बाहुन कोही छ भने मेरा खुट्टा ढोग -गोरेबहादुर खपाङ्गी

गोरेबहादुर खपाङ्गीसँग रमाइलो संवाद

बाहुनलाई अन्तर्वार्ता नै नदिने ,बाहुन भएको भए म कुरै गर्ने थिइनँ, चौहान भनेको क्षेत्री हो, क्षेत्री अलिक बिसेक हुन्छ । खासमा बाहुनसँग हामी जनजातिको धेरै हिसाब छ । त्यसैले जुत्ता खोलेर, खुट्टा टेबुलमा राखेर भन्ने गर्छु, 'कोही छ यहाँ बाहुन भने मेरा खुट्टा ढोग ।' बाहुनले मेरो खुट्टा किन नढोग्ने ? जबकि ऋग्वेदमै भनेको छ-

जन्मना जायते शूद्र
कर्मणा द्विज उच्यते
जन्मेकै भरमा कोही ठूलो हुने होइन, कर्मका आधारमा ठूलो हुने हो । अब भन्नोस्, जन्मजात कोही ठूलो हुने होइन, पढेर-जानेर ठूलो हुने हो । मैले युनिभर्सिटी पढेको छु, दर्शन जानेको छु, अंग्रेजी बोल्छु । मैथली बोल्छु ।
हिन्दी बोल्छु । राजनीति गर्छु । अब म ठूलो हुन के बाँकी छ ? अहिले पनि पाँच दिनमा एउटा किताब पढ्छु । मसँग त्यो खुबी छ । त्यसैले बाहुनले पनि मलाई ढोग्नुपर्छ । अहिलेसम्म हाम्रा हजुरबाको काँधमा बाहुनले खुट्टा राखे हाम्रा बाका काँधमा पनि खुट्टा राखे । अब मेरो काँधमा पनि राख्ने ? म दिन्नँ । मसँग त्यो खुबी छ, राख्न सक्छौ भने कोसिस गरेर हेर । होइन भने अब म टेबुलमा खुट्टा राख्छु, ढोग्ने पालो तिम्रो हो । तिम्रा बा, हजुरबाले हामीलाई लगाएको ऋण 
तिर्नुपर्दैन ? तिर्नुपर्छ । त्यसैले मलाई ढोग । 

लन्डन पुग्ने मगर सिंहदरबार देख्दैन

मगरलाई जाग, उठ र अघि बढ भनेर म गाउँगाउँ गएँ । सुतेको मगर उठ्यो, अनि फेरि सुत्यो । मैले फेरि उठाएर अलि परको मान्छे देखाएँ । 'ल भन त्यो को हो ?' मगरले भन्छ, 'त्यो त बाहुन हो ।' अनि मैले भनेँ, 'त्यो बाहुन हिँडेर कहाँ पुगिसक्यो, तँ भने सुतिरहेकै छस्, अनि कहाँबाट हुन्छ तेरो उन्नति ।'
मगरमा राजनीतिक परिपक्वता छैन । एउटा गुल्मीको मगर, अर्को सिन्धुलीको मगर उठेर सीधै लन्डन जाने सपना देख्छ । लन्डनमा घर बनाएर बस्छ । तर, आफ्नै देशको सिंहदरबार पुग्ने सपना कहिल्यै देख्दैन । समस्या यहीँ छ । जनजातिमा साँच्चै संज्ञानताको अभाव छ । होइन भने एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादलभन्दा तल रहेका सिपी गजुरेललाई नयाँ पार्टीमा बादलभन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।

