मोहन वैद्य 'किरण' का २८ रहस्य

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' का २८ रहस्य !

♦ नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' सकेसम्म सञ्चारमाध्यममा आउनै मान्दैनन् । आए पनि निकै कम बोल्छन् । त्यसैले सञ्चारमाध्यममा उनलाई नेपाली राजनीतिका 'खरो' नेताका रूपमा चित्रित गरिएको हुन्छ । 
♦  दर्शन र समालोचनाका झन्डै आधा दर्जन पुस्तक लेखिसकेका किरणको साहित्यिक उपनाम 'चैतन्य' हो । 
♦  उनी आफूलाई 'कम्युनिस्ट आन्दोलनको बीचबाट आएको, समाजवादी/साम्यवादी क्रान्तिका लागि आफूसक्दो प्रयास गर्दै आएको तथा देश र जनताको मुक्तिका लागि क्रान्तिमा होमिन सधैँ दृढ रहने' व्यक्ति मान्छन् । 
♦  उनको स्वभाव निर्माणमा आनुवंशिक र सामाजिक वातावरणको प्रभाव देखिन्छ । उनी भन्छन्, 'ममा बुबाको अडान लिने बानी र दृढता तथा आमाको सहजता र सरलताको प्रभाव छ । त्यसैले म आवश्यक ठाउँमा सरल पनि छु र दृढ पनि । त्यस्तै, प्युठानको कम्युनिस्ट परिवेश र तत्कालीन समाजको सामन्तवादी शोषण-उत्पीडनले सामन्तवादविरुद्धको संघर्षमा लाग्न मलाई
प्रेरित गर्‍यो ।' 
♦  किरणमा अध्ययन गर्न मन पराउने, चिन्तनमनन गरिरहने र एकान्तप्रेमी स्वभाव देखिन्छ । 
♦  सबल पक्षसँगै उनमा केही कमजोरी पनि छन् । आफ्ना कमजोरीबारे उनी भन्छन्, 'एकान्तप्रेमी भएकै कारण सामाजिक व्यवहारमा सबैसँग घुलमिल हुन नसक्नु मेरो स्वभावको फितलो पक्ष हो भनेर भन्नुस । बहिर्मुखी स्वभाव अलि कम र अन्तर्मुखी स्वभाव अलि बढी भयो कि भन्ने लाग्छ ।' 
♦ उनी दाबी गर्छन्- म कसैलाई पनि पूर्वाग्रही भएर हेर्दिनँ । त्यसको आधार दिँदै उनी भन्छन्, 'कुनै पनि चिजलाई वैज्ञानिक विश्व दृष्टिकोणका आधारमा हेर्छु । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोण र वस्तुगत तथ्यका आधारमा कुनै पनि चिजको मूल्यांकन गर्छु ।'
♦   मध्यमवर्गीय ब्राह्मण परिवारमा प्युठानमा जन्मेका किरण सामन्ती संस्कार र अन्धविश्वासप्रति सधैँ प्रश्न गर्थे । सानोमा अध्ययनशील र मिहिनेती पनि थिए । छरछिमेकमा सबैका प्यारोे थिए । उनलाई केटाकेटीमै भौतिकवादप्रति रुचि बढेको थियो । उनी सम्झन्छन्, 'कतिपटक मैले भूतप्रेत र भगवान् रहेनछन् भन्ने आफैँलाई परेको घटनाबाट थाहा पाएको छु ।'
♦   किरण रिसलाई प्रतिकूल अवस्थाको आवेग ठान्छन् । प्रतिकूल परिस्थिति सिर्जना हुँदा आफूलाई रिस उठ्ने उनी बताउँछन् । भन्छन्, 'प्रकृतिले सिर्जना गरेका प्रतिकूल अवस्थामा म रिसाउँदिनँ । तर, कुनै मान्छे वा पात्रले प्रतिकूल अवस्था सिर्जना गर्न भूमिका खेल्दै छ भन्ने थाहा भयो भने रिस उठ्छ । शोषण, दमन, उत्पीडन गर्ने व्यक्तिप्रति पनि मलाई रिस उठ्छ ।' प्रतिकूल घटनाबाट रिस नउठ्दा त्यो भावुकतामा बदलिने
उनी बताउँछन् । 
♦   एकान्तपे्रमी किरण उमेर बढ्दै गएपछि दिनमा एक/दुई घन्टा एकान्तमा बस्न रुचाउँछन् । 
