भ्यालेन्टाइन डे : रोमान्टिक हुने कि रेस्पोन्सिबल हुने ? - गोपाल सिवा

माघ २९ ,  सामाजिक संजालमा केहि दिन देखि सबैतिर चकलेट बाड्ने , प्रोपोज गर्ने देखि गुलाब बाड्ने भीडसंगै मायाको मौसम सुरु भएको अनुभव गर्न थालिएको छ । भ्यालेन्टाइन डे आउनु एक साता अघि देखि सामाजिक संजालमा माया , प्रेमको चर्चा र ब्यक्त कसरी गर्ने, प्रस्ताव कसरी गर्ने भन्दै पहिलैदेखि सोचेर बसेका मन, मुटु र मस्तिस्कहरु  गुलाव दिवस ,प्रस्ताव दिवस , चकलेट दिवस ,टेड्डी दिवस , वाचा दिवस ,अङ्कमाल दिवस , चुम्मन दिवस , भ्यालेनटाइन दिवस भन्दै लहर र लहड संगै पोखिदै आएका छन । प्रणय , प्रेम र माया शब्दसंगै यस्ले आफ्नो प्रभावलाई रोमको चर्च देखि सामाजिक संजालको भिता भरि पोख्न सफल भएको छ । 
भ्यालेन्टाइन डेको इतिहास लाइ हेर्ने हो भने इस्वी सन् २६९ मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोही नलाग्ने र शान्ति सुरक्षमा खलल पुुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए । तर रोमका एक पादरी सेन्ट भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरे । आफ्ना साथीहरुलाई पनि प्रेममा उक्साए ।त्यसपछि तत्कालीन शासकले उनको टाउको काटेका थिए । यसरि भ्यालेन्टाइन डेको नाममा रोमबाट फैलिएको यो दिवस अहिले विश्वभर मनाउने गरिन्छ । त्यस्तै गरि विकिपिडिया राखिएको जानकारी अनुसार मायाको परिभाषा हेर्ने हो भने माया भनेको कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो भनिएको छ । पशुहरूले पनि अनुभव गर्ने माया भन्ने कुरा दिमाग भित्र हुने फेनीलेथीलेमिन  केमिकलले  दिमागभित्र रसायनिक प्रतिकृया गरे संगै मायाको अनुभव उत्पन्न हुने कुरा उल्लेख छ  । 
मायाको परिभाषा जे भनेर राखिएको भए पनि र सेन्ट भ्यालेन्टाइनले जे जे भनेर उबेलामा उक्साएको भए पनि अहिले सम्म हामीले माया प्रेमको कुनै सिमा नभएको , माया–प्रेमलाई उमेरले , जातले,  रूपले, भौगोलिक दूरीले छेक्न नसकेको देख्दै सुन्दै भोग्दै आएका छौ ।त्यसैले पनि मायाको परिभाषा दिन जो कसैलाई पनि कठिन छ । यधपी माया कुनै निश्चित समयमा गर्नुपर्छ भन्ने बाध्यता हुँदैन । न त योग्यता, विज्ञताको आवश्यकता नै पर्छ । जो कोहि माया गर्न स्वतन्त्र छ । यहि स्वन्तन्त्रताले गर्दा होला हाम्रो नेपाली समाजमा हुर्किएको मायाको जगमा सोच विचार नै नगरीकन एउटा पक्षलाई मात्र हेरिएर गरेको अपवाद बाहेकका यस्ता माया प्रेमहरु दिगो र सफल हुन नसकेको विविधता देखिदै आएको छ । हाम्रो समाजमा धेरैलाई यो मायाले जिवन पनि सफल पारिदिएको छ त धेरैलाई माया ले नै जिन्दगि पनि बर्बाद बनाई दिएको धेरै उदाहरण जीवित छन  । बनावटी र देखावटीका मायाको साथ अनि नामको मात्र मायाको साथ पनि नेपाली समाजमा धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको छ । मायालाई विश्वास र पूजा गर्न सक्ने सही साथहरुले यहाँ हाँसेको छन्, जितेका छन्,समाजलाई चुनौती दिदै मायाको झण्डा नि फहराएका छन्  र जीवनमा सफलता पाएको उदाहरण पनि प्रशस्त छन् । एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरू भित्रभित्रै दुखेका छन् । एक आपसमा सम्बन्ध निरन्तर हुन नसकेपछी मायामा आफुलाई शहीद बनाएका पनि धेरै सत्य घटनाहरु छन् । फेरी पनि विचार मिले पछि , मन मिले पछि पहिला माया एकतर्फी भएको र  मन परे पछि मात्र माया गर्नेबीचमा कुराकानी पछि गाढा भएको सुनिदै आएको मायाको अनुभव धेरैको एकै भए पनि अपवाद छाडेर मायाको सम्बन्धहरु नेपाली समाजमा भर परेका छन भन्दा फरक पर्दैन । नेपाली समाजमा व्यक्ति र व्यक्तिको सम्बन्ध हेरी मायाको परिभाषा मान्छेपीच्छे फरक फरक छन । मन मिलेपछि प्रेममा गाँसिएका सम्बन्धहरुको अघि समाज र परिस्थिति चुनौती बनेर उभिदा आफै समय टिक्न नसकेका र कतिले बितण्डा समेत मचाएका कैयौं उदाहरण हाम्रा सामु सार्वजनिक भएका छन् ।
