मणिपुरकी 'आइरन लेडी'को १२ वर्षदेखि भोक हडताल

उनको शरीर हेर्दा कमजोर र चमक गुमाएको देखिन सक्छ । तर, उनको आत्मविश्वास र प्रतिबद्धता भने १२ वर्षदेखि उस्तै छ । मणिपुरकी 'आइरन लेडी'को उपमा पाएकी उनी हुन्- भारत, मणिपुरकी मानवअधिकारकर्मी आइरोम शर्मिला चानु (४०) । सन् २००० को नोभेम्बर २ मा आसामका राइफल म्यानहरूले १० जना सर्वसाधरण नागरिकहरूको गोली हानी हत्या गरेको केही दिनपछि उनले भोक हडताल सुरु गरेकी हुन् ।
मणिपुरबाट आम्र्ड फोर्सेज स्पेसल पावर एक्ट (एफएसपीए) को पूर्ण खारेजी र सरकारी सेनालाई त्यहाँबाट फिर्ता नगरुन्जेल अनशन नतोड्ने उनको प्रण छ ।
'बायोलजी' पत्रिकाका अनुसार एफएसपीएले सुरक्षाकर्मीलाई बिनावारेन्ट गिरफ्तार, खोजी र सम्पत्ति नष्टसहित शंकामात्रै लागेमा पनि गोली प्रहार र मार्नसमेत अधिकार दिएको छ । मणिपुरमा सन् १९८० देखि यो ऐन लागू छ ।
उनले अनशन थालेको केही दिनमा पेनल कोडको सेक्सन ३०९ अन्तर्गत 'आत्महत्याको प्रयास' गरेको आरोपमा गिरफ्तार भइन् र उनलाई जेलमा राखियो । धरौटीमा रिहा हुन र अनशन तोड्न गरिएको प्रस्तावलाई शर्मिलाले अस्वीकार गरिन् । अदालतले बेलाबेलामा उनलाई छोड्ने काम गर्‍यो । तर, हरेक पटकको रिहाइसँगै उनी भोक हडताललाई जारी राख्छिन् र पुन: सुरक्षाकर्मीको गिरफ्तरीमा पर्दै आएकी छन् । खाना खान इन्कार गरेपछि हाल उनलाई नाकबाट पाइप घुसारेर खाना शरीरमा पठाउने गरिएको छ ।
शर्मिलाको उदाहरण राजनीतिक परिवर्तन चाहनेका लागि शक्ति र प्रेरणादायी भए पनि उनले अहिलेसम्म सफलता पाउन भने सकेकी छैनन् । उनलाई जुन कानुनअनुसार नियन्त्रणमा लिइएको छ, त्यसले एक वर्षमात्रै हिरासतमा लिन अनुमति दिन्छ । त्यसपछि पुन: छोड्नुपर्छ । आमरण अनशन तोड्न राजी नभएपछि पुन: उनलाई हरेक १५ दिनमा हिरासतमा राख्ने अवधि थप्न अदालत लाने गरिएको छ । 'राज्य सरकार र ६० विधायकहरूले उनको संघर्षलाई नियालिरहेका छन् तर ऐन खारेज गर्न कुनै पहल गर्न सकेका छैनन,' उनका दाजु आइरोम सिंघजितले वान इन्डिया न्युजसँग भने, 'उनीहरूको यस्तो रवैयाप्रति हामीलाई चित्त बुझेको छैन ।'
सन् २००६ को अक्टोबरमा जेलबाट मुक्त भएपछि नयाँ दिल्लीमा दाजु र अन्य अधिकारवादीसँगै पुगिन् उनी । प्रचण्ड गर्मीमा दिल्लीको सडकमा उनले गरेको अनशनको सुनुवाइ हुने अपेक्षा थियो । तर, कुनै मिडियाले त्यसलाई स्थान दिएनन् । उल्टै सोही वर्ष अक्टोबर ५ मा नयाँ दिल्लीस्थित जन्तरमन्तरमा आवरण अनशन बस्दा आत्महत्याको प्रयास गरेको आरोप लाग्यो । उनले त्यसलाई अस्वीकार गर्दै आएकी छन् । त्यो मुद्दा हाल अदालतमा पुगेको छ । आफ्नो बचाउमा शर्मिलाले अदालतलाई दिएको जवाफ छ, 'मैले आत्महत्याको प्रयास गरेकी छैन । यो मेरो विरोध जनाउने तरिका हो र म अहिंसात्मक माध्यमबाट विरोध गरिरहेको छु ।'
