२८ हजार डलर शुल्क तिरे पछि भाडाका आमाको गर्भ प्रयोग गरेर सन्तान लिन पाउने
एजेन्सी,
नयाँ दिल्ली, १५ असोज एकजना विवादास्पद चिकित्सकले संसारकै पहिलो ‘बेबी
फ्याक्ट्री’ (बच्चा कारखाना) को निर्माण गर्दै छिन् जहाँ सयौं गरिब भारतीय
महिलाले निःसन्तान पश्चिमेली दम्पतीका लागि बच्चा उत्पादन गर्नेछन् । यो
सरोगेसी सप अर्थात् भाडाको मातृत्व पसलमा उपहार पसलदेखि लिएर होटल पनि
हुनेछ ।
भारतमा हरेक वर्ष अर्बौं डलरको भाडाको
मातृत्वको कारोबार हुने गर्छ । यो परियोजनाको सुरुआत डा. नयना पटेलले गरेकी
हुन् जसले यसअघि नै दुर्गम
गुजरातमा एउटा क्लिनिक सञ्चालन गर्दै आएकी
छन् । जहाँ एउटै घरमा करिब १ सयजना गर्भवती महिलालाई राखिएको छ । अभिभावक
बन्न चाहनेले वीर्य या डिम्ब कुरियरमार्फत क्लिनिकमा पठाउनुपर्नेछ ।
उनीहरूले आफ्नो छोरा वा छोरी लिनका लागि एक पटक मात्र भारत भ्रमणमा गरे
पुग्छ ।
डा. पटेले आफ्ना भाडाका आमाको गर्भ प्रयोग
गरेबापट हरेक दम्पतीसँग २८ हजार डलर शुल्क लिन्छिन् । गर्भवती हुने
महिलाले हरेक पटक ८ हजार डलर पाउनेछन् र यदि जुम्ल्याहा बच्चा जन्मियो भने
थप २ हजार डलर दिइनेछ । बीबीसी–४ वृत्तचित्र, ‘हाउस अफ सरोगेट’ ले यो लाखौं
डलरको यो कारोबारलाई आउँदो वर्ष सार्वजनिक गर्नेछ । हाल निर्माणाधीन यो
क्लिनिकमा पश्चिमी दम्पतीका लागि अपार्टमेन्ट, भाडाका गर्भवतीका लागि कोठा,
कार्यालय, डेलिभरी रुम, आईभीएफ डिपार्टमेन्ट र रेस्टुरेन्ट तथा उपहार पसल
हुनेछ । एक दशकको अवधिमा डा. पटेलको कार्यक्रमले ६ सय धनी दम्पतीका लागि
सन्तान उत्पादन गरिसकेको छ ।
गरिब महिलालाई नाफाका लागि प्रयोग गरेको
भन्दै उनलाई मार्ने धम्की यसअघि धेरै पटक आइसकेको छ तर उनले आफ्नो कामलाई
‘महिलावादी मिसन’ भन्दै आएकी छन् । उनले आफूले गरिब महिलाको सहयोगकै लागि
यो काम सञ्चालन गरिरहेको बताएकी छन् । ‘यी महिलाले रोजगारी पाइरहेका छन्,’
बीबीसीलाई दिइएको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘यो शारीरिक काम हो ।
उनीहरूले यसका लागि पैसा पाउँछन् ।’ ‘यी महिलालाई थाहा छ कि पीडाविना केही
पाइँदैन । म आफूलाई महिलावादी भन्छु । भाडाका आमा बन्नु भनेको अरूलाई सहयोग
गर्नु हो,’ उनले भनिन् ।
अभिभावक बन्न चाहनेमा ६२ वर्षीय बेलायती
चिकित्सक माइकल र ३३ वर्षीया उनकी रसियाली पत्नी भेरोनिका पनि छन् ।
भेरोनिका जन्मँदा एउटा मात्र डिम्बनली र एउटा डिम्बाशय थियो जसका कारण उनी
बच्चा पाउन अक्षम छिन् । ‘यी अलेक्जेन्डर र क्याटेरिना हुन् । मैले दुई
वर्षअघि नै नाम हालिसकेकी थिएँ,’ भर्खरै इम्प्लान्ट गरिएका दुई
डिम्बकोषबारे बोल्दै उनी भन्छिन्, ‘म मैले भाडाका आमा लिएर मात्र आमा बन्न
सक्ने भएँ । धेरै महिला मजस्तै छन्, उनीहरू सायदै आमा बन्न सक्छन् ।’ ‘यी
डिम्बकोषले मलाई भविष्यमा हेला ममी भन्नेछन्... मलाई मेरो भविष्य आजबाटै
सुरु भएको जस्तो लागिरहेको छ,’ उनी अगाडि थप्छिन् । वृत्तचित्रमा दुई पटक
भाडाकी आमा बनेकी स्थानीय महिला इडेनका विचार पनि लिइएको छ ।
उनी भर्खरै ५४ वर्षीया क्यानेडियन महिला
बारबराका लागि आमा बनेकी छिन् । बारबरा चार महिनादेखि आफ्नो नयाँ छोरासँग
भारतमै छिन् । अब कागजपत्र गरेर उनी चाँडै घर फिर्नेछिन् । बारबारले आमा
बन्न ३० वर्ष प्रयास गरिन् । ‘निःसन्तान हुनु चिकित्सकीय समस्या हो,’ उनी
भन्छिन्, ‘कसैको दृष्टि खराब छ भने चस्मा लगाउँछन् । मधुमेह छ भने इन्सुलिन
प्रयोग गर्छन् भने हामी किन अर्को विकल्प खोज्न सक्दैनौं ?’ भाडाकी पपिया
जुम्ल्याहाको अपेक्षा गरिरहेकी छन् । ‘जुम्ल्याहा जन्मनु भनेको धेरै पैसा
पाउनु हो,’ उनी भन्छिन्, ‘यसअघि आमा बन्दा मैले एउटा कार किनेको थिएँ भने
नन्दलाई ऋण दिएकी थिएँ ।
अबको पारिश्रमिकले घर किन्नेछु ।’ ‘मेरो
आलोचना गर्नेहरू धेरै छन्,’ डा. पटेल भन्छिन्, ‘ममाथि बच्च बेचेको आरोप
लगाइन्छ । हो आमा बन्नु शारीरिक श्रम हो र यसका लागि उनीहरूले क्षतिपूर्ति
पाउँछन् । त्यसैले मलाई लाग्छ मैले कुनै नराम्रो काम गरिरहेकी छैन ।’
0 comments
Write Down Your Responses