यार्सागुम्बालाई नेपाली भाषामा जीवनबुटी, कीराझार अथवा कीराच्याउ नामले चिनिन्छ

यार्सागुम्बा हिमाली क्षेत्रको उच्च भागमा पाइने बहुउपयोगी र बहुमूल्य जडीबुटी हो। यसलाई यार्चागुम्बु अथवा यार्चागुम्बा पनि भनिन्छ। तिब्बती भाषामा यार्सागुम्बाको अर्थ हुन्छ "वर्षोझार हिउंदे कीरा"। हिउंदमा हिउंभित्र कीराको रूपमा रहने र हिउं पग्लेपछि वनस्पतिको रूपमा जमीनमाथि देखिने कीरा र वनस्पति दुवैको अन्तरसम्बन्ध भएको एउटा उदाहरण हो यार्सागुम्बा।       नेपाली भाषामा यसलाई जीवनबुटी, कीराझार अथवा कीराच्याउको नामले चिनिन्छ भने संस्कृतमा जिङगणी र अङग्रेजीमा Chinese Caterpillar Fungus jf Chinese Caterpillar Mushroom भनिन्छ। यसको जमीनमुनिको भागमा पुतलीको लार्भा
(झुसिलकीरा) र जमीनमाथिको भागमा लार्भामाथि उम्रने परजीवी (च्याउ) हुन्छ। यो च्याउको यस्तो प्रजाति हो, जसले आफ्नो आधा जीवनचक्र पुतलीको लार्भाभित्र नै व्यतित गर्छ। यार्सागुम्बा लार्भा अवस्थामा लाग्ने रोग अर्थात् ढुसी हो, जुन लार्भाको मृत्युपछि मात्र बाहिर उम्रन्छ।
    आत्रेय संहितामा यार्सागुम्बालाई भूसञ्जीवनी भनी उल्लेख गरिएको छ। शक्तिबर्द्धन औषधि मानिने यार्सागुम्बाको प्रयोग चीनमा विगत २००० वर्षदेखि र तिब्बतमा करिब १५०० वर्षदेखि गरिंदै आएको पाइन्छ। पश्चिममा भने करिब ३०० वर्षअगाडि मात्र यसको जानकारी भएको पाइएको छ। मृगौला र यौनसम्बन्धी रोगहरूको रोकथामका लागि उपयोगी मानिने यार्सागुम्बा नेपाल, भुटान, चीनको स्वशासित क्षेत्र तिब्बत तथा अन्य प्रान्तहरू एवं भारतको उत्तरी भागमा पाइन्छ। ठाउं हेरी यो प्रायः ४,००० देखि ५,००० मीटरसम्मको उंचाइभित्र पाइन्छ।
    यार्सागुम्बाको वैज्ञानिक नाम कोर्डिसेप्स साइनेन्सिस हो। कोर्डिसेप्स अर्न्तर्गत यार्सागुम्बा साथै कीराबाट उम्रने ५०० भन्दा बढी च्याउका प्रजाति पर्दछन्। सन् १८४३ मा बेलायती प्रसिद्ध च्याउविज्ञ बर्केलीले यार्सागुम्बालाई स्फेरिया साइनेन्सिस भनेर नाम दिए। सन् १८८३ मा इटालियन वैज्ञानिक साक्काडोले त्यस नामलाई परिमार्जन गरी कोर्डिसेप्स साइनेन्सिस भन्ने नाम दिए जुन धेरै वर्षसम्म कायम रह्यो।
    सन् २००७ मा यस नामलाई पुनः परिमार्जन गरी ओफियाकोर्डिसेप्स साइनेन्सिस भन्ने नाम दिइयो।
    यार्सागुम्बा कुनै कीरा अथवा कतिथरिको कीरामा उम्रन्छ भन्ने अनुसन्धान विगत १०० वर्षदेखि हुंदै आएको पाइन्छ। यार्सागुम्बा लेपिडोप्टेरा वर्ग अर्न्तर्गत पर्ने हेपियालिडे परिवारको ठिटारोड्स प्रजातिको पुतलीहरूको लार्भामा उम्रन्छ। सबैभन्दा पहिले उक्त पुतलीलाई हेपियालिस प्रजाति भनी सन् १९०९ मा आबर्ेर्थुर नामक वैज्ञानिकले नामाकरण गरे। पछि सन् १९६८ मा भियत्ते नाम गरेका वैज्ञानिकले नेपालमा पाइने प्रजातिहरूको अध्ययन गरी यार्सागुम्बामा लाग्ने पुतलीहरूलाई ठिटारोड्स भन्ने नयां नाम दिए। ठिटारोड्स अर्न्तर्गत करिब ७० प्रजातिका पुतलीहरू पाइन्छन्। जसमध्ये चिनियां वैज्ञानिकहरूका अनुसार ५० भन्दा बढी प्रजातिका लार्भामा यार्सागुम्बा लाग्छ। यिनीहरूले आफ्नो जीवनकालमा धेरैजसो समय लार्भा अवस्थामा बिताउंछन् र बिरुवाका जरा खान्छन्।
    साधारणतया यार्सागुम्बा साउन तथा भदौको पहिलो आधासम्म वयस्क हुन्छ र बीउ र्छन थाल्छ। यतिबेला जब लार्भा जमीनको सतहमा चर्न आउंछ बीउहरू झरेर लार्भालाई आक्रमण गर्छन्। जाडोयामभरि यार्सागुम्बाको बीउहरू लार्भाको शरीरभित्र वृद्धि भई लार्भाको भित्री अङगहरूबाट पोषण तत्त्व
