आफ्नै आमाले कुमारित्व परिक्षण गराउन अदालत गुहारिन्

अन्नपूर्ण राणाले आमा र दाजुसँग माना चामल मागेर अदालतमा मुद्दा दिइन। त्यही मुद्दाको कारण दुई दशक भयो न उनी माइती जान्छिन् न त माइतीका कोही उनलाई भेट्न नै आउँछन्।आफ्नो परिवार र 'राणा' समाजसँग उनको आउजाउ छैन। 'म त आउटसाइडर नै भएर बसेकी छु।' उनले ढुक्कैले भनिन 'मलाई गुनासो छैन म त्यस्तो समाजमा बस्न सक्ने पनि होइन, उनीहरूले दिएर खाने पनि होइन नी, किन दुख लाग्थ्यो र?'अहिले पनि उनका नातेदारले उनलाई बाटोमा देखे बोलाउँछन तर, औपचारिक कार्यक्रममा निम्तो दिदैनन्। उनी चित्त दुखाउँदिनन बरू आफ्नो स्वतन्त्रताको मूल्य चुकाएको भन्छिन्।'म त आफ्नै निर्णयमा रमाउने मान्छे हो, लाइफ पार्टनर चुन्ने, विजनेस गर्नेदेखि हर निर्णय म आफै गर्छु।' अन्नपूर्ण भन्छिन 'त्यो मेरो निर्णय हो म आफूलाई स्वतन्त्र फिल गर्छु तर त्यसको मुल्य त चुकाउनै पर्छ हाम्रो समाजमा।' सम्भ्रान्त राणा परिवारमा हुर्किएकी एउटी छोरी! माना चामल माग्दा आमाले 'मेरी छोरीको कुमारित्व जँचाइपाउँ' भन्ने
निवेदन दिएकी थिइन अदालतमा। आफ्नी आमाले अदालतमा त्यस्तो निवेदन दिएको वकिलले सुनाउँदा उनी छाँगाबाट खसेजस्तै भइन्।'मलाई त एकछिन केही पनि सुझेन , कति नरमाइलो लाग्यो भनेनी.., तर बाबालाई सम्झेँ र लड्न कसिएँ।' उनले विगत सम्झिन्। उनी एउटी सामान्य केटी भएर लड्नुपर्‍यो – आत्मसम्मानका लागि। आफ्नै जन्मदिने आमाविरुद्ध लड्नु सानो कुरा होइन। त्यसपछि त झन समाजका कुरा छलेर हिड्न कम्ता गाह्रो हुन्छ र?

त्यो मुद्दाले उनलाई अहिलेसम्म पनि गलत भनेर रि‌गाँउछ । 'अहिले मेरो कारोबार घाटामा गएर ऋण लिनुपरेको छ, मैले जोसँग ऋण लिएको छु उसलाई कसैले भन्दिएछ यो त आमालाई पनि मुद्दा लगाउने मान्छे हो होस् गर है!' उनले दुखेसो सुनाईन्, 'अनि त त्यो मान्छेले मलाई दिनदिनै फोनमा सोधेर हैरान लगाउँछ।' उनलाई जसले पनि हेपेको सम्झिँदा भने नरमाइलो लाग्छ। तैपनि उनले पटकपटक सुनाइन 'मेरो कसैसँग हार्ने बानी छैन म जसरी पनि खुसी भएर बाँच्न चाहन्छु।' उनी किशोरी नै थिइन्। आमाका प्रेमीले उनलाई दुर्व्यवहार गरे। यो कुरा उनले आमालाई सुनाइन तर सुनुवाई भएन उल्टै आमाबाट गाली खानु पर्‍यो।त्यही कारण थियो उनले घर छाडेको। 'मलाई एकदम रिजेक्टेड फिल भयो नि ममिले त मलाई नराम्रो पो बनायो।' उनले भनिन ' म कहाँ जाने? घर छोडेर हिडिदिँए। अनि त कहाँ पुगेँ कहाँ!' उनी सिमलामा पढि्थन। अलि समयपछि काठमाडौँ आइन। त्यसैबिचमा आमा र दाईले अंशबण्डा गरेछन्। धेरै दिन मालपोत कार्यालय गएर यसै टहलिन्, सोध्ने आँट भएन।