'तेहल्का' म्यागजिनका अनुसार दिल्लीबाट सन् २००७ मा मणिपुरमा फर्किएपछि उनी पुन: गिराफ्तारीमा परिन् । सोही वर्ष अपि्रलमा १ लाख २५ हजार अमेरिकी डलर पुरस्कार राशिको 'ग्वाङ्जु प्राइज फर ह्युमन राइट्स' बाट सम्मानित पनि भइन् । पुरस्कारको रकम उनले मणिपुरमा मानवअधिकार उल्लंघनकर्ताबाट सिकार भएकाहरूलाई चन्दा दिइन् । यस्तै, सन् २०१० मा उनले रवीन्द्रनाथ टैगोर पिस प्राइज पनि प्राप्त गरिन् । सोही वर्ष उनले 'फ्र्यागरेन्स अफ पिस' नामको कविता संग्रहसमेत निकालिन् ।
सन् २००५ मा भारतीय फिल्म निर्माता कविता जोशीले उनीसँग अन्तरवार्ता लिँदै शर्मिलाबारे 'टेल्स फ्रम दी मार्जिन नाम'को डकुमेन्ट्री बनाइन् । त्यसमा उनले शर्मिला को हुन् र कसरी उनले केही नखाई लगातार अनशनमा बस्दै आएकी छन् भन्ने देखाएकी छन् ।  
न्यायिक हिरासतमा रहेकी शर्मिलाको नाकमा घुसारिएको पाइपसँगै पछ्यौराले बेरिएकी पातलो शरीर देख्दा जो कसैको आँखा रसाउन सक्छ । तर, आजसम्म त्यसले कसैको मन भने पग्लिएजस्तो देखिन्न । 'अन्यथा, १२ वर्षसम्म एउटा व्यक्ति खानपानबिनै हडतालमा बस्दा कसरी राज्य, अधिकारीहरू, राजनीतिज्ञ, प्रशासक कसैले उनीप्रति ऐक्यबद्धता जनाएनन् र सबै टुलुटुलु हेरेरै बसे ?' उनीप्रति साहनुभूति राख्नेहरूको भनाइ छ । सम्भवत: यो संसारकै लामो अनशन हो । अझै उनले अनशन तोड्ने संकेत दिएकी छैनन् । भन्छिन्, 'यसरी नै म प्राण त्याग्न तयार छु ।' सरकारले आफ्नो मागको सुनुवाइ नगरेकोप्रति उनको गुनासो छ, 'सरकार किन सेनासँग डराइरहेको छ ? किन जनताको हितमा हुने निर्णय लिन सक्दैन ?'
'दी इन्डिपेन्डेन्ट'का अनुसार विभिन्न समूहले सुरु गरेको पृथकतावादी आन्दोलनका कारण मणिपुर पाँच दशकदेखि हिंसाबाट प्रभावित छ । त्यसलाई सामना गर्न सरकारले दसौं हजार सुरक्षाकर्मी परिचालन गर्दै आएको छ । ती सुरक्षाकर्मीलाई मानवअधिकार उल्लंघनको व्यापक आरोप लाग्ने गरेको छ । मणिपुरमा हिंसाबाट कतिजनाको ज्यान गयो र कति मानवअधिकार उल्लंघनका घटना भए भन्ने विश्वासनीय तथ्यांक अभाव छ । साउथ एसिया टेरोरिज्म् पोर्टलको दाबीअनुसार सन् २००१ देखि २०१३ को जनवरीसम्म यहाँ ८ सय ५४ सर्वसाधारण, ३ सय ३० सुरक्षाकर्मी र १ हजार ९ सय ९ 'आतंककारी' गरी ३ हजार ९३ जनाले ज्यान गुमाइसकेका छन् । करिब २५ लाख जनसंख्या रहेको मणिपुरमा सन् १९८० यता मात्रै कम्तीमा १२ विद्रोही समूहसँग संघर्ष गर्दै आएको बीबीसीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.