♦   साहित्य पढ्दा उनमा संवेदनशीलता जागृत हुन्छ । आफ्नो योजनाअनुसार सफलता आइलाग्यो भने खुसी र
प्रफुल्ल हुन्छन् । 
♦  आफ्नो स्वभावमा हटाउन मन लागेको कुराबारे उनी भन्छन्, 'आवेग र उत्तेजना कुनै-कुनै वेला आउँछ । त्यसको मात्रा घटाउन मन लाग्छ ।' 
♦   उनलाई हार्डलाइनर भएको आरोप पनि छ । तर, यसलाई उनी दुष्प्रचार मान्छन् । त्यस्तो दुष्प्रचार आफूलाई कमजोर बनाउन गरिएको राजनीतिक आक्रमण हो भन्ने उनको बुझाइ छ । 'उनीहरूले हार्डलाइनर र सफ्टलाइनरको नियोजित प्रचार गरेर मेरो चरित्रहत्या गर्न खोजेका हुन् । ती सबै पश्चगामीले जनतामा मेराविरुद्ध गरेका दुष्प्रचार मात्रै हुन्,' उनी भन्छन् ।  
♦   किरण राजनीतिमा माक्र्स, लेनिन, माओका साथै चे ग्वेभारालाई आदर्श ठान्छन् । चे क्युवाको क्रान्तिपछिको सरकारमा मन्त्री भएका वेला पनि पद त्यागेर फेरि क्रान्तिका लागि हिँडेका थिए । उनको त्याग र समर्पणभाव अनुकरणीय रहेको किरणको बुझाइ छ । उनी नेपाली राजनीतिमा पनि त्यस्तो पात्र खोज्छन्, तर त्यस्तो नपाउँदा उनका दिलमा चोट लाग्छ । उनी भन्छन्, 'आदर्श त्यस्तो चिज रहेछ- त्यसैका लागि मान्छे मर्न तयार हुन्छ, त्यही आदर्शले मान्छे दीर्घजीवी हुन्छ ।'
♦   किरण बहिर्मुखी ढंगले प्रस्तुत हुनेलाई खासै मन पराउँदैनन् । प्रचारमुखी र बहिर्मुखी भएका देख्दा उनलाई वाक्क-दिक्क लाग्छ । उनी आफूलाई सन्तुलित भएको ठान्छन् । 
♦   परिवारलाई प्रेम, सद्भाव र पारस्परिक विश्वासले खुसी तुल्याउने उनी बताउँछन् । सम्पूर्ण परिवार राजनीति र क्रान्तिमा लागेकामा उनी खुसी छन् ।
♦   उनी सामान्य फुर्सदमा साथीहरूसँग भेटघाट-कुराकानी गर्छन् । अझ बढी फुर्सद मिलेमा लेखपढ गर्न रुचाउँछन् । 
♦  आर्थिक र पारिवारिक कारणले बाल्यकालमा उनले ठूला सपना देखेनन् । असल शिक्षक हुने सपना थियो उनको । स्कुल पढ्दै गर्दा ठूलो कवि हुने सपना थियो उनमा । त्यतिवेला देवकोटा, लेखनाथ, रिमालका कविता पढ्दा आफू पनि कवि हुन्छु भन्ने लागेको थियो उनलाई । १७/१८ वर्षको युवा भए पनि उनले क्रान्तिमा लाग्ने तथा देश र जनताको सेवक बन्ने सपना देखे । अहिले पनि उनको सपना त्यही हो । 
♦   उनलाई लाग्छ- जनयुद्धको प्रक्रियामा असल साथीहरूको हत्या भयो । त्यस्तो वेला उनी निकै दुःखी हुन्थे । सांस्कृतिक फाँटका कृष्ण सेन 'इच्छुक', पोलिट्ब्युरो सदस्य वासु, केन्द्रीय सदस्य रितबहादुर खड्काको मृत्युले उनलाई दुःखी तुल्याएको थियो । पार्टीमा एकता हँुदा तथा परिवार र साथीको सहयोगमा उनी निकै 
खुसी हुन्थे । 
♦ किरणको जीवनको सबैभन्दा जटिल मोड थियो- कम्युनिस्ट पार्टीको पूर्णकालीन बन्ने कि नबन्ने भन्ने टुंगो गर्ने समय । ०२९ सालको तिरको कुरा थियो, त्यतिवेला उनी स्वर्गद्वारी क्याम्पसमा पढाउँथे । त्यसवेला उनी पार्टीमा आबद्ध भइसकेका थिए, तर पूर्णकालीन भने भइसकेका थिएनन् । त्यतिवेला उनी पूर्णकालीन नभएको भए आज एउटा मास्टर मात्रै हुन्थे कि ? 
