किन आत्महत्या गर्न उद्दत हुदैछन नेपाली चेलीहरु ?- गोपाल सिवा

डोल्मा शेर्पा,कुमारी योञ्जन, दोल कुमारी,पार्वती थारु,शोभा तामाङ,अनिशा विकको कारुणिक भोगाइको साक्षि बनेको नेपाली समुदायले गत साता नाम नखुलेको एक नेपाली चेलीले कुवेतको साद अल अब्दुल्ला इलाकामा झुन्डिएर आत्मा हत्या गर्न खोज्दा लडेर घाइते भएको र कुवेतको फाहिलमा एक नेपाली घरेलु महिला कामदारका रुपमा कार्यरत करिब ३० बर्षिय नेपाली चेली सुनिता राइले आत्महत्या गरेको खबर सुन्न पर्यो । यस अघि पनि कुबेत सहित खाडी मुलुकमा घरेलु महिला कामदारका रुपमा कार्यरत धेरै नेपाली चेलीहरुले आत्महत्या गरि सकेका छन । आत्महत्या कायरको हतियार हो भन्ने बुझ्दा बुझ्दै बहादुर नेपाली चेली बीच किन आत्महत्याका घटना मौलाई रहेको छ त ? घरेलु कामदारका लागि खाडी आएका नेपाली चेलीहरु किन आत्महत्या गर्न उद्दत हुदैछन  ? 
२०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्या २ करोड ३४ लाख ९५ हजार ४ सय ४ रहेकोमा महिलाको जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४६३ अर्थात अर्थात ५१.५०५ प्रतिशत हिस्सा ओगटेका महिलाहरू छन् । एकातिर परम्परागत विश्वास एवं संस्कृतिको कारण महिलाहरूको कम उमेरमा विवाह गरिदिएर तथा उनीहरूलाई उचित शिक्षा प्रदान नगरेर झन् झन् निर्धन बनाउने कार्य भइरहेको छ भने अर्को तिर देशले महिला शिक्षामा बढी जोड दिए पनि नारी–अधिकारहरूको सम्मान गरे पनि, रास्ट्रको सर्वोच्च निकायहरुमा महिला पुगे पनि तुलनात्मकरूपमा द्रुततर गतिमा समग्र महिलाको प्रगति हुन् सकेको छैन । फलस्वरूप स्वदेशमा काम गर्ने वातावरण र लगानीका लागि पुँजी भएन भन्दै, परिवारको आर्थिक अवस्था सुधार गर्ने भन्दै , परिवारप्रतिको आफ्नो जिम्मेवारी बोध गरेर ठूलो संख्याका युवायुवती दिनहुँ विदेश पस्नु आमनेपालीका लागि दिनचर्या नै भै सकेको छ । सरकारको वैदेशिक रोजगार ऐन २०६४ को दफा ८ अनुसार लिंगका आधारमा वैदेशिक रोजगारीमा विभेद नगर्ने उल्लेख छ । जसले गर्दा महिला पुरुष सवैलाई कामको खोजीमा विदेश जाने ढोका खुला गरेको छ ।यहि खुला ढोका बाट हाल नेपाली महिलाहरु इजरायल, लेवनान, कुवेत, कतार, युएइ, बहराइन, मलेसिया, साउदी अरेबियामा हजारौको संखयामा नेपाली महिलाहरु कार्यरत छन । नेपाली महिलाका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुक पनि यिनै हुन् । नेपालबाट बाहरिने अधिकांश महिलाहरु घरेलु कामदारका रुपमा विदेश जाने गरेका वैदेशिक रोजगार विभागले जनाएको छ । विशेषगरी ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरु खाडी मुलुक जान इच्छुक देखिने गरेका छन् ।सन् २००७ देखि बैदेशिक रोजगार बिभागले भने खाडी क्षेत्रमा काम गर्न जाने नेपाली महिला कामदारको तथ्यांक राख्न थाले पनि अहिले सम्म खाडी क्षेत्रमा करिव तिन लाख भन्दा बढी नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत रहेको अनुमान गरिएको छ ।
घरेलु कामदारका रुपमा कार्यरत नेपाली महिलाहरु मध्ये अहिले सम्म गरिबी, प्रेममा असफलता, श्रीमान÷श्रीमतीबीच झगडा, पारिवारिक कलह, वैदेशिक रोजगारमा असफलताजस्ता कारणले धेरै नेपाली महिलाले आत्महत्या गरेको अनुमान गर्न सकिन्छ । आफू काम गर्ने घरपरिवारले दिने पीडा सहन नसकेर र विभिन्न किसिमका घरेलु हिंसाका कारण घरेलुु कामदारको रूपमा कार्यरत नेपाली महिलाहरुले आत्महत्या गर्न बाध्य हुने गरेका अनुमान गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्छ ।अझ आत्महत्या गर्ने नेपाली महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । महिलासम्बन्धी काम गर्ने राष्ट्रसंघीय निकाय युएन विमनका केहि बर्ष अघिको रिपोर्ट अनुसार कतार, साउदी अरेबिया, युएई र कुवेतमा कार्यरत सयौ नेपाली महिलाले आत्महत्या गरेको र हजारौ नेपाली महिला कामदारलाई दयनीय अवस्थामा उद्दार गरिएको उल्लेख छ ।घरेलु महिला कामदारका रुपमा खाडीमा काम गर्न गएका धेरैजसो नेपाली महिलाहरुले चरम यातना सहनुपरेको छ भने खासगरी अबिबाहित नेपाली चेलीहरुमाथि रोजगारदाताबाट शारीरिक शोषण हुने दर निकै उच्च रहेको र रोजगारदाताको शारीरिक शोषण पछि गर्भ बोकेर घर फर्किएको समेत अध्ययनमा उल्लेख छ ।

