छारे रोग के हो ?

स्नायुसम्बन्धी एक प्रकारको बेहोस हुने रोगलाई छारे रोग भनिन्छ । तर सबै बेहोस हुने रोग छारे रोग होइन । मस्तिष्कमा भएका ‘न्युरो ट्रान्समिटर’ असन्तुलित भएमा यो रोग देखिन्छ । दिमागको विकासक्रममा वा बनावटमा केही अप्ठेरो छ भने पनि यो रोग लाग्न सक्छ । छारे रोगलाई इपिलेप्सि पनि भनिन्छ ।
गाउँघरमा हात काँप्यो, आँखा फर्कियो, मुख बाङ्गियो भने मात्र छारे रोग भएको भन्ने चलन छ, तर यति मात्र छारे रोगका लक्षण होइनन् । कतिपय अवस्थामा मानिस हिँड्दा हिँड्दै केही समयका लागि अचेत हुने र केही समयपछि पूनः सामान्य अवस्था फर्किनु पनि छारे रोगको कारणले हुनसक्छ । त्यसैले पनि बिरामी कतै बेहोस भएमा तत्काल परिवारका सदस्यलाई खबर गरी जानकारी गराउनका लागि छारे रोगीले आफ्नो परिचयपत्र सधैं बोक्नुपर्छ ।
छारे रोग धेरै प्रकारको हुन्छ । यदि मानिसले बेहोसी अवस्थामा जिब्रो टोक्ने, आँखा पल्टाउने गर्छ भने त्यो कडा खालको छारे रोग हो । तर कतिपय अवस्थामा छारे रोगको खास कारण थाहा नहुन सक्छ । नेपालको सन्दर्भमा वयस्कलाई नाम्ले किराको अण्डाबाट पनि छारे रोगको लक्षण देखिएको छ । कसैकसैलाई मस्तिष्कमा हुने ट्युमर, इन्सेफलाइटिस, मेनेनजाइटिक्स भयो भने पनि छारे रोग देखिन्छ । केही मानिसमा नुनको कमीले पनि छारे रोगको लक्षण देखिन सक्छ र नुनको मात्रा पूरा भयो भने यो रोग आफैं निको हुन्छ । यस्तो प्रकारको छारे रोगमा लामो उपचार गर्नुपर्दैन ।
छारे रोगले दिमागको नसा मर्ने हुन्छ । कतिपय अवस्थामा छारे रोगले मानिसको मृत्यु समेत हुनसक्छ । समयमा नै उपचार गरेमा छारे रोग निको हुन्छ । छारे रोग सम्बन्धि जनचेतना नभएका कारण धेरै मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । अहिले पनि यस सम्बन्धि चेतनाको अभाव देखिन्छ ।

छारे रोगको उपचार त्यसको प्रकार हेरेर गरिन्छ । साधारण किसिमको छारे रोग र बच्चाहरुमा रोग छ भने २/३ वर्षसम्म औषधि दिएर निको पार्न सकिन्छ । यो रोग ७० देखि ८० प्रतिशत बिरामीलाई छोटो समयसम्म ५ देखि १० प्रतिशतलाई लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । तर नेपालमा धेरै बिरामी उपचारबाट बञ्चित छन् । छारे रोगको शल्यक्रिया पनि गर्न सकिन्छ । धेरै जसो बिरामीका लागि औषधी नै उत्तम विकल्प हो । छारे रोगको लक्षण देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरे निको हुन्छ ।

छारे रोग साधारण किसिमको रोग भएता पनि ग्रामिण भेगमा यो रोग सम्बन्धि अन्धविश्वास व्याप्त छ । बिरामीलाई जुत्तामोजा सुँघाउने, धामीझाँक्री देखाउने गरेको पाइन्छ । यसबाट रोग निको हुँदैन । छारे रोगको लक्षण हरेक दिन देखिन्छ भन्ने हुँदैन । उपचार नगरे पनि कसैकसैलाई एकपटक लक्ष्ण देखिएपछि अर्को १ वर्षसम्म लक्षण नदेखिन सक्छ । केटीहरुमा छारे रोग देखिएमा परिवारले लुकाएर राख्ने चलन छ । यसलाई अभिसाप नठानी उपचार तर्फ लाग्नुपर्छ । रोग लुकाउँदै गएमा झन् जटिल बन्दै जान्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ६ करोड मानिसमा छारे रोग लागेको अनुमान छ । नेपालमा भने एक प्रतिशत जनसंख्यामा यो रोग लागेको अनुमान छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.