काँधको जोर्नी दुखाइको समस्या-डा. क्षितिज बराकोटी

काधको जोर्नी दुख्ने समस्या प्रायलाई  हुने रोग हो । एक वा दुवै काँधको जोर्नीमा दुखाइ एकसाथ वा पालैपालो आउन सक्छ । यो समस्याले कतिपयलाई जटिल अवस्थासम्म पनि पुर्याउँछ । काँधको जोर्नी दुखाइको समस्यामा काँध र वरपरको भाग सुन्निने, अररो हुने, हात चलाउन वा हातले गर्नुपर्ने काम गर्न कठिनाइ हुने, गर्दन, टाउकोलगायत पिठ्यूँमा पनि दुखाइ हुनेजस्ता लक्षणहरू देखा पर्न सक्छन् । कतिपयलाई हात माथि उठाउन र हात हल्लाएर हिँड्न, सुत्न, नुहाउन, लेख्न, कम्प्युटर चलाउन, एक–दुई किलोग्राम तौल उठाउन पनि गाह्रो हुन्छ ।

दुख्नुको कारण र त्यसको असर
शरीरको सबैभन्दा चलायमान जोर्नीहरूमध्ये काँधको जोर्नी पनि एक हो । अझ खेलकुद गर्दा, दौडँदा बल पर्ने काम गर्दा  र शारीरिक स्थिति गडबडीको अवस्थामा यसमा बढी बल पर्छ । कुनै कामको बोझ, चोटपटक वा कुनै रोगले काँधको जोर्नीमा असर परेमा त्यहाँको हाड–जोर्नी सुन्निने वा संक्रमण हुने, टेन्डन (मांसपेशीसूत्र) तथा लिगामेन्टहरू च्यातिने वा संक्रमण हुने, छाला तथा मांसपेशी बन्धन वा पेशीसूत्रभित्र हुने तरलयुक्त मसिना थैलाहरू सुन्निने भएमा समेत काँधको जोर्नी र वरपर समस्या देखिन्छ ।

उमेर ढल्कँदै गएपछि हाड मक्किने–खिइनेजस्ता समस्याले हाड, नसा, मांसपेशी आदि थिचिएर÷सरेर समेत यस्ता समस्या आइपर्छन् । चोटपटकले गर्दा पाखुरा वा काँधको हाड–जोर्नी भाँचिने र स्थान परिवर्तन हुने कारणले पनि यो समस्या हुन्छ । यसरी नै मूत्राम्ल वृद्धिलगायत अन्य प्रकारका बाथरोग, गर्दनको नसा च्यापिने वा हाड खिइने रोग आदिका कारणले पनि यो समस्या उत्पन्न हुन्छ । काँधको जोर्नी दुखाइको कारणअनुरूप थप असरहरू उत्पन्न हुन सक्छन् । जस्तै– कडा खालको बाथरोगले जोर्नीमा विकृति आउने, संक्रमण शरीरका अन्य भागमा समेत फैलने आदि हुन्छ । यसरी नै जोर्नी जमेर अचल हुनेलगायतका समस्या आउन सक्छ ।

काँधको जोर्नी किन दुखेको छ र कत्तिको असर छ भन्ने थाहा पाउनका लागि विभिन्न आधुनिक विधिको प्रयोग गर्न सकिन्छ । काँध, पिठ्यूँ, गर्दन र हातको माथिल्लो भागको एक्स–रे, सिटी स्क्यान, एमआरआईबाट हाड–जोर्नीको अवस्था थाहा पाउन सकिन्छ । यसरी नै बाथरोगको कारणले हो कि होइन भन्ने थाहा पाउन रगत जाँचलगायत अन्य परीक्षणहरू गर्न सकिन्छ । चिकित्सकले शारीरिक जाँच गर्दा पनि के कारण हुनसक्छ भन्ने निदान वा अनुमान गर्न सकिन्छ ।

यौगिक सूक्ष्म व्यायाम
काँधको जोर्नी दुख्ने समस्यामा काँध र मेरुदण्डका जोर्नी, हात एवम् पिठ्यूँमा प्रभाव पर्ने सरल खालका व्यायामहरू निकै उपयोगी हुन्छन् । यिनै सूक्ष्म व्यायामहरूमध्ये केहीको अभ्यासका बारेमा यहाँ चर्चा गरिन्छ । यी व्यायामहरूलाई बसेर वा उठेर अभ्यास गर्न सकिन्छ ।