कम्युनिस्टमा बाहुनवाद

म भूमिगत नेकपा (माले) को मान्छे । मदन भण्डारी, जीवराज आश्रति, सिपी मैनाली, माधव नेपाल सबैसँग राजनीति गरेको मान्छे । तर, तिमीहरू जातिवादी भयौ भनेर मैले पार्टी छाडेँ । जातिवादी भनेको बाहुनवादी हो । त्यो पुष्टि अरू धेरै कुराले भएको छ । तर, सबैभन्दा नमीठो उदाहरण माधव नेपालकै छ । बहुदल आएपछि माधव नेपालकी भा    न्जीलाई राधाकृष्ण मैनालीको ड्राइभरले उडायो । त्यो ड्राइभर गुरुङ थरको थियो । माधव नेपालले सामदाम, दण्डभेद गरेर भान्जीलाई गुरुङ केटोबाट खोसे । बाहुनवादी अहंका लागि त्यतिवेला राज्यको शक्ति पनि प्रयोग भयो । कम्युनिस्ट पार्टीको नेताले गर्ने यही हो भनेर अरूले आश्चर्य मान्छन् । तर, म यस्ता नेताको काम नै यही हो भन्छु ।

ठकुरी (राजा) प्रशंसाको भोको

म ज्ञानेन्द्रको मान्छे होइन । तर, ०५९ सालमा शेरबहादुर देउवा आपै“mले घोषणा गरेको चुनाव 'अहिले गर्न सक्दिनँ' भनेपछि तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई बर्खास्त गरे । चुनाव गराउन नसक्नेलाई बर्खास्त गर्नु ठीक हो कि होइन भन्ने विषय अर्को हो । तर, राजाले अब चुनाव गराउन सक्ने सक्षम व्यक्तिहरू आऊ, निवेदन देऊ भनेपछि हाम्रो राष्ट्रिय जनमुक्ति पार्टीको बैठक बस्यो । म महासचिव थिएँ, मन्त्री को हुने भनेर ठूलो विवाद भयो । विवादबीच हाम्रो पार्टीबाट मात्रै १२ जनाको नाम सिफारिस भयो । पछि राजाले मेरो नाम छाने । 
कम्तीमा १२ जनामध्ये त म फरक रहेछु नि । मन्त्री भएपछि फरक काम गर्नुपर्‍यो भनेर मैले संस्कृत विषय विद्यालयबाट हटाउने सोच बनाएँ । संस्कृत भाषा इतिहास हो, शास्त्र होे र अध्ययन-अनुसन्धानको विषय हो । तर, सानासाना बालबालिकालाई पढाउनैपर्ने विषय होइन भन्ने मेरो ठहर हो । जब बालबालिकालाई यो भकुन्डो हो भनेर सोझै बुझाउन सकिन्छ भने 'इदं कन्दुकम्' भनेर बोझ किन पार्ने ? एउटा विद्यालयमा एउटा मात्र संस्कृत शिक्षक भए पनि ३० हजार विद्यालयमा ३० हजार शिक्षक हुने भए । त्यो ३० हजार पदमा कुनै राई, कुनै लिम्बू, कुनै मगर, कुनै गुरुङ त हुने होइन, एक्लौटी रूपमै बाहुनले खाने हो । त्यसैले पनि विरोध हो, मेरो । लोकेन्द्रबहादुर चन्दको पाला देवी ओझा शिक्षामन्त्री थिए, म महिला बालबालिका तथा समाज कल्याण मन्त्री । देवी ओझा त मेरा माले कालका साथी, त्यसैले भनेँ, 'ए देवी एउटा परिवर्तनको काम गर्नुपर्‍यो । संस्कृत शिक्षा हटाउनुपर्‍यो ।' देवी ओझा कन्भिन्स भए, प्रस्ताव तयार पारे र मन्त्रिपरिषद्बाट पारित भएर अनिवार्य संस्कृत शिक्षा हट्यो । 
मैले दसैंको टीका नलगाऊ भनेर जनजाति समुदायमा अभियान नै चलाएको हुँ । राजनीतिक भाषामा बहिस्कार भन्छन्, सामाजिक भाषामा परित्याग भनौँ । दसैँको टीका परित्याग गरौँ भनेर अभियान चलाउने गोरेबहादुर खपाङ्गीले मन्त्री भएपछि राजाको हातबाट टीका लगायो भनेर ठूलो विरोध भयो । वास्तवमा मैले टीका लगाएकै हो, राजा खुसी हुन्छन् कि भन्ने चाहनाले मैले टोपीमाथि सारेर निधार थापेकै हुँ । मलाई मन्त्री भएपछि संस्कृत शिक्षा हटाउनेदेखि केही काम गरेर देखाउनु थियो । त्यतिवेला मन्त्रिपरिषद्को काम गर्न राजालाई खुसी पार्नैपर्ने बाध्यता थियो । राजा भनेको ठकुरी, ठकुरी त प्रशंसाको भोको । हाम्रो गाउँमा गरिब ठकुरीले हलै जोतेर खान्छ । दिनभरि जोतेर आएको ठकुरीलाई बाबुसाब, जोत्न अब कति बाँकी छ भनेर सोध्यो भने फुरुंग भएर भन्छ, 'अब तिन्टा गरा छन्, हजुर ।' दिनभरि जोतेर खानेले पनि बाबुसाहेब भनिमाग्छ । अब राजाले चाकरी किन नखोजोस् । मैले जनजातिकै काम गराउन राजाको हातको टीका थापेँ । 

