कुरूप अनुहारलाई चुनेर सुन्दर परिणाम भोग्ने कि ? - डा. योगी विकाशानन्द

डब्लु मिचेल एक सामान्य अमेरिकी नागरिक एउटा मोटरसाइकल दुर्घटनामा उनको अनुहार नराम्ररी जल्छ । उनी कुरूप हुन्छन् । यस कुरूप कुराको पनि कुनै उपयोगिता, कुनै सन्देश होला- उनी सोच्छन् । माथापच्ची गर्दै उनी निक्र्योलमा पुग्छन्- आगामी चुनावमा म यही अनुहार प्रयोग गरी जित्छु । राष्ट्रिय चुनाव हुँदै थियो । स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो नाम पनि दर्ता गराइयो । र एउटा नारालाई प्रचारमा ल्याइयो- हे, अमेरिकी नागरिकहरू ! तिमीहरूले जहिले पनि राम्रो अनुहार चुनेर पठाउँछौ र खराब परिणाम भोग्दै आइरहेका छौ । अतः यसपाली यो कुरूप अनुहारलाई चुनेर सुन्दर परिणाम भोग्ने कि ? चुनाव सम्पन्न हुन्छ । र मिचेलले भारी मतका साथ जित्छन् र उनी सामान्य मान्छेबाट सांसद बन्न सफल हुन्छन् ।