♦  उनलाई जीवनमा गरेको सही निर्णय भने जनयुद्धमा जाने सामूहिक निर्णय नै लाग्छ । 'कतिपय कमजोरी रहे पनि मैले व्यक्तिगत रूपमा चौथो महाधिवेशनकालदेखि नै सही निर्णय गर्दै आएको छु,' उनको दाबी छ । चौथो महाधिवेशनकालको फुटका घटना सम्झँदा आज पनि उनलाई नमीठो लाग्छ । 
♦   माओको 'व्यवहारबारे र अन्तरविरोधबारे' भन्ने पुस्तक उनलाई अत्यन्तै मन पर्ने पुस्तक हो । साहित्यमा देवकोटाको 'मुनामदन', गोपालप्रसाद रिमालको 'आमाको सपना', पारिजातको 'अनिँदो पहाडसँगै' र कृष्ण सेन 'इच्छुक'को 'बन्दी र चन्द्रागिरी' राम्रा कृति हुन् भन्ने लाग्छ उनलाई । गोर्कीको 'आमा', अस्त्रोभस्कीको 'अग्निदीक्षा', चिङ माईको 'ओयाङ हाइको गीत' र 'कुआङ पिन' तथा यी येनको 'रातो चट्टान' उनलाई बढी मन परेका उपन्यास हुन् । माओको 'व्यवहारबारे र अन्तरविरोधबारे' पुस्तक उनले धेरैचोटि दोहोर्‍याएर पढेका छन् । उनलाई धेरै पहिलेदेखि नै उपन्यास लेख्न मन लागेको थियो । तर, समय दिन सकेका छैनन् । उनको रुचि भने समालोचना र राजनीतिक/दार्शनिक विधामा छ । 'माक्र्सवादी दर्शन' उनको पछिल्लो पुस्तक हो । लक्ष्मीप्रसाद देवकोटा, पारिजात, कृष्ण सेन 'इच्छुक', गोर्की र सेक्सपियर उनका मन पर्ने लेखक हुन् ।
♦   धेरै वर्ष पहिला बनारसमा फिल्म हेरका थिए उनले, त्यसपछि एउटा फिल्म पनि हेरेका छैनन् । 
♦   बच्चामा उनलाई फुटबल र भलिबल मन पथ्र्यो । अहिले चेस अलि बढी मन पर्छ । 
♦  जनवादी गीत किरणलाई बढी नै मन पर्छ । उनलाई मन परेको गीतिनाटक 'सिम्मा' हो । उनी भन्छन्, 'त्यो गीतिनाटकले मलाई धेरै छोएको थियो ।' रायन, रामेश, जेबी टुहुरे, खुसीराम पाखि्रन, माइला लामा र जीवन शर्मा उनका मन पर्ने
गायक हुन् । 
♦   सामान्य दाल, भात, तरकारी नै उनको दैनिक खाना हो । माछा अलि बढी मन पराउँछन् । टिमुर राखेको गोलभेँडाको चटनी र ढिँडो सबैभन्दा बढी मन पर्ने खाना हो उनको । गुन्द्रुक पनि उनलाई मन पर्छ । कृत्रिम ढंगले प्रस्तुत हुने र ढाँट्ने मान्छे उनलाई पटक्कै मन पर्दैन । सरल, सहज र आदर्शप्रति निष्ठावान् मान्छे उनलाई
मन पर्छ । 
♦  उनको धोको छ- नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद र साम्यवादतिर पुग्ने । नेपाल र नेपालीलाई मुक्त भएको देख्ने । तर, उनको धोको अझै पूरा भएको छैन ।
♦  धेरै नेताहरूको एउटा थेगो हुन्छ । किरणको पनि छ । तर, मिडियामा धेरै नआउनाले जनस्तरमा उनको थेगो त्यति चर्चित छैन । मिडियाकर्मीमाझ भने उनको थेगो खुवै चर्चित भइरहेको छ । 'भनेर भन्नुस' उनले साधारणतयार वाक्यपिच्छे प्रयोग गर्ने धेगो हो । 

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.