गोरेबहादुरको प्रेत

जुन वेला मैले जातीय मुद्दा उठाएँ, त्यो वेला साम्प्रदायिकता थियो । अहिले त आवश्यकता भएछ नि । अहिले अशोक राईले पार्टी खोल्छु भनेका छन् । यिनीहरूले एमालेमा ठेस खाए, त्यसैले उछिट्टएिका छन् । बाटोमा हिँड्दा ठेस लाग्दा मान्छे लडे त लडिहाल्यो । लडेन भने पनि हुत्तिएर अगाडि बढ्छ । पर पुगेर पर्खालको सहारामा उभिन खोज्छ । हो, अशोक राईहरू पनि आफ्नो बाटोमा उछिट्टएिका छन्, अब हुत्तिएर पर्खालको सहारा लिने कोसिसमा छन् । तर, यिनीहरूले गरिखान्नन् । यसका दुईवटा कारण छन् ः 
एक : जब एमालेबाट जनजाति नेताहरूले विद्रोहको भाका बोले, बुद्धिजीवी र पत्रकारले खबरदारी गरे- 
गोरेबहादुरको चाल होला है । ल हेर्नुस्, गोरेबहादुर प्रेत त र'छ नि । प्रेत नै सही, तर्साउँदो त र'छ नि । गोरेबहादुरले यिनीहरूको मनमा त्यति ठूलो आतंक फैलाएको रहेछ । त्यो प्रेतले अशोक राईलाई पनि डर लागेको छ । हाउगुजी भएको छ, कतै हामी बर्बाद हुने हौँ कि भनेर यिनीहरूले खुट्टा कमाइरहेका छन् । खुट्टा कमाएर राजनीति हुन्छ ? हुँदैन । 
दुई : यिनीहरू राजनीतिमा होइन, डलरको खेतीमा छन् । जनजातिका ठूला-ठालु भन्ने सबैले डलर खाएका छन् । तिनलाई त बिख लाग्ने नै भयो । केहीले खाएका छैनन् भने पनि यो देशमा तिनलाई पनि बिख लाग्छ । पोहोर साल जनजाति महासंघले आन्दोलन गर्‍यो । १४ जेठमा संविधान 'ले' भनेर चक्काजामको घोषणा गर्‍यो । होइन यो -राजकुमार) लेखीले के गर्दै छ भनेर म सोच्दै थिएँ, डिएफआइडीले मिडियामा भनिदियो, 'खबरदार जनजाति महासंघ, संविधान चाहियो भनेर आन्दोलन गर्ने होइन, गर्छौ भने हामीले दिने १३ करोड चट् ।' यिनीहरू सब थरथर कामे । तुरुन्तै बैठक बसे । 'तिम्रो डलर चाहिँदैन, हामी संविधान ल्याएर छाड्छौँ' भन्न सकेनन् । आन्दोलन स्थगित गरे, डलरका अगाडि घुँडा टेके । अब संविधान होइन, डलरका अगाडि घुँडा टेक्नेले राजनीति कसरी गरिखान्छ । 