भन्न परोइन- हरेक नकारात्मक घटनाको पनि एउटा गुप्त सन्देश हुन्छ, एउटा महान उपयोगिता हुन्छ । तिनै सन्देश र उपयोगिता ठम्याउनु हरेक मान्छेको कर्तव्य हुन्छ । यसका लागि समस्या आउनासाथ समाधान खोज्ने आफ्नो पुरानो परिपाटीबाट भने मुक्त हुन जरुरी छ । जस्तै- एकजना मान्छेको जग्गामा कसैले बम हानेर ठूलै खाल्डो बनाउँछ र यस्तो अवस्थामा जग्गाधनीले आफ्नो सारा ध्यान खाल्डो पुर्नतिर लगाउँछ । भए, नभएको पैसा खर्च गरी खाल्डो पुर्छ । यसरी जग्गा पहिलाजस्तै बनाउन त ऊ सफल हुन्छ, तर त्यसबाट उसलाई भने घाटाबाहेक अरु केही हुँदैन । तनाव झेल्नु, खर्च गर्नु र समयको बर्बादी उसको नियति हुन्छ । यति सबैको परिणामस्वरूप जग्गा जस्ताको त्यस्तै हुनु हो, सुधार हुने हैन, बढ्ने होइन । किनकि उसले पुरानै परिपाटीमा समाधान खोजेको हुन्छ ।
अब सोच बदलेर हेरौं । उही घटना हुन्छ- कसैले कसैको जग्गामा बम हानेर ठूलै खाल्डो बनाइदिन्छ । जग्गाधनीले नयाँ शैलीमा सोच्छ, यसको सन्देश के हो ? उपयोगिता के हुनसक्छ ? लामो ब्र्रेन स्टोर्मिङपछि उसले हातमा कलम लिन्छ  र कपीमा बुँदाबार सम्भावित फाइदाहरू लेख्दै
जान्छ । र उसले ठम्याउँछ, जग्गाको खाल्डो पुर्नुभन्दा यसैमा माछा पाल्ने पोखरी बनाउँदा उल्टो फाइदा हुन्छ । किनभने यस्तो ठूलो खाल्डो आफैंले खन्नुपरेको भए समय र पैसा निकै लाग्थ्यो । ती कुरा त चोखै बचेको छ ।
इतिहासमा प्रायःजसो महापुरुषहरू नकारात्मक कुराको सदुपयोग गर्न जान्नाले नै उठेका देखिन्छन् । जबकि महान हुने सम्भावना भने सबैले जन्मजातै बोकेर ल्याएका हुन्छन् । यिनै कुरालाई मध्यनजर राखेर एकपल्ट अल्बर्ट आइन्स्टाइनले टिप्पणी गरेका थिए- सबै मान्छे जन्मिँदा जिनियस नै हुन्छन् । आइन्स्टाइनको कुराको आलोकमै रही कार्लमाक्र्सको प्रसंग कोट्याऔं । माक्र्स दर्शनशास्त्रमा विद्यावारिधि गरेपछि विश्वविद्यालयको एक प्रोफेसर बन्न चाहन्थे । उनले निकै प्रयास गर्दा पनि जागिर पाउन सकेनन् । यस नकारात्मक घटनाको सदुपयोग गरी उनले समाचारपत्रमा काम गर्न थाले । र १९४२ मा आफ्नै सम्पादकत्वमा राइन समाचार-अखबार निकाल्न भ्याए । यदि उनी प्रोफेसर नै भएको भए जनताले चिन्दैनथे । तर सम्पादक भएर जनमानसमा छाउन सफल भए । यहाँ पनि नकारात्मकताको सदुपयोग भएको छ ।
अखबार निकै चलेको थियो, तर क्रान्तिकारी भएकोले तत्कालीन सरकारले यसलाई बन्द गरिदियो । अर्को नकारात्मक घटना । यसको पनि सदुयोग गर्दै ब्रसेल्स गई कम्युनिष्ट लिग खोले र कम्युनिष्ट घोषणापत्र प्रकाशमा ल्याए । यसको प्रभाव यति सशक्त रह्यो कि त्यसको दुई वर्षपछि नै प|mान्समा दोस्रो राज्यक्रान्ति सुरु भयो र माक्र्स विश्वविख्यात हुन सफल भए । यदि उनी प्रोफेसरमात्र भएको भए के हुन्थ्यो ?
यस्तै प्रसंग छ, विश्वविख्यात कालजयी कवि दाँतेको पनि । भनिन्छ, दाँतेकी पि्रयसी बेट्रेस त्यसबेलाकै सबभन्दा राम्री तरुणी थिइन् । तर दुर्भाग्यवश दाँतेले उनलाई गुमाए । उनी नराम्ररी मानसिक तनावबाट गुजे्र । यिनै पीडाको सदुयोगस्वरूप उनले आफूलाई लेख्नमै लगाए । यति लेखे, यति लेखे कि कालान्तरमा यही पुलिन्दा भिटा नोभोभाजस्ता महान कृतिको रूपमा प्रकाशित भयो । यसले एक पागल प्रेमीलाई साहित्यको इतिहासमा तारा बनाइदियो । अझै प्रसंग दाँतेकै । युवाकालमा जीविकोपार्जन गर्ने क्रममा उनी सेनामा भर्ती भएका थिए । र पछि राजनीतिमा छिरेर सन् १३०० मा फ्लोरेन्सका नगरपितासमेत बन्न सफल भए । दुर्भाग्यवश, यिनैताका विरोधीहरूको षड्यन्त्रमा प“mसी फ्लोरेन्सबाट उनको निकाला भयो । उनले दर्दनाक २० वर्ष प्रवासमा बिताउन पर्‍यो । यस भयंकर प्रत्युत्पादक देखिने घटनाको सदुपयोग गरी उनले कालजयी महाकाव्य लेख्न भ्याए, जसको नाम हो- डिभाइन कमेडी । पहिले नकारात्मक घटनाले उनलाई कवि बनायो भने दोस्रो घटनाले महाकवि ।
पुनः प्रसंग मिचेलकै । एउटा नकारात्मक घटनालाई सदुपयोग गरेर उठेका मिचेल त्यसपछि अत्यन्त व्यस्त हुनथाले । उमेर ढल्दै थियो, तर प्रेम-विवाहको लागि उनीसित फुर्सदसमेत भएन । यहाँनेर ध्यान गर्नुपर्ने कुरा के पनि छ भने हरेक नकारात्मक कुराले सकारात्मक पक्ष बोकेर ल्याए जस्तै हरेक सकारात्मक कुराले पनि नकारात्मक पक्ष बोकेर ल्याउँदो रहेछ  । यही कुरा दृष्टिगोचर भइरहेको थियो, मिचेलको मामिलामा । उनलाई बिहे गर्न हतार त भएकै हो, तर यसको चाँजापाँजो मिलाउन फुर्सद नभएको हो । किनभने अब उनी सांसद भई सार्वजनिक मान्छे जो भइसकेका थिए ।
एकदिन अर्को दुर्भाग्य निम्तिन्छ । उनले चढेको कार दुर्घटनाग्रस्त हुन्छ । र यसपाली उनको खुट्टा नराम्ररी भाँचिन्छ । अस्पतालको बिछ्यौनामा बसी-बसी उनी फेरि नकारात्मक घटनाको पनि उपयोगितातिर घोत्लिन थाल्छन् । लामो समयसम्म ब्रेन स्टोर्मिङ गरिसकेपछि उनले यस अस्पतालको अवधिलाई विवाहको पूर्ण तयारीको रूपमा लिने निधोमा पुग्छन् । अन्ततः अस्पतालबाट डिस्चार्ज हुँदा त्यहाँकी एक सुन्दर नर्ससित निस्कन्छन् ।
अतः जसको जीवनमा जति ठूलो दुर्घटना घट्छ, त्यति नै ठूलो अवसरको द्वार खुल्छ । यस अर्थमा नेपालमा जति अवसर छन्, त्यति कहाँ होलान् ? अर्थात् समस्यालाई अवसरको रूपमा हेर्ने परिपाटीको विकास गर्नु हाम्रो आवश्यकता हो । जिन्दगी ग्लासजस्तै छ- त्यसमा केही कुरा भरिएको छ भने पिउन मिल्छ, यो ग्लास खाली छ भने भर्न मिल्छ र फुटेकै अवस्थामा छ भने पनि रिसाइकल गर्न मिल्छ । खै घाटा कहाँ छ ? – Source: ekantipur.com

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.