सोस्दछ। अन्तत्वगत्वा लार्भालाई मार्दछ। जसलाई हामीले सुषुप्त Dormant अवस्था भन्न सक्छौं।
    यार्सागुम्बाको जीवनचक्रमा अति ठण्डा तापक्रमबाट बच्ने यो एउटा उपाय हो। जब गरम सुरु हुन्छ, त्यसपछि यार्सागुम्बा लार्भाको टाउकोको पछाडिको भागबाट टुसाउन/पलाउन थाल्छ। यसरी
यार्सागुम्बाको रूपमा विकसित हुन्छ। अव्यवस्थित सङकलनले गर्दा पछिल्ला वर्षहरूमा यार्सागुम्बाको परिमाण बर्सेनि घट्दै गइरहेको पाइएको छ। साउन र भदौमा मात्रै परिपक्व हुने यार्सागुम्बा जेठ र असारमै टिपिने हुनाले यसको बीउ फैलिन नपाएर र तौलका आधारमा बिक्री हुने हुनाले वयस्क भएर बीउ झरिसकेपछि सङकलन गर्दा कम तौलको हुने भएकोले सङकलनकर्ताहरूले पहिल्यै सङकलन गर्ने गर्दछन्।
    यार्सागुम्बा उच्च हिमाली क्षेत्रका घांसे मैदानमा मात्र पाइने भएता पनि चीनमा कृत्रिम खाद्य तत्त्वमा यार्सागुम्बाको रेशा उमार्ने प्रविधि विकास भइसकेको छ। यार्सागुम्बा कीराबाट उम्रने भएकोले यसको परिमाण कीराको अवस्थामा भर पर्छ। मानिसको क्रियाकलापबाट कीराको परिमाणमा प्रभाव पार्ने भएकोले यार्सागुम्बाको परिमाणमा पनि प्रभाव पार्ने हुन्छ। त्यतिमात्र नभई वयस्क हुनुभन्दा पहिले नै अत्यधिक सङकलन गरेमा यार्सागुम्बाको बीउ उत्पादनमा प्रत्यक्ष प्रभाव परी यसको सङकलनमा ठूलो र्‍हास आउने सम्भावना छ। त्यसैले यार्सागुम्बाको सङकलनका साथसाथै संरक्षण पनि त्यत्तिकै महत्त्वपूर्ण छ।
    विश्वमा ५०० भन्दा बढी प्रजातिका कीराजन्य च्याउहरू फेला परेका छन्। भने नेपालमा पनि हावापानी तथा भौगोलिक विविधताको हिसाबले अध्ययन तथा अनुसन्धान गर्नु अत्यावश्यक भएको हुनाले प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाको वरिपरिको जङगलको पनि अध्ययन भएको छ।
    नेपाल पनि यार्सागुम्बाको स्रोत देशको रूपमा विश्वमा स्थापित भइसकेको तर आधुनिक प्रविधिमा पछाडि परेकोले विश्व बजारमा नेपालको योगदान कम देखिन आउंछ। नेपालकै छिमेकी राष्ट्र चीनमा यार्सागुम्बाको खेतीसम्बन्धी व्यापक मात्रामा अनुसन्धान भइरहेको हुनाले नेपालमा पनि जैविक प्रविधिमार्फ् यसको विकास गर्दै जानु आवश्यक देखिन्छ।
यसको लागि नाष्टसहित नेपालका अन्य अनुसन्धानमूलक निकायहरूसंग यार्सागुम्बा उमार्ने प्रविधिसम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेको पाएका छौं।
    विभिन्न लेखरचनाहरूमार्फ् यार्सागुम्बाको प्रचारप्रसार गर्नुका साथै विभिन्न सङघसंस्थाहरू जस्तैः हरित ऊर्जा मिशन/नेपालको कार्यालयमा विद्यार्थीलगायत सम्बन्धित विज्ञ, वैज्ञानिक, अध्ययन तथा अनुसन्धानकर्ताहरूका लागि आवश्यक ज्ञान तथा अनुभव प्रदान गर्ने कामहरू हुंदै आएको छ। नेपालमा यार्सागुम्बाको निकासी व्यापारलाई अन्तराष्ट्रियस्तरमा स्थापित गर्नु पनि महत्त्वपूर्ण पक्ष भएकोले तन्तु प्रविधिलगायत जैविक प्रविधिको मात्र पनि उपयोग गर्‍यौं भने यार्सागुम्बाको खेती गर्न सक्छौं। यार्सागुम्बाको रेशा उत्पादनलाई नै यार्सागुम्बा खेती भनेर भनिन्छ। आशा गरां हामीले पनि यार्सागुम्बालाई स्वदेशमैं उमार्न सकौं।               
-लिपिका कर्माचार्य (विज्ञान लेखमाला/नास्ट)

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.