एकदिन मालपोतका कर्मचारिले सोधे 'नानी तपाई यहाँ किन आइरहनुहुन्छ? के काम छ?' अन्नपूर्णले भनिछन् आफ्नो आमा र दाजुको अंशबन्डा गरेको कागज हेर्नु छ भनेर। ती कर्मचारिले देखाइदिएछन्। उनका आमा र दाजुले त उनको विहे खर्च समेत नराखी अंश बण्डा गरेछन्। आमाले छोरी विहे गरेर गइसकि त्यसलाई केही गर्नु पर्दैन भनेर दुईजनाले अंश बाडेँछन्।
'बाबाले हामी दाजु बहिनीलाई कहिलै फरक गर्नु भएन।' उनले आफ्ना बाबाले भनेको सम्भि्कइन् ' हाम्रो सम्पत्ति आधाआधा हो छोराछोरीको!' आमाविरुद्ध लड्न बाबाको त्यही कुराले बल दियो उनलाई।

'बाबाले हामीलाई आधाआधा सम्पत्ति दिने भन्नु भाथ्यो, त्यो लिनु मेरो कर्तव्य पनि त हो नि त्यसैले पनि आँट दियो मलाई।' उनले भनिन्।

काठमाडौँ जिल्ला अदालतमा अन्नपूर्ण राणाले माना चामल मुद्दा हालिन् । सोही मुद्दाको लिखित जवाफ माग्दा अन्नपूर्णकी आमाले उसको विहे भैसकेको र छोरीसमेत रहेको भन्दै प्रमाणका लागि कुमारीत्व परिक्षण गर्नुपर्ने माग गरेकी थिइन्।

आमाले अदालतमा यस्तो निवेदन दिने बेला उनी भारतमा प्रेमीसँग बस्थिन्। छोरी पनि जन्मिसकेकी थिईन। तर, विहे गरेकी थिइनन्।

२०५२ सालको माघमा जिल्ला अदालत काठमाडौँले अन्नपूर्णकी आमाको माग अनुसार उनको कुमारित्व जाँच्न भन्यो।

अन्नपूर्णले जिल्ला अदालतविरुद्ध पुनरावेदन अदालत पाटनमा निवेदन दिइन। पाटनले पनि जिल्ला कै आदेशलाई सदर गर्‍यो।

त्यसपछि उनी आफ्नो गोपनियता र ज्यान सम्बन्धी मौलिक अधिकारको अतिक्रमण गर्न लागेको भन्दै दुबै अदालतका आदेशविरुद्ध सर्वोच्च गइन। यसपटक उनी रिट लिएर गएकी थिइन।

सर्वोच्चले २०५३ असोज १७ गते पहिलो सुनुवाइमै गोपनियताको हक हनन् हुने भएकोले अन्नपूर्णको कुमारित्व परिक्षण गराउन नहुने भनेर अन्तरिम आदेश जारी गरिदीयो।

यही रिटको फैसला गर्दा सर्वोच्च अदालतका न्यायाधीश अरविन्दनाथ आचार्य र राजेन्द्रराज नाख्वाको इजलासले केटा र केटी सँगै बस्दैमा विहे नै भएको भन्न नमिल्ने भन्यो।

सो फैसलामा सँगै बसेका वा शारीरिक सम्बन्ध राख्ने महिला पुरूषबीच बच्चाबच्ची हुँदैमा लोग्नेस्वास्नी भन्न नमिल्ने र कानुनतः उनीहरू अविवाहीत नै हुने उल्लेख छ।

सो फैसलामा त्यस्तो सम्बन्धबाट बच्चा नै भएपनि केटीमान्छेले माइतिबाट अविवाहित छोरिले पाउनुपर्ने कानुनी अधिकार पाउन सक्ने उल्लेख छ।

यो मुद्दाले महिलाहरूको गोपनियताको हकको संरक्षण हुन सक्नेमा ढुक्क बनाएको र आधुनिक समयमा महिलाको स्थितिलाई समेत सम्बोधन गरेको अधिवक्ता तथा पूर्व सभासद पुष्पा भुषालको अनुभव छ।

'जिल्ला अदालतले दिएको त्यो आदेश अनुसार उनको पाठेघर जाँच भएको भए अरू महिलाहरूकोसमेत ज्यानको अधिकार, गोपनियता र सुरक्षामा समेत असर गर्थ्यो' उनले भनिन् 'तर, सर्वोच्च अदालतको फैसलाले  ढुक्क बनाएको थियो'।

फैसलाले, महिलाको शरीर तथा गोपनियताको हकलाई अदालतले सुरक्षा प्रदान गर्छ है भन्ने पनि सन्देश दिएको थियो।

भुषालका अनुसार त्यसबेलाको समाजमा अल्लि सनसनीपूर्ण भएको थियो यो मुद्दा।

जस्तै भएपनि आधुनिक समाजमा महिलाहरूको स्थिति यस्तो पनि छ है भनेर अदालतले केही झलक देखाएको र त्यसलाई सम्बोधन गरेको भुषालको तर्क छ।

