्लबबाट आएको पेलेको टीमसँग मोहन बगान भिड्दै थियो ।”
मोहन बगानबाट थापाले पेलेको टीमसँग खेल्ने भयो । मैदानमा २–१ ले पछाडि परेको मोहन बगानलाई थापाको गोलले बराबरीमा पुर्यायो, जुन उनको खेल जीवनको सबभन्दा सम्झ नलायक क्षण बन्न पुग्यो ।थापा जुनसुकै क्लबबाट खेल्दा २२ नम्बरको जर्सीमा हुन्थे । खेल सकिएपछि कुन खेलाडी मन प¥यो भनेर सोधिएको प्रश्नमा पेलेले ‘जर्सी नम्बर २२ इज द वेस्ट’ भनेपछि थापाको नाक घिरौलाको जत्रो भएको थियो रे ।
थापा स्ट्राईकर रहेका बेला भारतले एसियन गेमामा कास्य पदक जितेको थियो । १९७० को ब्याङ्कक् भएको एसियन गेममा कास्य पदक दिलाए बापत उनी अहिले मासिक भारु ६ हजार पेन्सन बुझ्रिहेका छन् ।
सफलता भित्र पीडा पनि
डीआईडी लिटल मास्टर्स–३ जितेकी ११ वर्षीय तेरिया फौंजा मगरको कारण चर्चामा रहेको रुपन्देहीमा पनि घर छ, थापाको । रुपन्देहीको मङ्गालपुरमा समेत घर भएका उनी अहिले कोलकातामा भारत सरकारले उपलब्ध गराएको घरमा बस्छन् । नेपाली भएर भारतका लागि खेल्दा उनले अपमानबोध पनि गर्नु प¥यो । १९७६ र १९७७ को हाइस्कोरर भएर पनि उनलाई १९७८ को एसियन गेममा छनोट गरिएन । त्यसअघिका दुई वटा एसियन गेममा लगातार खेलेको अनुभव भएका थापा टीमको कप्तानको एक मात्र हकदार थिए । “तर, एसियन गेम खेलेको टीम कप्तानलाई स्वतः अर्जुन पदक दिनुपर्ने भएकाले मलाई टीममै राखिएन”, उनी पीडा मिश्रित स्वरमा भन्छन् ।थापालाई राष्ट्रिय टीममा नराखेपछि चौतर्फी विरोध भएछ । जनताको दवाव थेग्न नसकेपछि क्लोज क्याम्पमा आउन पत्र पठाइयो तर थापा गएनन् । त्यतिबेला टीममा नफर्कनुलाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो गलत निर्णय ठान्छन् । सन् १९९० को विश्वकप हेर्ने बेलामा पनि उनले यस्तै निर्णय गरे । इटाली जान देहरादुनको जग्गा भारु २ लाखमा बेचेर कोलकाता पुग्दा सरकारी खर्चमा विश्वकप हेर्ने सूचीमै उनको नाम रहेछ ।
इष्ट बङ्गाल क्लबमा फर्किएको एक वर्षपछि १९८३ मा उनले सक्रिय खेलजीवनबाट विदा लिए । र, १९८५ देखि त्यही क्लबबाट सहायक प्रशिक्षकको रूपमा नयाँ करिअर शुरु गरे । त्यसको ६ महिनामा प्रशिक्षक भएर १९८७ मा लण्डनबाट डिप्लोमा इन कोचिङ गरे । त्यसपछि अल इन्डिया फूटबल फेडेरेसनमा प्रशिक्षक भए ।
१९९० देखि २००२ सम्म किशोर खेलाडी तयार गर्ने विलियम मेगर कम्पनीको परियोजना निर्देशक रहेका उनी २००४ मा प्रशिक्षक भएर नेपाल आउनु अगाडि मोहन बगानमा प्राविधिक निर्देशक थिए । नेपालमा उनी यु–१६, युथ–१९ हुँदै राष्ट्रिय टीमको प्रशिक्षक बने । माओवादी द्वन्द्व र एन्फा आफैं विवादमा फँसिरहेका बेला नेपाली फूटबलमा चाहे जति गर्न नसकेको थापा बताउँछन् ।
२००८ मा मोहन बगानमै पुगेका थापा त्यसपछि जमसेदपुरमा टाटा फूटबल एकेडेमीको प्राविधिक निर्देशक बने । अहिले कोलकाताको पाइलियन वल्र्ड स्कूलमा फिफाको युवा विकास कार्यक्रमका निर्देशक छन्, उनी । उनी नेपाली फूटबलको विकास नभएको भन्दा पनि कछुवागति भन्न रुचाउँछन् । उपयुक्त वातावरण बनाउन सके नेपाल फूटबलबाटै विश्वमा चिनिन सक्ने उनको आकलन छ ।
नेपाली राष्ट्रिय टीमका कप्तान सागर थापा, अनिल गुरुङहरूलाई थापाले कडा प्रशिक्षण दिएका थिए । नेपालमा आउँदा उनी कुपण्डोलको फ्रेन्डस् क्लबबाट खेल्थे । उनको बुझाईमा ब्राजीलमा भईरहेको विश्वकपबाट नेपालले सिक्नु पर्ने भनेको लामो तयारी र प्रर्याप्त योजना हो । थापा भन्छन्, “कम्तीमा ३० वर्षको योजना बनाएर अघि बढ्ने हो भने फूटबलबाटै नेपालको विश्व चिनारी सम्भव छ ।”

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.