के नेपालमा पनि अन्नाजस्ता व्यक्तिको उदय होला ? -- राजेन्द्र स्थापित
भारतमा महाराष्ट्र राज्यको दुई ठुल्ठूला सहरमध्ये एउटा मुम्बई हो भने अर्को
पुना । पुनकोट ८० किमि टाढा एउटा गाउँ छ- रालेगन सिद्धि । अहमद नगर
जिल्लाभित्र पर्ने यो गाउँमा जम्माजम्मी ३ हजार मानिस बस्छन् । जहाँ एउटा
मन्दिर छ । सन्त यादव बाबाको नाउँमा समर्पित सो मन्दिरभित्रको १०³१० फुटको
सानो कोठामा बस्छन्-किसन बाबुराम हजारे । उनी यो कोठामा सन् १९७५ देखि नै
बस्दै आएका हुन् । कोठामा सामान र सम्पत्तिको नाउँमा एउटा साधारण पलङ, थाल,
गिलास र एउटा कचौराबाहेक केही छैन । गत अपि्रलमा उनले जानकारी गराएअनुसार
उनको बैंक खातामा भारु.६७ हजार १ सय ८३ रुपैयाँ र साथमा नगद १ हजार पाँच सय
मात्र छ । हुन त सोही गाउँमै उनको नाउँमा शून्य दशमलव शून्य सात (०.०७)
हेक्टर जमिन नभएको होइन, तर त्यो पनि उनका दाजुभाइले उपयोग गरिरहेका छन् ।
यसबाहेक सेनाको जागिर छाडेपछि सैन्य कार्यालयले र गाउँलेले दिएको अर्को दुई
ठाउँमा पनि उनको नाउँमा जग्गा छ, तर ती दुवै जग्गा ग्राम सभालाई दान दिएका
छन् । आफू बसेको मन्दिरलाई नै घर मुख्यालय र गाउँलेका निम्ति भेटघाट थलो
बनाउँदै आएका उनले गुजाराचाहिँ सैन्य जीवनबाट निवृत भएपछि प्राप्त पेन्सनले
गर्दै आएका छन् । उनै किसन बाबुराव हजारेलाई आज भारतभरिका सवा अरब जनताले
अन्ना हजारे भनेर चिन्छन् । ७४ वर्षका अन्ना अर्थात् भारतीय जनताका ठूला
दाजु भ्रष्टाचारविरोधी आन्दोलन 'सुपर स्टार' हुन् । उनको आह्वानमा लाखौँ
जनता सडकमा उत्रेर भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कडा कारबाहीको
आवाज उठाउन थालेका छन् । अगस्ट १६ देखि भोक हडताल सुरु गर्ने उनको
उद्घोषबाट अत्तालिएको सरकारले उनलाई पक्रेर तिहाड जेलमा राख्यो । तर, उनको
समर्थनमा देशभर सर्वसाधारण जनता, लब्धप्रतिष्ठित व्यक्तित्व सडकमा उत्रन
थालेपछि रिहा गर्न सरकार बाध्य भयो । उनलाई अनशन बस्न दिइयो । अस्ति
मंगलबारदेखि उनी दिल्लीको रामलीला मैदानमा अनशनमा छन् । उनको एकसूत्रीय माग
छ, 'सरकारद्वारा संसद्मा पेस गरिएको भ्रष्टाचार नियन्त्रण 'लोकपाल विधेयक'
खारेज गरी 'जन लोकपाल विधेयक' पेस गरियोस् ।' गान्धीवादी अर्थात्
अहिंसात्मक आन्दोलनका अगुवा अन्नाको जन्म बम्बई प्रदेश -वर्तमानमा
महाराष्ट्र प्रदेश) को गाउँ भिन्गरमा सन् १९३७ को जुन १५ मा भएको हो ।
उनी
बाबुराव हजारे र लक्ष्मीबाइका ६ सन्तानमध्येका छोरा हुन् । अन्नाको बाबु
बाबुराव आयुर्वेद आश्रममा फार्मेसीमा काम गर्ने अदक्ष श्रमिक थिए । बाजे
सेनाका जागिरे थिए र सरुवा भिन्गरमा भएको थियो । उनको निधन सन् १९४५ मा भयो
। तर, बाबुराव र उनको परिवार सन् १९५२ सम्म त्यहीँ बसे । सोही वर्ष
बाबुराव राजीनामा दिएर आफ्नो गाउँ रोलगान सिद्धी फर्के । आम्दानी कम,
परिवार ठूलो भएका कारण अन्नाको परिवारले ठूलै संकट झेल्नुपर्यो । आर्थिक
अभावकै कारण अन्नाले पढ्न नपाएपछि उनको पढाइको जिम्मा काकीले लिइन् र बम्बई
लिएर गइन् । उनले त्यहाँ पनि ७ कक्षासम्म मात्र पढ्न पाए । पढाइ छाडेर
सडकमा फूल बेच्न थाले । उनले केही समयपछि आफ्नै पसल खोले र २ जना भाइलाई