आधुनिक समाजमा विहे नगरेर पनि बच्चा जन्माउन सक्ने यस्ता महिला हुन्छन् भनेर फैसलामा त्यसलाई सम्बोधन गरिएको थियो। त्यो फैसला अनुसारको कानुन चाहिँ बन्न सकेनन्।

'सिङगल मदर र लिभिङ टुगेदरसमेतलाई अदालतले स्वीकार गरेको थियो।' भुषालले भनिन् 'तर, त्यसपछि यस्ता विषयमा कानुन बनाउन सरकार संसद लगायतका निकायले चासो नै दिएनन् महिला अधिकरकर्मीहरुले पनि यो केसलाई बिर्सिए।'

उनको विचारमा यो नेपाली महिलाको अधिकारको विषयमा एकदम नयाँ मुद्दा र फैसला थियो।

यसरी सर्वोच्च अदालतले उनको शरीरपरिक्षण गर्न लगाउने जिल्ला अदालतको आदेशलाई असंवैधानीक ठहर गरिदियो।

तर माना चामलको उनको मुद्दा भने २०५८ सालमा मिलापत्रमा टुङ्गियो।

'दरबार हत्याकाण्डमा दाइलाई गोली लाग्यो यो मुद्दा नसल्टाई उपचार गर्न लैजान नमिल्ने भनेर मलाई इमोसनल बनाए।' अन्नपूर्ण भन्छिन्, 'यो बीचमा आमा र दाईले खुब डर धम्की दिए मुद्दा फिर्ता गराउन तर दाईको उपचारै नहुने भने पछि त मान्नुपर्‍यो नि होइन?'

मुद्दा मामिला नै भएपछि आमा र दाईसँग उनको आउने जाने सम्बन्ध टुट्यो।

छोरीलाई लिएर उनी काठमाडौँ आइन उनले बिहे पनि गरिन नेपाली सँगै। फेरि पनि उनकी छोरी जन्मिन्। दुवै छोरी हुर्कीए। चप्पल कारखाना चक्रपथमा उनको सानो घर छ दुईतले, त्यो उनको आफ्नै सम्पत्ति हो।
उनकी एउटी छोरी विदेशमा पढ्न गएकी छन् अर्की अल्लि सानी छन् जो  आफैसँग छिन्। उनी ठीकै छन्। वीस वर्षअघि छोरीमान्छेलाई हेर्ने मान्यता भत्काएर हिडेपछि उनलाई सजिलो त भएन रे बाँच्न।

'अझै पनि कहाँ सजिलो छ र? तर मलाई हार्न मन पर्दैन।' उनलाई आफ्नो जीवन आफ्नै इच्छा अनुसार जीउनुपर्छ।

'सर्वोच्चले मेरै केशमा महिलाको शरिर र सम्पत्तिको हकलाई उसले आफ्नै किसिमले भोग गर्न पाउने फैसला गरेको छ नि त्यो एकदम ठूलो कुरा हो।' उनले भनिन 'तर अहिले पनि केटीमान्छेलाई आफ्नो अधिकार उपभोग गर्न समाज र परिवार त्याग्नै पर्ने स्थिति छ, मेरो जस्तो हिम्मत त सबैको हुदैन नी त्यसैले हिंसा सहेर बस्न बाध्य हुन्छन्।'

अदालतमा केश परेपछि उनलाई महिलाबारे पढ्न मन लाग्यो र पद्मकन्या कलेजमा भर्ना भइन वुमन स्टडीज पढ्न!

उनले त्यही बुझिन जो आफूले भोगेकी थिइन 'पुरुषप्रधान समाजले तिम्रो (महिलाको) यौनिकता र आर्थिक उत्पादकत्व नियन्त्रण गर्न चाहन्छ।'

जसलाई उनले भत्काइदिएकी थिइन।

एक दिन उनकी छोरीले स्कुलबाट अनौठो प्रश्न ल्याइन 'मातृत्व, नेचुरल हो या ग्लोरिफाइड?'

अन्नपूर्णले उत्तर दिनै सकिनन्।

अर्को दिन आफ्नै घरको कुकुरले आफ्ना छोराछोरी चाटेर बसेको देखेर छोरीले भनिन 'ममा त्यो कुकुर कस्तो गुड मदर हगी हेर्नु न!'

'म त हेर्‍या हेर्‍यै पो भएँ कस्तो हगी?'

अहिले उनलाई ठूलै समस्या परेको छ पैसाको, त्यो खबर आमासम्म पुगेछ।

आमाले छोरी अन्नपूर्णको समस्या सुल्झियोस भनेर उनलाई दिन भनि चेक तयार पारेकी छिन् रे।

'म त एकदमै सरप्राइज्ड छु, यत्रो वर्ष पछि के भयो मेरी ममीलाई?'

 साभार:- तस्विर प्रकाश लामा / सेतोपाटी

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.