म सबै जनजातिको बाजे

मगर समाजका लागि म ४० वर्ष हिँडेँ, मगरको उत्थान गर्ने नारा लिएर हिँडेँ । ४० वर्ष निरन्तर आफ्नो समाजका लागि हिँडेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्षको भयो होला । तर, उसले आफ्नो समाजका लागि के गर्‍यो ? म त ४० वर्ष लागेँ त्यसैले ८० वर्षको बूढाको पनि म बाजे हुँ । म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हिँडेको मान्छे हुँ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु- तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हिँड ।
म ०५६ सालमा पाल्पाबाट संसदीय चुनावमा उठेँ । मेरो निर्वाचन क्षेत्रबाट मगर मतदाता मात्रै ५९ हजार थिए । मगरले मात्रै दिए पनि अत्यधिक बहुमतले जित्ने निश्चित थियो । तर, म तेस्रो नम्बरमा पुगेँ । ल हेर्नुस् है Û मैले भनेको थिएँ, 'तपाईंको निर्वाचन क्षेत्रबाट एउटा मगर सिंहदरबार जानुपर्छ ।' तर, मगरहरूले सिंहदरबारको भेउ नै पाउँदैनन् ।

जापानी साथीले सुनाएको कथा

जनजातिबारे प्रस्ट पार्न नवलपरासीको एउटा मगर गाउँको कथा भन्छु । सुनाउने मान्छेचाहिँ नेपाली होइनन्, जापानी हुन् । माकितो मिनाकी भन्ने जापानको एकजना मान्छे, १५ वर्षसम्म नवलपरासीको माथि डाँडामा बस्यो । अर्खाला गाविसका एक परिवारको सदस्य बन्यो । बूढाबूढीलाई बाबुआमा मान्यो, उनीहरूका छोराछोरीलाई दाजुभाइ मान्यो । पछि ऊ जापान गएको वेलामा नेपालबाट मगर भाइले फोन गर्‍यो, 'लौ दाइ बर्बाद भो, यहाँ बा बिरामी हुनुभो, उपचार गर्ने खर्च छैन ।' जापानी छोरो राति नै जहाज चढ्यो, बिहान काठमाडौं आयो, बेलुका नवलपरासीको अर्खला पुगेर बाबुलाई भेट्यो । बाबुको अवस्था कमजोर थियो, दुई भाइ मिलेर कावासोती झारे । कावासोतीमा राम्रो उपचार हुने कुरा भएन, नाइट-बस चढाएर काठमाडौं ल्याए । वीर अस्पतालमा भर्ना गरे । बिरामीको अवस्था ठीकै थियो, त्यसैले जापानी छोराले भाइलाई भन्यो, 'बा अहिले ठीकै छन्, हेरविचार गर्दै गर्नु, एक/दुईजना साथीलाई भेट्नु छ, म डेढ घन्टामा आउँछु । तिमी हेर्दै गर ।' केही पर्‍यो भने खर्च गर्नु भनेर ६ हजार रूपैयाँ पनि छोडेर जापानी छोरा बाहिर निस्कियो । 
मगर छोरो बाउलाई कुर्दै थियो, एकछिनपछि उसलाई दिसा लाग्यो । बिचरा मुग्लिनको बासी भात खाएको हुँदो हो, पेट नदुख्ने कुरै भएन । ट्वाइलेट जानुपर्‍यो, पल्लो बेडको कुरुवालाई सोधेछ । अब उसले पनि भनिदिएछ, म पनि आज बिहान मात्र आएको, ट्वाइलेट कता छ, मलाई थाहा छैन । मगर छोराले अर्को मान्छेसँग सोध्यो, अर्कोलाई सोध्यो, ट्वाइलेट खोज्यो । तर, कतै भेटेन । ट्वाइलेट खोज्दा-खोज्दा उसलाई एक घन्टा लाग्यो । तर, भेटेन । निराश भएर फर्किएर आउँछ त डाक्टरहरू गाली गर्छन्, 'ल कहाँ गएको थियो, यहाँ कत्रो घटना भइसक्यो ।' छोराले छाम्छ त बाउको ज्यान चिसो भइसकेको छ । ज्यान गइसकेको छ । 
बाउको चिसो हात समातेर छोरो बसिरहेको थियो । एकछिनपछि जापानी छोरो आयो । के भयो भनेर सोध्दा मगर छोराले भन्यो, 'म ट्वाइलेट खोज्न गएको थिएँ, यता बाउ बितेछन् ।' अनि जापानीले सोध्यो, 'ट्वाइलेट त गइस् ?' मगरले भन्यो, 'कहाँ भेटेर जानू, पेट दुखिरहेको छ ।' अब बाउको लास उता लडेको छ, तर ठूलो छोराको पहिलो काम सानो छोरालाई ट्वाइलेट लग्नुपर्ने भयो । लग्यो । अब मैले भन्न खोजेको के भने, फोहोर नै सही, वीर अस्पतालमा कम्तीमा २०/२५ वटा ट्वाइलेट छन् । तर, एक घन्टासम्म त्यहीँभित्रको ट्वाइलेट नभेट्ने मगरले सिंहदरबारको कुर्सी कसरी भेट्छ ? त्यसैले अहिले नै राजनीतिमा मगर र अरू जनजातिको पनि उन्नति हुनेवाला छैन । 