बम्बई बोलाए । सन् १९६२ मा चीनसँग युद्ध चर्केपछि भारत सरकारले थुप्रै
युवालाई सेनाम भर्ती हुन आह्वान गर्यो । हतारमा भर्ती खोलिएका कारण शारीरिक
योग्यता नपुग्दा-नपुग्दै पनि उनी सेनामा छिर्न सफल भए । त्यसवेला उनको
उमेर २५ वर्ष थियो । औरंगावादमा तालिम लिएपछि गाडी चलाउने ड्राइभरको
जिम्मेवारी पाए । ३ वर्षपछि सन् १९६५ मा फेरि भारत र पाकिस्तानबीच युद्ध
चर्कियो । उनी सीमाक्षेत्र खेमकारनमा खटिए । नोभेम्बर १२ को राति पकिस्तानी
हवाई सेनाले आक्रमण गर्यो । उनीबाहेक सो पोस्टमा खटिएका सबै सैनिक मारिए ।
यो घटनाबाट निराश भएका उनले आत्महत्याको प्रयास गरे ।
दिल्लीको रेल-वे
स्टेसन पुग्दा एउटा किताब पसलमा बेच्न राखिएको स्वामी विवेकान्दको पुस्तकमा
उनको दृष्टि पर्यो । सो पुस्तक पढेपछि मानव जीवनको उपादेयता बुझे ।
त्यसपछि धमाधम विवेकानन्दका अरू पुस्तक, महात्मा गान्धी र विनोबाभावेको
पुस्तक पढ्न थाले । उनले आफ्नो जीवन गरिब जनताको सेवामा समर्पित गर्ने अठोट
गरे । यसका लागि ३८ वर्षको उमेरमा सन् १९७५ मा उनले सैनिक जीवनबाट
स्वेच्छिक अवकाश लिए । जनताको सेवा गर्ने भावना बोकेर उनी रालेगान सिद्धी
फर्के । उनको यो गाउँ गरिबी, अशिक्षा, सरकारी दृष्टिबाट उपेक्षित, हेपिएको,
पिछडिएको अवस्थामा थियो । उनले गाउँलेलाई सहभागी गराई आर्थिक, सामाजिक
विकासको अठोट गरे । यसका लागि युवालाई संगठित गरी तरुण मण्डल बनाए र
सबैभन्दा पहिला गाउँलाई जर्जर तुल्याइराखेको रक्सी उत्पादन र रक्सीपानमा
नियन्त्रण गर्ने योजना बनाए । उनले अहिले आफू बसिराखेको मन्दिरकै प्रांगणमा
गाउँलेको भेला बोलाए र प्रवचन दिए । प्रवचनबाट प्रभावित भएर अधिकांश
गाउँलेले भट्टी बन्द गरे र गाउँमा मदिरापानमाथि प्रतिबन्ध लगाए । उनकै
आह्वानमा गाउँलेले होली पर्वका दिन होलिकालाई आगोमा दहन गर्नुको बदला,
चुरोट, तमाखु र बिँडी जलाए । उनले आफू बसेको मन्दिरमै 'अन्न बैंक' खोले ।
अन्न उत्पादन नभएका वेला गाउँले भोकले नमरून् भन्ने उद्देश्यले खोलिएको
बैंकमा प्रत्येक परिवारले १ क्विन्टल धान जम्मा गर्नुपर्ने भयो । गाउँलेले
अभावका वेला बंंैकबाट अन्न सापट लिन सक्ने र अन्न नै भुक्तान गर्नुपर्ने
नियम बन्यो । उनले अन्न उत्पादनमा वृद्धि गराउन सिँचाइको व्यवस्था गरिदिए ।
वषर्ाको पानी जम्मा गर्न ठुल्ठूलो ट्यांकी बनाए । बाँध बाँधे । ३ लाखको
संख्यामा रूख रोप्न लगाए । ८० एकड जमिनमा मेवा, कागती र खुर्सानीको उत्पादन
सुरु गर्न लगाए । अन्नाले पाइला टेक्दा मात्र ७० एकड खेतमा सिँचाइ सुविधा
भएको गाउँमा केही वर्षको अन्तरालमै दुई हजार पाँच सय एकड जमिन सिँचित भयो ।
उनले महाराष्ट्रका अन्य ७० वटा गाउँलाई पनि नमुना गाउँ बनाउन सहयोग गरे ।
उनले गाउँमा दूध उत्पादनमा वृद्धि गर्न पहिला भएका गाईको ठाउँमा क्रसबिड
गरेर जन्माएका गाई पाल्न लगाए र दूधको उत्पादन दैनिक १ सय लिटरबाट २५ सय
लिटर पुर्याए । उनले गाउँमा दलितमाथि गरिने थिचोमिचोको अन्त्य गरे र बिहेमा
हुने खर्च जोगाउन सामूहिक बिहे गर्न लगाए । दलितहरू बस्न माथिल्लो
जातकालाई घर बनाइदिन बाध्य पारे । उनले एउटा मात्र प्राथमिक विद्यालय भएको
सो गाउँमा अन्य प्राथमिक र आठवटा हाइस्कुल खोले । उनले गाउँलेको हितनिम्ति