व्यायाम १ – दुवै हातलाई सीधा राखी कुम वा काँधको भागलाई माथि उचाल्नुस् र दुई–तीन सेकेन्ड जति रोकेर तल राख्नुस् । ८–१० पटक अभ्यास गर्नुस् । यसरी नै काँधको जोर्नीलाई छातीको अगाडितिर ल्याउने र पछाडि लगेर छाती चौडा पार्ने पनि गर्नुस् । यसलाई पनि ८–१० पटक अभ्यास गर्नुस् ।

व्यायाम २ – दुवै हातलाई खुम्च्याएर औंलाहरू काँधमा टेकाउनुस् । अब हात एवम् काँधलाई बिस्तारै ढिलो गरेर घुमाउनुस् । ५ पटक घुमाएपछि फेरि ५ पटक उल्टो घुमाउनुस् । दुखाइ कम भएपछि १० पटकसम्म अभ्यास गर्नुस् । हात यसरी नै मोडिएकै स्थितिमा पौडी खेलेको जस्तो गरी कुम र मोडिएको हातलाई उल्टो तथा सुल्टो जतिसक्दो बिस्तारै घुमाउनुस् ।

व्यायाम ३ – दुवै हातलाई माथि उठाई टाउकाको पछाडिबाट दायाँ हातले बायाँ हातको नाडीमा समात्नुस् र दायाँतिर तान्नुस्, केहीबेर अडिनुस् । यसरी नै बायाँ हातले दायाँ हातको नाडीमा समातेर बायाँतिर तान्ने गर्नुस् । पालैसँग ५–१० पटक तानेर अभ्यास गर्नुस् ।

व्यायाम ४ – दुवै हातलाई खुम्च्याई मुठी पारेर नाभीको अगाडि ल्याई जोड्नुस् । अब दुवै हातलाई फैलाउँदै पछाडितिर लगी तुरुन्तै पहिलेकै स्थानमा ल्याउनुस् र एक–दुई इन्च जति माथि उठाएर पुनः अघिझैँ फैलाउनुस् । यसरी फटाफट हात हल्लाउँदै, अघि–पछि चलाउँदै माथि उठाएर टाउकाको माथिसम्म लैजानुस् । फेरि उही प्रक्रियाबाट अलि–अलि गर्दै क्रमिक रूपमा एक–दुई इन्च तल ल्याउँदै, हल्लाउँदै नाभीसम्म ल्याउनुस् । यसरी नै हात चलाउँदै नाभीदेखि टाउकाको माथिसम्म लैजानेलाई दुई–चार चक्रसम्म दोहोर्याउनुस् ।

व्यायाम ५ – दुवै हातलाई खुम्च्याएर छातीको अगाडि ल्याउनुस् र एक हातको चारवटा औंलाले दोस्रो हातको चार औंलालाई अंकुशजस्तो बनाई एकआपसमा फसाएर समात्नुस् । अब दुवै हातले बराबर बल गरी हातलाई आफूतिर तान्नुस् । केहीबेर तानेर ४–५ सेकेन्ड बल गर्न छोडी शिथिल राख्नुस् । एक पटक यसो गरेपछि हातको स्थिति परिवर्तन गर्नुस् र उही प्रक्रिया दोहोर्याउनुस् । यस्तै किसिमले बल गरेर तान्ने, रोक्ने र शिथिल गर्ने प्रक्रियालाई चार–पाँच पटकसम्म हातको स्थिति फेर्दै अभ्यास गर्नुस् ।

व्यायाम ६ – दुवै हातका पञ्जालाई एक–आपसमा फसाएर गर्दनतिर लगी अड्याउनुस् । अब दुवै हातको कुहिनालाई छातीको अघिल्तिर ल्याई जोड्ने प्रयास गर्नुस् र रोकिनुस् । ५–७ सेकेन्ड जति रोकिएर दुवै कुहिनालाई हात गर्दनमा राखेकै अवस्थामा छातीको दायाँ–बायाँ फैलाउनुस् । यसरी नै ५–१० पटकसम्म अभ्यास गर्नुस् ।

योगासन
काँधको जोर्नी दुखाइका लागि गोमुखासन, भुजंगासन, ताडासन, गरुडासन, सुप्त वज्रासनजस्ता आसनहरू उपयोगी छन् । यहाँ केही आसनहरूलाई गर्दनको जोर्नी दुखाइका लागि परिष्कृतरूपमा प्रयोग गरिएका छन् ।