नेपाली समाजमा यस्तै बितण्डा मचाएका केहि मायाहरु सम्झिनु पर्दा सत्य तथ्य जे भए पनि देवयानीलाई बिबाहको बचन दिइसकेका तत्कालिन युवराज दीपेन्द्रले देवयानीसँगको मायाको सम्बन्ध टुटाउने परिवारको निर्णय पछि आफ्नै बंश नास गरेको र आफूले पनि आत्महत्या गरेको अहिले सम्म चर्चा छ । मायाकै कारण अजित मिझार मारिएको मारियै भए । आफ्नो मायाले सामाजिक मान्यता नपाउने भएपछि केहि दिन अघि मात्र कनकाई नगरपालिका–७ स्थित विरिङ खोलानजिकै २३ वर्षीया अस्मिता तोलामी (सार्की) र उनकै छिमेकी २५ वर्षीय ईश्वर भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरे। काम गर्ने सिलसिलामा तीन वर्ष अघि कुवेतमा भेटिएर अन्तिम श्वाससम्म सँगै बाँच्ने र सँगै मृत्युवरण गर्ने कसम खाएका धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट नपा-५ की २७ वर्षीया तुलसा सापकोटाको मायामा शंकाले बिजारोपण गर्दा बर्षौको माया एक बोतल एसिडले केहि दिन अघि मात्र खरानी बनाएको खबर पढियो  । यी घटना त प्रतिनिधि घटना मात्र हुन यधपी यी घटनाका बारेमा सुन्दा मान्छे त निर्दयी हुन्छन् हुन्छन्, माया पनि यति सार्हो निर्दयी र निष्ठुरी हुदो रैछ र भन्ने लाग्न सक्छ । 
फेरी पनि संसार माया मै अडिएको छ ।  माया प्रेम भनेको कसैलाई जीवनभरी साथ राख्ने अटुट नाता हो । मीठो अनुभुति हो र यो अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो ।अहिले  प्रविधिको बिकास संगै मान्छे आफुलाई कसैलाइ माया गरेको र गर्छु भनेर सुन्न र सारा दुनियाँलाइ थाहा दिन चाहन्छ । सकारात्मक नकारात्मक जे भए पनि आफ्नो सँस्कृति ,रितिरिवाज चाडपर्वको केहि हेका नगर्ने तर बिदेशीहरुको नयाँ वर्ष, चाड पर्वमा आफुले माया गरेको व्यक्ति लाई शुभकामना दिँदा मात्रै माया गरेको कदापि हुदैन ।  आफ्नै कला र सस्कृतिका धनि हामि पश्चिमाहरुसँग सास्कृतिक नाता नभए पनि केवल सामाजिक संजालमा देखाउनेको नाममा भेलाईइन्टाइन डे भन्दै  पोखिनु हाम्रो सस्तो मानसिकता हो  , कृत्रिमपन हो  ।  माया दर्साउने वा ब्यक्त गर्ने तरिका भ्यालेनटनइन डे मन पर्ने र ब्यक्त गर्ने पश्चिमाहरुलाई जस्तो विकृति, विसंगति र गलत संस्कार हाम्रो नेपाली समाज र संस्कारमा पाच्य हुदैन । 
हाम्रो नेपाली समाज र संस्कारमा यस्तो प्रभाव र असर बारे बुझेर जानेका भए पनि प्रेमी-प्रेमिका भएकाहरू आफ्नो प्रेमलाई थप मजबुत बनाउने तरखरमा होलान् अहिले भने प्रेमी या प्रेमीका नभएकाहरू भ्यालेन्टाइन डे बाटै प्रेमि-प्रेमीका बनाउने या आजसम्म राख्न नसकेको प्रेम प्रस्ताव राख्ने सुरमा रहेका होलान् । मन परेको ,माया गरेको मान्छेलाई बेलैमाथि कि भन्न सक्न पर्छ कि मायाको अनुभुति दिलाउन सक्नुस  । यसरि प्रस्ताव गर्न भ्यालेनटाइन डे दिवसहरुको बहाना खोज्नु र कुर्नुपर्छ भन्ने पनि छैन ।कसैलाई माया गर्नु हुन्छ भने साँचोमाया गर्नुहोस निस्वार्थ माया गर्नु होस । मनपरेका सबै आफनै हुनुपर्छ भन्ने पनि छैन र गुमाउनु नै पर्छ भन्ने पनि छैन । प्रेमलाई जीवन जिउने आधार मान्नेहरु र प्रेमलाई पूजा गर्नेहरु अहिलेको पुस्ता पुरानो पुस्ता भन्दा बढी नै रोमान्टिक छ । तर, यहो भन्दैमा जीवनमा रोमान्टिक भएर मात्र पुग्दैन, रेस्पोन्सिबल पनि हुनुपर्छ । त्यसैले प्रेमको अर्थ बुझेर ,अर्को पक्षको भावना बुझेर प्रेम गर्नुहोस । यदि साच्चिकै हृदयदेखिनै माया साँचो र चोखो माया गरेको छ भने पाउनु र गुमाउनुमा केहि फरक पर्दैन । किनकि  तपाईले गरेको साँचो र चोखो मायाको अस्तित्व तबसम्म रहिरहेको हुन्छ जबसम्म उसप्रति तपाईको माया प्रेम रहिरहन्छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.