गाउँले आफैँले सामूहिक निर्णय लिन सक्ने ग्रामसभाको व्यवस्था गरे ।
ग्रामसभालाई व्यवस्थित र अधिकारसम्पन्न गराउने कानुन तर्जुमा गर्न सरकारलाई
दबाब दिए । रालेगन सिद्धी गाउँलाई नमुना गाउँ र आधुनिकीकरण गरेबापत सन्
१९९२ मा सरकारले भारतको तेस्रो ठूलो सम्मान पद्मभूषणले सम्मानित गर्यो ।
जनताको सेवा गर्ने क्रममै सन् १९९१ मा उनी भ्रष्टाचारविरोधी आन्दोलनमा लागे
। भ्रष्टाचारविरोधी जनआन्दोलन आफैँ गाउँ र त्यसवरिपरिको गाउँबाट सुरु गरे ।
उनले चलाएको आन्दोलनकै कारण ४० जना वनअधिकृत र काठ व्यापारी कारबाहीमा परे
। उनले १९९६ मा भारतीय जनता पार्टीका नेता तथा सिँचाइमन्त्री महादेव
शिवांकर र शिव सेनाको नेता एवं कृषि तथा जलस्रोतमन्त्रीविरुद्ध
भ्रष्टाचारविरोधी आन्दोलन छेडे । १४ दिनसम्म अनशन बसे । अन्त्यमा
मन्त्रीद्वयले महाराष्ट्रका मुख्यमन्त्री मनोहर जोशीसमक्ष राजीनामा पेस गरे
।
त्यसैगरी उपमुख्यमन्त्री गोपीनाथ मुण्डेविरुद्ध पनि आन्दोलन चर्काए ।
सन् १९९७ मा शिव सेनाको तर्फबाट मन्त्री बनेका बबनराव घोलापले राज्यको
ढुकुटी दुरुपयोग गरी आफ्नी श्रीमतीको नाउँमा जग्गा किनेको आरोप लगाएर
आन्दोलन गरे । सन् २००३ मा कंग्रेसका तीनजना मन्त्रीविरुद्ध भ्रष्टाचारको
आवाज उठाए र तिनीहरूलाई राजीनामा दिन बाध्य पारे । उनले सूचनाको हकका लागि
पनि आवाज उठाएर १० दिनसम्म अनशन बसे । उनको भनाइ थियो, 'भारतले १९४७ मा
स्वतन्त्रता प्राप्त गरे पनि त्यो अधुरो थियो ।' उक्त घटनाले गोराको
स्थानमा कालालाई त स्थापित गर्यो, तर भ्रष्टाचार गरेर कालो धन थुपार्ने काम
रोकिएन । त्यसैले भ्रष्टाचार रोक्न अर्को स्वतन्त्रता संग्रामको आवश्यकता छ
। उनको भनाइमा कंग्रेस -आई)को सरकारले ल्याएको लोकपाल विधेयकले जग हँसाएको
छ, प्रधानमन्त्री र न्यायालयलाई लोकपालले छुन सक्दैन । लोकपालसँग
भ्रष्टाचार छानबिन गर्ने तथा भ्रष्टाचारीमाथि कारबाही गर्ने अधिकार छैन ।
यसर्थ यो विधेयकको ठाउँमा अधिकारसम्पन्न जनलोकपाल गठन गरिनुपर्छ । यसका
लागि मंगलबारदेखि थालिएको अनशन नै दोस्रो स्वाधीनता संग्राम हो । स्मरणीय
छ, सरकारलाई लोकपाल विधेयक सडकमा पेस गर्न लगाउन र नागरिक समाजका प्रतिनिधि
सम्मिलित विधेयक मस्यौदा समिति गठन गर्न लगाइन पनि अन्नाले गत अपि्रलमा
जन्तर-मन्तरमा ९४ घन्टा आमरण अनशन बसेका थिए । सरकार उनको माग स्विकार्न
तयार भयो । पछि गठित मस्यौदा समितिमा अन्ना स्वयं बसेका थिए, तर सरकारले
छलफल गरी अर्कै मस्यौदा सदनमा पेस गरेपछि वर्तमान आन्दोलनको सूत्रपात भएको
हो । जनसेवामा समर्पित रहन आजीवन बिहेसमेत नगरेका गैरराजनीतिक व्यक्तित्व
अन्नाले चलाएको भ्रष्टाचारविरोधी आन्दोलनले त्यहाँको वर्तमान सरकार ढल्ने
सम्भावना नभए पनि आगामी दिनमा विधानसभाको निर्वाचनमा सत्तारूढ पार्टीलाई
कमजोर अवश्य बनाउनेछ । अन्नाजस्ता व्यक्तिले भारतको शक्तिशाली सरकारलाई
झुक्न बाध्य पार्दै छ । भ्रष्टाचारको दलदलमा फसेको नेपालमा पनि नेपाली
अन्ना हजारेको उपस्थिति अति जरुरी भइसकेको छ । नेपालमा पनि अन्नाजस्ता
व्यक्तिको उदय होला ? या नेपाली अन्ना हजारे अझै गर्भमै छ ?
0 comments
Write Down Your Responses