गोमुखासन – दुवै गोडा सोझो राखी बस्नुस् । अब पालैपालो खुट्टा खुम्च्याउँदै एक गोडामाथि अर्को गोडा राखेर घुँडालाई अगाडितिर पार्नुस् । मेरुदण्ड सोझो गर्नुस् । दुवै हातलाई एक–आपसमा औंला फसाई सोझो पारेर घुँडामा राख्नुस् । अब श्वास लामो गर्दै केहीबेर बस्नुस् । आँखा चिम्लिए पनि हुन्छ । यस स्थितिमा केहीबेर रहेर अब एक हातलाई टाउकाको पछाडि माथिबाट र अर्कोलाई कम्मरको पछाडि ढाडतिर तलबाट लगी दुवै हातका औंलाहरू छुने वा समात्ने प्रयास गर्नुस् । केहीबेर समातेर बसेपछि अब हातको दिशा वा स्थिति परिवर्तन गर्नुस् र केहीबेर श्वास लामो गर्दै आँखा चिम्लिएर श्वासमा ध्यान केन्द्रित गर्दै एकाग्र बन्नुस् । दुई–चार पटक हात र खुट्टाको स्थिति परिवर्तन गर्दै अभ्यास गर्नुस् । अन्त्यमा खुट्टा सोझो गरेर शिथिल राखी हल्लाउनुस् । हात पछाडि लैजाँदा सावधानीपूर्वक नगरे मर्कने वा पिठ्यूँ दुख्ने हुनसक्छ ।

भुजङ्गसन – भुजड्डासनका अनेक विधिहरूमध्ये यहाँ एउटा विधि उल्लेख गरिएको छ । सर्वप्रथम घोप्टो परी सुत्नुस् । दुवै हातलाई कम्मरको पछाडि लगेर औंलाहरू एक–आपसमा फसाई समात्नुस् र हात तन्काउनुस् । अब श्वास लिँदै दुवै हातलाई तन्काएर माथि उठाउँदै टाउको र छातीलाई माथि उठाउनुस् । यस्तो अवस्थामा पाँच सेकेन्ड जति श्वास रोकेर अडिनुस् । अब बिस्तारै श्वास छोड्दै छातीलाई तल राख्नुस्, चिउँडोलाई पनि भुइँमा टेकाउनुस् । ५–१० पटक अभ्यास गर्नुस् । आङ खस्ने रोग, गर्भावस्था र मासिक श्रावको अवस्थामा महिलाले यो आसन गर्नुहुँदैन । यसरी नै हर्निया, छाती दुखाइ, कडा खालको मुटुका रोग भएका व्यक्तिले पनि गर्नुहुँदैन । काँधको जोर्नी दुखाइ भएकाहरूले सुरुमा हात बढी तन्काएर धेरै माथि लैजाने प्रयास गर्नुहुँदैन ।

प्राणायाम र ध्यान
बाथरोग र अन्य कारणले हुने काँधको जोर्नी दुख्ने समस्यामा रक्तशुद्धि र स्वस्थ हुने प्रक्रियाका लागि प्राणायामले लाभ दिन्छ भने पीडा कम गर्न ध्यानले पनि लाभ दिन्छ । प्राणायामहरूमा कपालभाँती, भस्त्रिका, नाडीशोधन, अनुलोम–विलोम, सूर्यभेदी आदिले फाइदा गर्छ । कुनै पनि ध्यान र एकाग्रका उपाय प्रयोग गर्न सकिन्छ ।

यौगिक मर्दन
चन्दन वा भष्म (खरानी) लाई तेल वा पानीमा भिजाएर केही तातो गरी दुखाइको भागमा लेपन गरेपछि बिहानको घाममा करिब आधा घन्टा बस्नुस् । केही समयपछि त्यसैमा हल्का मर्दन (मालिस) गर्ने गर्नुस् । यस क्रियाले बिस्तारै लाभ पुग्छ ।

यौगिक आहार एवम् उपवास
बाथरोगका कारणले भएको दुखाइमा यौगिक सात्विक आहार प्रयोग गर्नुपर्छ । खासगरी मूत्राम्ल बढेको र अन्य बाथरोगमा पनि दाल, गेडागुडी, दूध, मांसाहार, मद्यपान आदि प्रयोग गर्नुहुँदैन । यसरी नै तामा, पुराना अचारहरू आदि बार्नुपर्छ । पानी बढी पिउनुपर्छ । कहिलेकाहीँ उपवास पनि गर्न सकिन्छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.