'साँच्चिकै मुक्ति त सीप र पढाइले गराउँदोरहेछ,-सरिता चौधरी (कम्लहरी)



तरकारी खेतीमा रमाउदै अनारकली चौधरी। 
दाङ- चौलाही७ सेमरहवाकी सरिता चौधरीलाई सानैदेखि पढ्ने रहन थियो। जमिनदारकहाँ कम्लहरी बस्नुपर्दा उनको चाहना पूरा हुन पाएन । सरकारले २०५७ मा कम्लहरीबाट मुक्त गरे पनि उनले पढ्न पाएकी थिइनन्।
१२ वर्षपछि बल्ल ३२ वर्षीया चौधरीले लेखपढ गर्नमात्र होइन, व्यावसायिक सीप लिएर आर्यआर्जनसमेत गर्न थालेकी छन्। गाउँमा सञ्चालित अनौपचारिक व्यावसायिक  शिक्षा लिएपछि भने उनले जीवनमा उज्यालो छाएको महसुस गरिन्। 'साँच्चिकै मुक्ति त सीप र पढाइले गराउँदोरहेछ,' सरिता भन्छिन्, '१२ वर्षअघि नै सरकारले जमिनदारको घरबाट छुटाए पनि पढ्न पाएको थिइनँ, बल्ल अहिले नयाँ जीवन मिलेको  छ।'

शिक्षासँगै पाएको सीपले तरकारी खेती राम्रो भएको उनले सुनाइन्। 'नयाँ तरिकाले तरकारी खेती गरिरहेका छौं,' उनले भनिन्, 'यसको कमाइले बालबच्चाको पढाइ राम्रो हुँदैछ।' सरितालाई उनकी कम्लहरी आमाले सानैमा कम्लहरी बन्न पठाएकी थिइन्। जमिनदारका छोराछोरी पढ्न गएको देख्दा उनलाई पनि स्कुल जान मन लाग्थ्यो। 'कापीकिताब बोकेर हिँड्दा रमाइलो लाग्छ,' भनिन्, 'शिक्षाको महत्व बल्ल बुझेँ।'
उनको जस्तै कथा छ सुन्तली चौधरीको। दाङमै १० वर्ष कम्लहरी जीवन बिताएकी ३० वर्षीया सुन्तलीले जमिनदारको छोरालाई बोकेर विद्यालय पुर्‍याउने गरे पनि पढ्ने अवसर कहिल्यै नपाएको बताइन्। 'घरमा कसैले पढाउँदैनथे,' उनले विगत सम्भि्कन्, 'बोकेर लैजाँदा त्यही सानो बच्चासँग कख सिक्न खोज्थेँ।' उसैको सहयोगबाट नामसम्म लेख्न जानेकी उनले अहिले गाउँमा लेखपढ गर्न जानेको बताइन्।
चौलाही–७ सेमरहवामा अनौपचारीक शिक्षमा सहभागी पूर्व कम्लहरी।
'त्यतिबेलादेखिको रहर अहिले पूरा भएको छ,' उनले भनिन्, 'थौरै सिकेको कुराले घरकाजको काममा सजिलो बनाएको छ।' दाङकै २९ वर्षीया प्रमिला चौधरीले पनि कम्हलरी बस्दाको कठिन पीडा अहिले कापीकलम समाएर भुल्दै गएको बताइन्। 'अब कसैप्रति गुनासो छैन,' उनले भनिन्, 'पढाइमा रमाएर नयाँ भविष्यमा जिउँदैछौं'
राज्यले कम्लहरीलाई आर्थिकभन्दा पनि शिक्षामा बढी जोड दिनुपर्ने उनले बताइन्। 'सबै कम्लहरीले शिक्षा पाएका छैनन्,' उनले भनिन्, 'आर्थिक स्तर सुधार्न सबैलाई शिक्षा जरुरी छ।'  मध्यपश्चिममा सञ्चालित आयआर्जनका लागि शिक्षा कार्यक्रमअन्तर्गत अनौपचारिक शिक्षा पढाउँदै गरेकी स्थानीय शिक्षिका रीता चौधरीले पूर्व कम्लहरीले पढाइमा बढी चासो देखाउने गरेको सुनाइन्। 'उनीहरु पढाइमा एकदमै ध्यान दिन्छन्, 'उनले भनिन्, 'यसलाई व्यहवारमा उतार्न कोशिस पनि गर्दैछन्।' कार्यक्रमले मध्यपश्चिममा १५ जिल्लामा ३२ हजार सर्वसाधारणसँगै ५ सय ३१ कम्लहरीलाई सीपमूलक शिक्षा दिइएको जनाएको छ। 
 
तस्बिर : उपेन्द्र लामिछाने
(यो नागरिकमा प्रकाशित समाचार हो।)

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.