बिगत देखि हेर्ने हो भने वैदेशिक रोजगारमा आएका अप्रवासी नेपाली मध्ये आत्महत्या गर्नेमा महिलाको संख्या उल्लेख्य छ ।आत्महत्या गर्नुलाई कायरता मानिए पनि आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो र डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । घरेलु कामदारको रुपमा कार्यरत नेपाली महिलाका हकमा घरेलु हिंसाका कारण आत्महत्या हुने गरेका घटनाहरु बढी सुनिन्छ । यसका बाबजुद महिला आफैले आफूलाई कमजोर ठान्ने प्रवृति, कुनै अप्ठ्यारो पर्दा अब केही गर्न सकिंदैन भन्ने साेंचाई र अफ्ठेरो पर्दा अन्य कुनै विकल्प र बाटो नदेखेपछि पनि आत्महत्या गर्ने गरेको अहिले सम्म अनुमान गरिदै आएको छ । हाउसमेडको रूपमा काम गर्न जाने नेपाली कामदार पटकपटक ठगिने, शारीरिक यातना तथा शोषणमा पर्ने, पारिश्रमिक नपाउने र बढी समय काम गर्नुपर्ने समस्या बढी उजागर भए पछी सरकारले पटकपटक हाउसमेडको रूपमा कामदार विदेश जान प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धले एकातिर संविधानले नै महिला र पुुरुषबीच विभेद गर्न नपाइने व्यवस्था गरेकाले घरेलु कामदारको रूपमा जाने महिलालाई रोक लगाउनु अन्यायपूर्ण हुनेछ भने अर्को तिर वैदेशिक रोजगारीमा गएका महिलामाथि शारीरिक, मानसिक, आर्थिक शोषणका घटना बढ्दो छ ।खाडी क्षेत्रमा पुग्ने अबिबाहित र कलिलो उमेरका नेपाली महिला बढी मात्रामा यौन शोषणमा पर्न थालेपछि सरकारले कम उमेरका महिला शोषणमा नपरुन भन्ने उद्देश्य ३० बर्ष उमेर पुगेपछि मात्र खाडी मुलुकका घरेलु कामदारका लागि जान पाइने नियम समेत लगाएको छ । अनुमति नलिई कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाउँदा ३ देखि ७ वर्षसम्म कैद हुने वैदेशिक रोजगारी ऐन २०६४ ले व्यवस्था समेत सरकारले गरेको छ भने मानव बेचबिखन गरेकालाई २० वर्षसम्म कैद हुनुका साथै आरोप खण्डन गर्ने दायित्वसमेत पीडकको हुने मानव बेचबिखनसम्बन्धी ऐनमा व्यवस्था छ । तर पनि आज सम्म पनि मानव तस्कर वा एजेन्टमार्फत भारत हुँदै महिला कामदार खाडी पठाइरहेका छन् ।
केहि अघि माइती नेपाल द्वारा आयोजित कार्यक्रममा विभिन्न मुलुकबाट उद्धार गरी ल्याइएका दश महिलाले आफूहरुलाई विभिन्न प्रलोभनमा पारी विदेशमा लगी श्रम शोषण र शारीरिक शोषण गर्ने गरेकोे,अर्काको राहदानीमा गएको, गएलगत्तै राहदानी साहुले जफत गर्ने गरेको, उमेर नपुगेकाको पनि उमेर बढाएर राहदानी बनाएको, काम गर्दा पारिश्रमिक नपाएको, बलजफ्ती यौन शोषण लगायतको कार्य गरिएको जानकारी दिएका थिए । यी र यस्ता अनेकौ सार्वजनिक भएका कमि कमजोरी र समश्याहरुको अध्ययन एव वैदेशिक रोजगारमा आएका अप्रवासी नेपाली महिला कामदारलाइ आत्महत्या गर्न बाध्य पार्ने , हिंसालगायत मानविय कारणबारे प्रभावकारी अनुसन्धान होस । वैदेशिक रोजगारीमा गएका महिला जोखिममा परेको खण्डमा कसरी उद्धार गर्ने र जोखिममा पार्ने रोजगारदातालाई कसरी कानुनी कठघरामा ल्याउने भन्ने रोजगारदाता देश संग अन्तरक्रिया छलफल यकिन सरकार बाट होस । आत्महत्याको कारणबारे अनुसन्धान गरेर मानविय कारक भए आत्महत्या गर्न बाध्य पार्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन र अन्य कारण भए वैदेशिक रोजगारमा अब आउने महिला तथा पुरुषलाइ सचेत गराउने र आत्मनिर्भर बनाउन नेपाल सरकार बाट केहि गरियोस । घरेलु कामदारमा महिला पठाउनुअघि सम्बन्धित देशसँग अनिवार्य श्रम सम्झौता होस् , वैदेशिक रोजगारीमा ठोस मापदण्ड बनाएर मात्रै महिला कामदार पठाइयोस र राजदुतावास बाट घरेलु कामदारमा आउने नेपाली महिला कामदारको त्र्रैमासिक भए पनि प्रतिबेदन राखियोस् र महिला श्रमसहचारीको ब्यबस्था गरि नियमित जानकारी राखियोस ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.