बाबुरामको कुरा बाहुनले बुझे

बाहुन बाठो Û एउटा बाहुनले भन्छ, अरू बाहुनले बुझ्छन । तर, जनजातिले बुझ्दैनन् । राजीनामा देऊ, राजीनामा देऊ भनेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ट तीनवटा कुरा भने :
एक : यो देश कतै न कतै मर्जर गर्नु -मिसाउनु) पर्छ । मर्जर गर्ने भनेको के हो भनेपछि आर्थिक रूपमा भनेको हो, सब-मर्जर भनेको हो भनेर कुरो मिलाए । तर, उनले भनेकै हुन्, मर्जर उनको एजेन्डा हो । 
दुई : उनले भनिदिए- हामी त गोटी हौँ, खेलाउने अरू कोही छ । यसमा पनि उनले ढाँटेनन् । 
तीन : चर्कै रूपमा राजीनामा माग्न थालेपछि उनले भनिदिए— साँचो त यहाँ छैन ।
ल हेर्नुस् है Û बाहुनहरू सबैले कुरो बुझे, साँचो खोज्न लर्को लागेर दिल्लीतिर गए । कोही पेट दुखेको छ भनेर, कोही टाउको दुखेको छ भनेर, कोही बिहेमा भनेर, कोही चिया खान भनेर भटाभट दिल्ली गए । जनजातिहरू कुरै बुझ्दैनन्, साँचो दिल्लीमा छ भने यहाँ बसेर सत्ता कहिले आउँछ ? उता, गएकाहरूलाई पनि दिल्लीवालाले भनिदिए, 'साँचो त यहीँ छ, तिमीले सुनेको सत्य हो, तर साँचो तिम्रो हातमा दिन्नौँ, जो अहिले सत्तामा छ, उसैसँग मिलेर खाऊ ।' पहिलेपहिले राजीनामा नदिए आन्दोलन गर्छौं भन्नेहरू पनि दिल्लीबाट फर्केपछि मिलेर, सहमति गरेर अघि बढ्ने हो भन्दै वार्तामा बस्न थालेका छन् । यो सब बाबुरामले भनेजस्तै जसको हातमा साँचो छ, उसैको करामत हो । बाहुनले कुरो बुझे, जनजातिले बुझेनन् ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.